१६ पुस २०८२ बुधबार
image/svg+xml
सम्पादकीय

गणतन्त्रको गन्तव्य

आज गणतन्त्र दिवस। देशैभर यो दिवस उल्लासमय तवरले मनाउन जुटिरहेका छन् नागरिक। अर्कोतिर यही दिन पारेर गणतन्त्र मनै नपराउनेहरू पनि सडकमा उत्रँदै छन्। खासगरी गणतन्त्रले मुलुक खत्तम पारेको भाष्य निर्माण गरेर उनीहरू सयौँ वर्ष मुलुकलाई भड्खालोमा जाक्ने राजतन्त्र पुनः ब्युँताउनुपर्ने एकसूत्रीय मागका साथ अग्रसर भइरहेका छन्। त्यसैले गणतन्त्रप्रति जयजयकार गर्ने मात्र छैनन्, यसलाई दुत्कारेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेहरू पनि उत्तिकै सलबलाइरहेका छन्।

गणतन्त्रले केही गरेन भनेर वस्तुनिष्ट विश्लेषण नगर्दा धेरै अल्मलिएको अवस्था छ। सबै बिग्रियो मात्र भन्ने चश्मा लगाउँदा बनेको केही देखिँदैन। जताततै खत्तम मात्र भयो भन्ने दृष्टिले त्यस्तै सृष्टि तयार पार्छ। आशा गर्ने ठाउँ नै छैनभन्दा निराशा मात्र हात पर्छ। र, यो अवस्थाबाट मुक्तिका लागि उनीहरू राजाको अनिवार्यता व्याख्या गरिरहेका छन्। लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। आफ्ना गतिविधि शान्तिपूर्णतवरले गर्न पनि सकिन्छ। यही अवस्थाका लागि राजतन्त्र फ्याँकेर लोकतन्त्र/गणतन्त्रको यात्रा तय गर्नुपरेको हो। त्यसैले कल्पनामा डुब्न पाउने केही व्यक्तिको अधिकारसँग डराउनुपर्ने आवश्यकता छैन।

गणतन्त्रपछि कैयन क्षेत्रमा लोभलाग्दा काम पनि भएका छन्। नकारात्मक चिन्तन मात्र गर्दा भने यो देखिँदैन। शिक्षालय र शिक्षार्थीहरूको संख्या उल्लेखनीय ढ्रंगमा बढेको छ। स्वास्थ्योपचारको दायरा फराकिलो भएको छ। अभिव्यक्ति स्वतन्त्रताले सबै मानकलाई उछिनेको छ। लिंग र जातका आधारमा हुने भेदभाव क्रमशः इतिहासको विषय बन्ने बाटोतिर लाग्दैछ। महिला सहभागिता र नेतृत्व कति तीव्रतर रूपमा बढेको छ भन्ने जान्न निजामती सेवामा कर्मचारीको लैंगिक अनुपात तुलना गरे पुग्छ। सडक, पुललगायत विकासका पूर्वाधारले पनि फड्को मारेका छन्। एउटा यथार्थ कुराचाहिँ यो हो कि जनअपेक्षाअनुरूप यी गतिविधिले तीव्रता धारण गर्न सकेका छैनन्। भ्रष्टाचार नियन्त्रण र सुशासन कायममा देखिएको कछुवा गति कसैलाई मन परेको छैन। केही नेता सुध्रन चाहेका छैनन्। तर यत्तिका आधारमा गणतन्त्र नै ठीक नभएको भाष्य जबर्जस्ती निर्माण गर्न खोज्नु शासनशैलीमाथि नै ठूलो अन्याय हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकूलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले दिएका जानकारीअनुसार तीन वर्षयता राष्ट्रिय मेडिकल बोर्डको सिफारिसमा सरकारी खर्चमा उपचारका लागि कोही पनि विदेश गएका छैनन्। यसअघि सानोतिनो अर्थात नेपालमै हुने उपचारका लागि पनि खासगरी दलका नेताहरू र उच्चपदस्थ कर्मचारीहरू विदेश जान्थे। यसो गर्दा बर्सेनि करोडौँ रूपैयाँ राष्ट्रिय ढुकुटीबाट बर्बाद हुन्थ्यो। यही कारण यो विषयले त्यस्ता व्यक्तिप्रति व्यापक घृणा उब्जाउने गर्थ्याे। तर विगत ३ वर्षदेखि यो क्रम रोकिनु निकै सकारात्मक अवस्था मान्नुपर्छ। आम नागरिकको आलोचनाले नेतालाई सुधारेको यो गतिलो उदाहरण हो। रचनात्मक आलोचनाले सबै क्षेत्रमा यसरी नै परिवर्तन गर्छ। लोकतन्त्रप्रतिको विश्वास यही हो।

