सामाजिक सञ्जाल प्रविधि विकासमा आएको पछिल्लो छलाङ हो। यसले विशेषगरी युवालाई लठ्ठै पारेको छ भने विश्वलाई झनै साँघुर्याएको छ। जसको प्रयोगबाट लाखौँ मानिसले आफ्नो ज्ञान वृद्धि गराइरहेका छन् भने लाखौँले आर्जनको स्रोतसमेत बनाउन सकेका छन्। त्यसैले पनि यो मञ्चबाट पृथक हुनुलाई पछौटेपनको एउटा गतिलै मानक ठानिन थालिएको छ। तर नेपालमा भने सामाजिक सञ्जालका फाइदाभन्दा बेफाइदा धेरै देखिन थालेका छन्। विशेषगरी मन नपर्ने मानिसलाई खेद्ने थलो बन्दैछ यो मञ्च। आफूलाई मन नपर्ने कुनै कुरा कसैले गर्यो भने उसलाई सत्तोसराप गर्नेदेखि उसको सात पुस्ते उतार्नेसम्मको काममा लाग्छ मन नपर्ने व्यक्ति र ऊ जस्तैको समूह। यतिसम्म कि मार्छु र काट्छु भनेर धम्क्याउनेसमेतका घटना हुने गरेका छन्। यस्तो कार्यले सम्बन्धित व्यक्तिलाई परेको पीडा शायदै अरूलाई महसुस हुन्छ।
यो दुनियाका सबैले आफूलाई मन पर्ने कुरा मात्र गरिदिउन्, सबैले आफैँलाई मात्र फाइदा पुर्याइदिउन् र सबैले आफूले मन पराउने विचार/धारणा मात्र मन पराइदिउन् भन्ने सोच नै आजको युगमा घातक छ। विचार फरक छन्, वर्ग/समुदाय पृथक छ, लिंग एउटै छैन, गन्तव्य छुट्टै छ र त विश्व विविधतामा आधारित एउटै गाउँ बन्न सकेको छ। सबैको एउटै धारणा र विचार हुन्थ्यो भने किन दुनियाँ राजनीतिक, धार्मिक, भाषिक जस्ता विभिन्न ध्रुवमा विभाजित हुन्थ्यो र? आखिर यस्तो चाहना कसैको छ भने कम्तीमा पनि आजको विश्वमा यो सम्भवै छैन।
विडम्बना, केही अतिवादी व्यक्ति/समूह यतिखेर यहीखाले चाहनामा एकोहोरिएका छन्। यसको पछिल्लो उदाहरण अभिनेत्री सुरक्षा पन्त भएकी छन्। उनले एउटा टेलिभिजनमा दिएको अभिव्यक्तिलाई लिएर आफूलाई राजावादी बताउनेहरूले यति मानसिक पीडा दिएका छन् कि जसले उनको मात्र नभई अरूको समेत दिमाग तताइसकेको छ। उनी धन्न निडर र आत्मविश्वासी छिन् र मात्र हो, अन्य उस्तै व्यक्ति भए यस्तो तनाव थेग्नै नसक्ने अवस्थामा पुगिसकेका हुन्थे। यसबाट पनि हामी सामाजिक सञ्जालको दुरूपयोग कुन हदसम्म गर्न लालायित छौँ भन्ने प्रष्टिन्छ।
कुन वाद, विचार वा सिद्धान्तप्रति के धारणा राख्ने भन्ने व्यक्तिको आफ्नो अधिकारको कुरा हो। सुरक्षालाई पनि त्यो अधिकार पक्कै छ। उनले आफ्नो संवैधानिक अधिकार प्रयोग गरकै कारण अहिले उनीमाथि जुनखाले हर्कत सामाजिक सञ्जालमाथि भइरहेको छ, त्यसले राम्रो संकेत पक्कै गरेको छैन। अझ सामाजिक सञ्जालमा पनि आफ्नो व्यक्तिगत मञ्चमा आउने धारणाले धेरैलाई नछुनुपर्ने हो तर त्यसैका आधारमा समेत प्रहार गर्ने कार्य मौलाउँदै जानु चिन्ताकै विषय बनिरहेको छ।
पछिल्लो समय विशेषगरी राजनीतिक दलका नेताहरूलाई किटेर नै तथानाम गाली गर्ने, वाहियात आरोप लगाउने, मार्ने/काट्नेसमेतका धम्की आइरहेका देखिन्छन्। नेताहरूका पनि कमजोरी हुन सक्छन्। उनीहरू भ्रष्टाचार, अनियमितता जस्ता घटनामा पनि संलग्न हुन सक्छन्। यस्तो अवस्थामा उनीहरूका कमजोरी औल्याइदिन सकिन्छ। उनीहरू भ्रष्टाचारमा संलग्न भए प्रमाण बटुलेर न्यायिक निकायहरूमा सजायका लागि दाबी गर्न सकिन्छ। तर यहाँ त आफैँ दोष लगाउने, आफैँ प्रहरी, आफैँ अदालत र आफैँ सर्वेसर्वा बनेर कुनै नेता वा व्यक्तिको जीवन बर्बाद गराउने होड नै चलेको छ। जसले हामी नेपालीमा कत्ति पनि जिम्मेवारीपन बाँकी नरहेको पुष्टि हुँदै जान थालेको छ।
सामाजिक सञ्जालमार्फत यस्ता हर्कत गर्ने, कसैको सार्वजनिक र व्यक्तिगत जीवन सिध्याउन लागिपर्ने, बिनाप्रमाण अरूलाई प्रहार गर्ने जस्ता कार्यलाई रोक्न, अनुगमन गर्न अब कडा कानुन आवश्यक भइसकेको विभिन्न घटनाले देखाएका छन्। तर सरकारहरू भने यस्तो कानुनको आडमा कतै आफ्ना विरोधीमाथि त खनिँदैनन् भनेर सञ्चार माध्यमले बारम्बार सचेत गराइरहेका छन्। तर पनि यस्तो अवस्था नआउने सुनिश्चित गरेर सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्न उक्सनेहरूलाई कानुनी उपचार गर्न भने आवश्यक भइसकेको देखिन्छ।
प्रकाशित: १७ वैशाख २०८२ ०५:३८ बुधबार