बिजुली देख्न कि बुटवल कि त पाल्पाकै झुम्सा वा दोभान पुग्नुपथ्र्यो पाल्पाको माथागढीका बासिन्दालाई। त्यहाँको बिजुली देख्यो अनि आफ्नो घरमा भने टुकी बाल्यो, बस्यो। माथागढी मात्र हैन, छिमेकी गाउँहरू घाडाकुना, हात्तीलुङ, दमार आदिका बासिन्दाको नियति पनि यही थियो। यस्तो अवस्थामा बालबालिकालाई पढ्न होस् या अन्य कार्य गर्न, मट्टितेलकै उज्यालोमा भर पर्नुको विकल्प थिएन।
तर अब भने उनीहरूका लागि यो एकादेशको कथामा परिणत भएको छ। किनकि यो अवस्था एक दशकअघिसम्म थियो। त्यसयता भने यहाँका बासिन्दाको उज्यालोमा बस्ने र रम्ने चाहना पूरा भएको छ। उज्यालोमा रम्ने मात्र हैन, विद्युत् आवश्यक पर्ने अन्य ससाना कामसमेत सम्भव भएका छन्। जसले स्थानीयको बोझ कम गराएको छ भने समय बचत गराएको छ।
जब गाउँमा विद्युत् ल्याउन गरिएका सबै पहल असफल भए त्यसपछि स्थानीय मिलेर लघु जलविद्युत् आयोजना निर्माण गरे। जसबाट अहिले ६८ किलोवाट विद्युत् उत्पादन हुन्छ। यस्तो विद्युत् सबैले बाँडचुँड गरी प्रयोग गरिरहेका छन्। कसैसँग शरण पर्न पनि नपर्ने र आफ्नै मर्जी भएका कारण घर–घरमा पुगेको विद्युत्प्रति स्थानीय औधि हौसिएका पनि छन्। जसले यो आयोजनाको संरक्षण र मर्मतसम्भारमा समेत उनीहरूको विशेष रुचि हुनु स्वाभाविक बनेको छ।
यो आयोजनाद्वारा उत्पादित सबै विद्युत् गाउँमा खपत हुँदैन। न जगेडा विद्युत् प्रयोग गरी ठूला उद्योग सञ्चालन गर्ने क्षमता न त उपयोग बढाउने तत्कालैको सम्भावना। यस्तो अवस्थामा के गर्ने के भन्ने द्विविधामा रहेका उनीहरूले जुक्ति निकाले– बाँकी विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बेच्ने। नभन्दै यतिबेला यो आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। यस कार्यबाट एकातिर स्थानीयले आफ्नो उपयोगका लागि बनाएका आयोजनाको उत्पादन आफूले प्रयोग गरिकन पनि मासिक दुई लाख रुपैयाँ को हाराहारीमा कमाइ गर्न थालेका छन् अर्कोतर्फ विद्युत्को राष्ट्रिय अभाव पूर्तिमा पनि थोरै न किन नहोस्, सहयोग पुगेको छ।
गाउँले मिलेर विक्रम संवत् २०७६ मा निर्माण गरेका यो त्यही झुम्सा तेस्रो लघु जलविद्युत् आयोजना हो जसले यतिबेला माथागढी र उसका छिमेकीलाई मात्र खुसी दिलाएको छैन, विद्युत्को पहुँच नपुगेका तर भरपर्दो जलस्रोत उपलब्धताका कारण सम्भावनाचाहिँ भएका देहाती बस्तीहरूमा आशा सञ्चार गराउनसमेत भूमिका निर्वाह गरेको छ। त्यति मात्र हैन, चाह्यो भने असम्भव केही छैन भन्ने प्रमाणित पनि गरेका छन् यहाँका बासिन्दाले।
उनीहरूले प्रयोग गरेर बाँकी रहेको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बेच्ने र स्थानीयको आम्दानी सुनिश्चित गराउने कार्यमा यो आयोजनालाई दिगो ऊर्जा चुनौती कोषले सघाइरहेको छ। प्रयोग गरेर बाँकी रहेको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न मिल्ने/नमिल्नेबारे प्रदेश सरकारले अध्ययनमा सहयोग गरेको थियो भने स्थानीय तहले आयोजना निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गरेको थियो। त्यसबाहेक अन्य आवश्यकीय खर्च उपभोक्ता सहकारी समितिले बेहोरेको थियो। यसरी हेर्दा भन्न सकिन्छ कि इच्छाशक्ति भयो भने सहयोगी निकायहरू जत्ति पनि भेटिन्छन्। जुन इच्छाशक्तिचाहिँ झुम्सा लघु जलविद्युत् आयोजना उपभोक्ता समितिसँग सिक्न सकिन्छ।
नेपाल जलस्रोतका हिसाबले निकै धनी रहेकामा विवादै छैन। डाँडाबाट ओरालोतिर झर्ने हजारौँ नदी, झरना र कुलाहरूका कारण यहाँ विद्युत् निकाल्न सकिने सम्भावना उत्तिकै छ। विशेषगरी पहाडी बस्तीहरू निकै टाढा टाढा हुने, घरहरू पनि छरिएका र भौगोलिक दृष्टिले पनि निकै कठिन हुने भएकाले केन्द्रीय प्रशारण लाइनको विद्युत् सबै ठाउँमा पुर्याउन कठिन छ। यस्तो अवस्थामा सबैभन्दा उपयुक्त विकल्प भनेकै माथागढी र आसपासका गाउँलेले अपनाएका तरिका हुनेमा शंका छैन। यसो गर्दा लागत कम हुन्छ भने लक्षित सबैले प्रयोग गरिसकेर बाँकी रहेको विद्युत्बाट आम्दानीसमेत हुन सक्ने पुष्टि नै भयो।
अर्को मुख्य कुरा, यसरी हुने आम्दानी स्थानीयको शिक्षा, स्वास्थ्यलगायत आवश्यकतामा आधारित अन्य काममा पनि लगाउन सकिने भयो। त्यसैले अहिले पाल्पाको माथागढी गाउँपालिकामा अपनाइएको यो विधि सम्भाव्य अन्य पालिकामा पनि विस्तार हुनुपर्छ। जसले विद्युत्को उज्यालो मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमलगायतका धेरै धेरै उज्यालो प्रदान गर्न सक्छ। पालिकाहरूले पनि खुद्रा मसिना आयोजनामा कनिके बजेट छर्नुभन्दा यस्ता बहुफाइदामूलक र दीर्घकालीन लाभका योजनामा ध्यान केन्द्रित गर्नु आफ्नै लागि भलाइ हो भन्ने बुझ्न आवश्यक छ।
प्रकाशित: २ वैशाख २०८२ ०५:५९ मंगलबार