यो परिवर्तन किन आयो भन्ने प्रश्न महत्त्वपूर्ण छ। राजतन्त्रमा भए यस्ता जानकारी गोप्य रहन्थे। तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नी काकीलाई सजिलै डेढ करोड उपचारका निम्ति दिँदा धेरैका आँखीभौं खुम्चिएका थिए। त्यो सार्वजनिक भएको पक्ष थियो, यस्ता नखुलेका कैयन पाटा छन्। कसैले थाहा पाएर राजाको सक्रिय शासनका यस्ता कार्यविरुद्ध आवाज उठाएमा कारागारको यात्रा गर्नुपथ्र्यो। जतिसुकै कराए पनि सुनुवाइ हुँदैनथ्यो। तर अहिले ढिलै भए पनि नेता र उच्चपदस्थहरूले जनआवाज सुन्न बाध्य भए। बाध्य गराउने कारकचाहिँ लोकतन्त्र हो। जहाँ सधैँ जनआवाज कुल्चेर अघि बढ्न असम्भव हुन्छ। त्यसैले पनि नेपाली जनताले गणतन्त्र रोजेका हुन्। यही शासन व्यवस्था खोजेका हुन्। नसच्चिनेलाई मतदानमार्फत कारबाही अधिकारसमेत उपलब्ध हुने कारण पनि गणतन्त्र उनीहरूको उच्चतम रोजाइमा परेको बुझ्न कठिन छैन।

अहिले राष्ट्रिय मेडिकल बोर्डले नेपालमै उपचार हुने रोगका लागि विदेश जान सिफारिस नै दिँदैन। यसरी सिफारिस नै नदिएपछि राष्ट्रिय ढुकुटीमा आश गर्नै पाइन्न। त्यसैले पनि पूर्वराष्ट्रपति रामवरण यादवको एक साता भर्ना नै भइ उपचार गराएका घटना होस् या अन्य ‘महत्त्वपूर्ण व्यक्ति’ को सूचीमा दरिएकाहरू कि आफ्नै खर्चमा विदेश जानुपर्‍यो उपचार गराउन कि भने नेपालकै अस्पतालहरू रोज्नुपर्ने अवस्थाबाट जनआवाज कदर भएको पुष्टि हुन्छ।

एकातिर संसद्ले नै भिआइपीका नाममा अनावश्यकरूपमा विदेश गएर उपचार गर्न नपाइने प्रस्ताव पारित गरेको छ भने अर्कोतर्फ अर्थ मन्त्रालयले सरकारी खर्च मितव्ययी हुनुपर्ने निर्देशिका जारी गरेको छ। अझ नेपालमै हुने उपचार पनि सरकारी पैसामा विदेशमा गराउन रोकिने योभन्दा पनि ठूलो कारण ‘नैतिक सवाल’ हो। खासगरी सञ्चार माध्यमले यस्ता व्यक्तिबारे बारम्बार प्रश्न उठाएपछि नेता र उच्चपदस्थ कर्मचारी आफैँ विदेशी उपचारबाट पछि हटेका हुन्। यो यस्तो नैतिक बन्धन हो जुन लोकतन्त्र/गणतन्त्रमा मात्र सम्भव हुन्छ। गणतन्त्रकालमा भएको यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो, सयौँ यस्ता असल काम छन् जसले जहिले पनि गणतन्त्रको तौल गह्राैं तुल्याइरहन मद्दत गर्छन्। त्यसैले केही नेता र कर्मचारीका कारण खिया लाग्न थालेको गणतन्त्रलाई सबै मिलेर चम्काऔँ। यसको विकल्प खियाले सिध्याइसकेको अस्थिपञ्जर हुन सक्दैन भन्ने बुझौँ र बुझाऔँ। सबैलाई गणतन्त्र दिवसको शुभकामना।  

प्रकाशित: १५ जेष्ठ २०८२ ०६:०० बिहीबार

Download Nagarik App
Download Nagarik App