सामाजिक सञ्जालहरूमा शुक्रबार एकाएक एक भिडियो भाइरल भयो, वर्णनमा भनिएको थियो– नयाँदिल्लीका मुस्लिम समुदाय आगजनी गर्दै छन्। यो भारत सरकारप्रतिको आक्रोशित प्रतिक्रिया हो।
तर, भारतको रक्षा मन्त्रालयको प्रेस इन्फर्मेसन ब्युरोको तथ्यजाँच टोलीले यो भिडियो नयाँ दिल्लीस्थित आइएनए क्षेत्रको हाटबजारमा गत अप्रिल ३० गतेको आगलागीको भएको बतायो। र, भन्यो– यो जनतालाई भ्रमित पार्ने र सामुदायिक सद्भावमा खलल पार्ने सुनियोजित प्रोपगान्डा हो। कृपया सरकारी संयन्त्रद्वारा प्रसारित आधिकारिक सूचनाहरूमा मात्र
विश्वास गर्नुहोला।
भारतको कश्मीरस्थित पहलगाम पर्यटनस्थलमा गएको अप्रिल २२ तारिख हतियारधारी समूहले एक नेपाली युवासहित २६ जना भारतीयको हत्या गरेपछि भारतले पाकिस्तानी भूमिमा आश्रय लिएका आतंककारीविरुद्ध भन्दै ‘अपरेसन सिन्दूर’ सैन्य अभियान थालेको छ। जवाफमा पाकिस्तानले पनि भारतसँग सीमा जोडिएको बस्ती र लाइन अफ कन्ट्रोलमा धावा बोलेको छ। त्यसयता यस्ता धेरै प्रोपगान्डा खबर फैलिएका छन्, जसलाई असत्य बताउन दुवै देशका सरकारहरूलाई हम्मेहम्मे परिररहेको छ।
कतै भारतीय सेनाले पाकिस्तानको राजधानी इस्लामाबाद कब्जा गरेको, कतै पाकिस्तानी सेनाले गुजरातमा आक्रमण गरेको, दिल्लीबाट मुम्बई उडान तत्कालका लागि निलम्बन गरिएको त कतै भारतीय सुरक्षा सल्लाहकार अजित डोभालकै नक्कली फेसबुक अकाउन्ट बनाएर सुरक्षा सतर्कताका कारण नयाँ नम्बरहरूबाट आएका मेसेज नहेर्न र फोन नउठाउन भन्ने सूचना जारी गरिएको पोस्ट, यस्ता अनेकौं गलत सूचना छन् असत्य छन्।
सत्य के भने शनिबार दिउँसोसम्म परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तान सरकारले एकअर्काका भूमिमा आक्रमण गरेका छन् तर युद्धको उद्घोष गरिहालेका छैनन् अर्थात् अर्को देश कब्जा गर्छु भनेका छैनन्। तर, अफवाह यसरी चलाइएको छ कि यी देश शत्रु सिध्याउने अन्तिम युद्धमा होमिएका छन्। खासगरी टेलिभिजन च्यानलहरू युद्धप्रेरित सामग्रीहरू यसरी प्रसारित गरिरहेका छन्, आम जनता सही के हो र गलत के हो भनेर अन्योलमा छन्। भारतको प्रसिद्ध अखबार ‘द इन्डियन एक्सप्रेस’का कार्यकारी निर्देशन अनन्त गोयन्का स्वयं शुक्रबार एक्समा लेख्न बाध्य भए, ‘यस्तो घडीमा टेलिभिजन नहेर्नू भन्न गाह्रो छ। तर, अघिल्लो रातपछि मेरो सल्लाह छ– नहेर्नुस्।’
आफ्नो स्वार्थसिद्धिका लागि सञ्चारका साधनहरूको दुरूपयोग गर्दै मानिसलाई उद्वेलित बनाउने र काम फत्ते गर्ने प्रपञ्चको नाम नै प्रोपगान्डा (अफवाह) हो। १८औं शताब्दीदेखि क्याथोलिक चर्चमा धर्म फैलाउने उद्देश्यद्वारा प्रयोग गरिएको यो शब्दले त्यसपछिका समयमा यसरी भाइरल भइदियो कि यसले जुनसुकै धर्म, क्षेत्र, भूगोल, समाज र व्यक्तिलाई प्रभावित पारिदियो। बुद्धिमता र तर्कलाई नकार्दै व्यक्तिको भावनामा कब्जा गर्ने यो उपाय विशेषत: सत्ता र शक्तिका लागि यस्तो ‘सफ्ट पावर’सिर्जित अस्त्र बन्यो, जसले युद्धमा सबैभन्दा बढी सफलता पायो।
