नेपालमा मनसुनी समय सुरु भइसकेको छ। योसँगै सधैँझैँ सर्वसाधारणका दु:खका दिन पनि निम्ति सकेका छन्।
विभिन्न ठाउँका पुल, कल्भर्ट आदि भत्केका छन्। सडकपेटी बिग्रिएका छन्। टेको लगाएका थाँक्रा ढल्मलाएकाले सडक खस्न आतुर बनेका देखिन्छन्। बगेका माटोमै अल्झिएका रुख र बोटबिरुवा बटुवाका बाटो छेक्न तम्तयार छन्।
भिरपाखो र नदीछेउका बस्ती त्रासमा छन्। पानी र माटोले बनाएको हिलो र तत्कालै घामले परिणत गरेको धुलोले सवारी साधनको रङ नै फेरिदिएका छन्। त्यसैले पनि वर्षा सुरु हुनु नेपालीका लागि त्रासको सुरुवात हो भन्न हिच्किचाउनु पर्दैन।
बालीहरू पुरिएका छन्। कतिपय बाली बगाएका छन्। कतिपय कटानमा परेका छन्। यसरी कटान र डुबानको नियति भोग्नुपर्ने बाध्यताबाट यसपटक पनि नेपालीहरू पन्छन नपाउने देखिइसकेको छ। जलवायुविज्ञहरूले यसपटकको वर्षायामले विगत ३० वर्षयता नपरेको ठूलो पानी भित्र्याउने जानकारी दिएका छन्।
वर्षायाम सुखद नहुने उनीहरूको संकेतसँगै सर्वसाधारण तनावमा छन्। सुरुवातमै देखिएको पानीको ताण्डवले पनि जलवायुविज्ञहरूको जानकारीलाई अनुमोदन गरिसकेको प्रष्ट हुन्छ।
हामी विपद् रोक्न सक्दैनौँ। नेपाल जस्तो देशको बासिन्दाको हैसियतमा हामी त्यसका लागि तयार मात्र हैन, सक्षम पनि छैनौँ। त्यसैले हामीले यस्ता विपद्बाट सकभर कम हानि हुने अवस्थाका लागि तयारी गर्ने हो। यसका लागि पनि नेपाली सक्षम छैनौँ।
त्यसैले सानोतिनो तयारीका लागि पनि सरकारकै मुख ताक्नुपर्ने बाध्यता कसैबाट छिपेको छैन। यसरी हेर्दा आफ्ना नागरिकलाई वर्षासिर्जित विपद्बाट राहत दिलाउने मुख्य जिम्मेवारी सरकारकै हो र हुनु पनि पर्छ। यसमा दुई मत हुनै सक्दैन।
विशेषगरी यतिबेला पहाडी भेगका सडक बग्न थालिसकेका छन्। बाढी र पहिरोले कमसल घरहरू डुबानमा पर्न थालिसकेका छन्। कैयौँ सडक मार्ग अवरुद्ध भइसकेका छन्। बर्सेनि नेपालीले भोग्नुपरेका समस्या विश्लेषण गर्दा यसपटक पनि धेरै जनधनको क्षतिको आकलन भइरहेको छ।
यस्तो अवस्थामा सक्ने काम आफैँले पनि गर्न आवश्यक छ भने आफ्नो बुताले नभ्याउने तयारीका लागि सरकारी निकायलाई झक्झक्याउन ढिलाइ गर्नुहुन्न। विशेषगरी क्लब, आमा समूह, सहकारी, टोल/समाज सुधार समिति जस्ता संगठित निकायले आफ्नो गाउँठाउँका समस्याबारे छलफल गरी समाधानको मार्ग पहिल्याउन ढिला गर्नुहुन्न।
कानुनले स्थानीय सरकारलाई जिम्मेवार बनाएको छ आफ्नो गाउँठाउँमा हुने विपद्का घटना रोकथाम गर्ने र त्यसबाट हुने हानिको आकार सकभर सानो पार्ने विषयमा। हुन पनि आफ्नो पालिकाभरि कुन ठाउँमा कस्तो समस्या छ, कहाँ भलबाढी बढी आउँछ, कहाँ पहिरो जान सक्छ, कुन खोलाले बढी र कसरी हानि पुर्याउन सक्छ, कुन कुन बस्ती वा घर असुरक्षित छन् जस्ता विषयमा सबैभन्दा जानकार हुने भनेका स्थानीय नै हुन्।
स्थानीयबाटै चुनिने भएकाले स्थानीय जनप्रतिनिधिलाई त्यस्ता विषय थाहा नहुने कुरै भएन। एकातिर उनीहरू यस्ता विषयमा जानकार हुन्छन् भने अर्कोतिर स्रोतको खटनपटनमा पनि उनीहरू नै हाबी हुन्छन्। त्यति मात्र हैन, नपुग स्रोतको जोहो गर्न पनि उनीहरूलाई सहज हुन्छ। त्यसैले स्थानीय सरकार जति सक्रिय भयो वर्षासिर्जित विनाशबाट स्थानीयको हानि/नोक्सानीको आकार त्यति नै कम गर्न सम्भव हुन्छ।
नेपालीमा एउटा उखान छ– आगो लागेपछि कुवा खन्न तम्सने। अहिलेसम्म हामीले विपद्का कारण धेरै क्षति बेहोर्नुपरेको यही उखान चरितार्थ गर्दा हो। कुनै पनि काम बेलैमा गर्ने हो भने त्यो प्रभावकारी हुन्छ। भनाइको मतलव पानी परेपछि त्यसको असर हेरेर नियन्त्रण/रोकथाम गरौँला भनेर बस्ने हो भने त्यतिबेलासम्म हामी निकै ढिला भइसकेका हुनेछौँ। त्यसैले मनसुन प्रवेश मात्र गरेकाले अहिले पनि हामीसँग हानि न्यून गर्न आवश्यक तयारी गर्ने समय छ। सक्ने र आफूले हुने तयारी र नियन्त्रणका प्रयास आफैँ गरौँ।
आफ्नो क्षमता र हैसियतले नभ्याउने तयारी र नियन्त्रणका लागि स्थानीय हुँदै आवश्यक परे माथिल्ला सरकारहरू पनि गुहारौँ। मुख्य कुरा बाढी, पहिरो आदिले क्षति पुर्याउन सक्ने घर/बस्ती पहिचान गरी तिनीहरूको सुरक्षित बासस्थानका लागि अहिले नै लागिपरौँ। घटना भइसकेपछि हुने क्षतिको तथ्यांक संकलनलाई उपलब्धि ठान्ने रोगबाट आजै मुक्त होउँ।
प्रकाशित: १९ जेष्ठ २०८२ ०६:०० सोमबार

