१ असार २०८२ आइतबार
image/svg+xml
सम्पादकीय

आकाशमा मडारिएको युद्ध विभीषिका

दुई साताअघि भारतको पहलगाममा भएको हमलापछि यही विषयलाई लिएर भारत–पाकिस्तानबिच चलेको आरोप/प्रत्यारोप अन्ततः क्षेप्यास्त्र प्रहारको चरणसम्म पुगेको छ। भारतले पाकिस्तानमा ठूलो क्षेप्यास्त्र प्रहार गरेपछि अब यो घटना नयाँ र डरलाग्दो चरणमा प्रवेश गरेको बुझ्न गाह्रो छैन। किनकि पाकिस्तानले प्रतिकार गर्ने बताइसकेको छ।

भारत र पाकिस्तानबिचको दुश्मनी यी मुलुकको निर्माणदेखि नै छ। एउटा देशमा बेलुन पड्कदा पनि अर्को देशप्रति शंका गर्ने परिपाटी यी दुवै देशका लागि सामान्य भइसकेका छन्। त्यति मात्र हैन, मुलुकभित्रै चुनाव जित्न होस् या अन्य दलभन्दा राष्ट्रवादी देखिन भारतले पाकिस्तानलाई र पाकिस्तानले भारतलाई गाली गर्ने क्रम पनि उहिल्यैदेखिको हो। यस्तो अवस्थामा एकले अर्को देशलाई लगाउने आरोप र गर्ने आक्रमण तथा प्रत्याक्रमण दुवै देशका शासकका लागि बहादुरी ठहरिने गरेको छ।

यतिबेला इजरायलले प्यालेस्टाइनमाथि आक्रमण मात्र गरिरहेको छैन, पुरै देश कब्जामा लिने घोषणा नै गरेको छ। उता अमेरिकाले यमनका हुथी विद्रोही सिध्याउने बहानामा आक्रमण जारी राखेको छ। इजरायल र इरानबीच कुनबेला हानाहान हुने हो, कुनै टुंगो छैन। अमेरिका र क्युबाबीच उस्तै तनाव छ। रुस र युक्रेनबीचको युद्ध त झन् झन् खराब स्थितिबाट गुज्रदै गरेको सर्वविदितै छ। अर्कोतर्फ अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनिएसँगै क्यानडा, मेक्सिकोजस्ता धेरै देशसँग घम्साघम्सी परिरहेको छ। विशेषगरी दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच चुलिएको व्यापार युद्धले पनि कतै न कतै विश्व अशान्तिलाई नै सघाइरहेको छ।

विश्व यतिखेर गरिब र धनी, विकसित र अविकसित, सम्पन्न र विपन्न, सुगम र दुर्गम, शिक्षित र अशिक्षित जस्ता विभिन्न ध्रुवमा विभाजित छ। विशेषगरी पश्चिमा देशहरू विज्ञान र प्रविधिको चरम आनन्दानुभूति गरिरहेका छन्, मानौँ अब उनीहरूका लागि चुम्न बाँकी नै केही छैन। तर बिर्सन नहुने कुराचाहिँ यो छ कि यो उपलब्धि हासिल हुन सयौँ वर्ष लागेको छ। हजारौँको रोजीरोटी खोसिएको छ र लाखौँको रगत पसिना सिँचिएको छ। त्यसैले आज आफूलाई सम्पन्न भन्नेहरूले चुमिरहेका आनन्दको जगमा धेरैको भूमिका छ।

त्यसैले अबको चुनौती भनेको यी विश्वव्यापी उपलब्धि जोगाउने हो। प्रकृतिप्रदत्त सुविधाहरूको अत्यधिक उपयोग गर्दै भावी पुस्ताका लागि पनि यसको संरक्षण गर्नु हो। अहिले विकराल समस्याका रूपमा देखिएको जलवायु परिवर्तन जस्ता विषयको सामना गरेर अघि बढ्ने हो। यस्ता कार्यका लागि यतिबेला मिलिजुली अत्यावश्यक छ। अहिले हामीले भोगिरहेको विषम परिस्थितिबाट मुक्तिका लागि भाइचारा सबैभन्दा बढी आवश्यक भएको बेला हो। यस्तो बेलामा सबैको सामूहिक सहकार्य आवश्यक हुन्छ। तर हामी कतै बाटो बिराइरहेका त छैनौँ?, सयौँ वर्षको उपलब्धि धरापमा पार्न त उद्यत छैनौँ भन्ने माथि उल्लिखित युद्धोन्मुख वातावरणले संकेत गरिरहेका छन्। त्यति मात्र होइन विश्वमा शिक्षा, स्वास्थ्य र भोकका निम्ति दैनिक संघर्षरत मानिसको जीवनमा थोरै भए पनि राहत दिन कोसिस गर्नुपर्छ। युद्धमा स्रोतसाधन प्रयोग गरी होडबाजी गर्नु बुद्धिमानी होइन।

रुस–युक्रेन युद्धको असर विश्वव्यापीरूपमा फैलिइसकेको छ। खाद्यान्नलगायत सामग्री महँगो भएका छन्। यसबाटै पनि थाहा हुन्छ कि आफूलाई पनि त्यसको असर पर्नका लडाइँ हुने देशहरू छिमेकी नै हुनु पर्दैन। अमेरिकी वा चिनियाँ राष्ट्रपतिको एक वाक्यले विश्वभर सेयरको मूल्यमा उतारचढाव आउनुले पनि यो पुष्टि हुन्छ। यस्तो अवस्थामा हाम्रै छिमेकी भारत र पाकिस्तानबीच अहिले जुन युद्धको सन्त्रास देखापरिरहेको छ, त्यसबाट उनीहरू त बर्बाद हुन्छन् नै, हामी जस्ता नजिकका छिमेकी र शुभचिन्तकलाई पनि चैन प्राप्त हुने छैन। किनकि आजसम्म युद्धमा क्षति र हानिबाहेक अरू कसैले विजय हासिल गरेको रेकर्ड छैन।

मुख्य कुरा लडाइँको स्रोत अहंकार हो र यो कसैका लागि पनि फाइदाजनक छैन। युद्ध थोपर्दा कसैको घमण्डले केही समय राहत पाउला तर त्यसको मूल्य भने बाँकी विश्वले चुकाउनुपर्नेमा शंका छैन। त्यसैले यतिबेला खासगरी विश्वका नेताहरूले नै नेतृत्व गरिरहेका युद्धोन्मुख वातावरणप्रति पुनर्विचार गर्नैपर्छ। खासमा नेता त्यो हो जसले धमिलिएको वातावरणलाई शान्त तुल्याउँछ। यतिबेला ट्रम्प, मोदी, सी, पुटिनलगायतका नेताहरूले यसबारेमा ठण्डा दिमागले सोचे भने पक्कै पनि युद्धको बादल पाखा लाग्नेछ। 

प्रकाशित: २५ वैशाख २०८२ ०५:३७ बिहीबार

Download Nagarik App
Download Nagarik App