जस्तो कि युद्ध र प्रोपगान्डामाथि पुस्तक नै लेखेकी बेल्जियमकी इतिहासकार एन मेरेली हरेक देशले युद्धताका अक्सर आफूलाई सही देखाउन प्रयोग ईश्वरीय भाषाझैं विभिन्न आदेश जारी गर्ने बताउँछिन्। जसमा पहिलो नै ‘हामी युद्ध गरिरहेका छैनौं, आफ्नो रक्षा मात्र गरिरहेका छौं’ भन्ने हुने गर्छ। युद्धमा सम्पूर्ण रूपले शत्रु नै जिम्मेवार भएको तर्क गर्दै उसले आफू पवित्र भएको दाबी मात्र गर्दैन विपक्षी, दैत्य भएको प्रसमेत गर्न खोज्छ। लडाइँमा विपक्षीभन्दा आफ्नो कम क्षति हुने भन्दै ऊ आफ्ना विचारधारा समर्थन नगर्नु शत्रुलाई फाइदा पुर्याउनु हुने तर्क गर्दै त्यस्तो व्यक्ति गद्दार हुने आदेश जारी गर्छ।
भारत-पाकिस्तान ‘प्रोपगान्डा वार’ हामी नेपालीले किन पनि बुझ्नुपर्छ भने पहिलो त हामी छिमेकी हौं, दक्षिण एसियाली हौं। बेलायतशासित भारतबाट सन् १९४७ मा मुस्लिम बहुल राष्ट्र बनेको पाकिस्तान र त्यसपछि विकसित भूराजनीतिका हामी कतिपय अवस्थामा साक्षी र प्रत्यक्षदर्शी दुवै हौं। थप नेपालका झन्डै २० लाख श्रमिक भारतमा काम गर्छन्। ३० हजारभन्दा बढी गोर्खा सैनिक छन्, जो अहिले पनि भारतीय सेनामा कार्यरत छन्। यकिन तथ्यांक नभए पनि भारतका हजारौं श्रमिक नेपालमा काम गर्छन्।
व्यापार गर्छन्। दक्षिणी क्षेत्रका एक हजार सात सय ५१ किलोमीटरभन्दा बढी साझा सीमा हामीबीचको विश्वासमा आधारित यस्तो क्षेत्र हो, जहाँबाट बिनाकडाइ मानिस वारपार गर्न सक्छन्। त्यसका अलावा हामीले भुल्नै नहुने तथ्य के पनि हो भने धर्मनिरपेक्ष देश नेपालमा अहिले पनि ८१ प्रतिशत मानिस हिन्दु छन्। मुस्लिम समुदाय ६ प्रतिशत छन्। पहलगाम हमलामा धर्म सोधेर हत्या गरिनुमा बदलाभावका साथै हिन्दु र मुस्लिम समुदायमा आपसी दंगा फैलाउने नियत थिएन भन्न सकिन्न।
यी विविध पक्षलाई ध्यानमा राख्दै विषम परिस्थितिमा नेपालले आफूलाई हरक्षण सचेत राख्नुपर्छ। खुला सीमाको दुरूपयोगमार्फत अवाञ्छित गतिविधि हुन नदिन हरसम्भव प्रयास गरिनुपर्छ। धार्मिक समभाव कायम राख्न सूक्ष्म निगरानी आवश्यक देखिन्छ। किनकि, मारिएका एक त नेपाली पनि छन्। मुख्यत: यही बेला घोषणा गरिएका राजा र हिन्दु राष्ट्र पुन:स्थापना आन्दोलनका आयोजक यसतर्फ सजग र उत्तरदायी हुनुपर्छ। डिजिटल युग, साइबर वार, एआईको बढ्दो हस्तक्षेपले कुन सही सूचना र कुन प्रोपगान्डा सूचना भन्ने जन्जालमा जेलिएका समयमा परिस्थिति आफूबाट जान नदिन सरकारले विशेष सतर्कता अपनाउनुपर्छ।
भारत–पाकिस्तान तनाव युद्धकै तहमा अघि नबढोस्, हाम्रो चाहना, कामना र प्रयास यही हुनुपर्छ। हामीले यसो लेखिरहेकै बेला अमेरिकाको पहलमा भारत र पाकिस्तान ‘युद्धविराम’ गर्न सहमत भएका छन् । यसले दुवै देशका शासकभन्दा पनि नागरिक तहमा खुसी छरेको मात्र छैन दक्षिण एशियामा मडारिएको अशान्तिको बादल तत्काल हटेको छ ।
यो उपलब्धिका खातिर भारत र पाकिस्तानसँगै अमेरिकी सरकारलाई हामीले धन्यवाद दिनुपर्छ । र, कुनै पनि हालतमा युद्धविराम भंग हुन नदिन दुवै पक्षलाई दबाब दिनुपर्छ । भविष्यमा सबै घटनाको समाधान युद्ध होइन संवादबाट खोज्न प्रोत्साहित गर्नुपर्छ । यसका लागि नेपालसहित बाँकी सार्क राष्ट्रले सार्कको बचेखुचेको साखलाई प्रयोग गर्न चुक्नुहुन्न।
प्रकाशित: २८ वैशाख २०८२ ०६:०६ आइतबार