काठमाडौँमा प्रत्येक दिन मानिस थपिँदो क्रम बढ्दो छ। जसका लागि आधारभूत आवश्यकताहरू त्यहीअनुरूप बढाउँदै लैजानुपर्ने हुन्छ। विडम्बना, यसो गर्न नसक्दा यहाँको जनजीवन हरपल हरक्षण निसासिँदै गइरहेको छ। विभिन्न समस्या झेल्न बाध्य काठमाडौँ पछिल्लो पटक पानीको समस्या सामना गर्न बाध्य भएको छ। विशेषगरी भूमिगत स्रोतबाट तानिने पानीको सतह गहिरिँदै जान थालेपछि यो समस्याले ठूलो रूप लिने देखिएको छ।
मेलम्ची र अन्य केही आयोजना भित्र्याए पनि काठमाडौँको पिउने पानीको समस्या समाधान हुने क्रममा समेत छैन। त्यसैले यहाँ भूमिगत मुहान नै पानीको मुख्य स्रोतका रूपमा रहँदै आएको छ। यही मुख्य स्रोत संकटमा पर्दै जान थालेपछि यसको समाधान कसरी गर्ने भन्नेबारे खासगरी सरकारी निकायहरूको चासो बढेको छ। उसै त यहाँ स्थायीरूपमा बसोबास गरिरहेकालाई नै पानी धान्न मुस्किल परिरहेको बेला प्रत्येक दिन थपिने बासिन्दाका लागि पानी जोहो गर्न सरकारका लागि निकै कठिन काम बनेको छ।
यही वास्तविकतालाई मध्यनजर राखेर यतिबेला सहरी विकास मन्त्रालयले भूमिगत पानीको सतह उकास्न केही तयारी अघि सारेको छ। जसमध्ये एउटा भूमिगत पानीको सतह उकास्न वर्षायाममा घरको छतमा परेको पानी पाइपमार्फत जमिनमुनि पठाउने हो। यस्तो व्यवस्था भएमा पानी ढलमार्फत सोझै नदीमा जान नपाउने र पुनर्भरण हुने मन्त्रालयका पदाधिकारीको सोचाइ छ। अहिले पानीको भूमिगत स्रोत घट्नुका विभिन्न कारणमध्ये एउटा यसरी घरको पानी सोझै नदीमा पुग्नु र जमिनभित्र चाल्न नपाउनु पनि हो।
यसैगरी सबै घरमा सेप्टिक ट्यांक अनिवार्यरूपमा राख्नुपर्ने नीति पनि लागु गरिने भएको छ। वर्षायाममा छतमा दर्कने पानीलाई सोझै सडकमा खस्न नदिई यसलाई जमिनमुनि पठाउने सोच कार्यान्वयन भएमा यसले पानी पुनर्भरणमा पर्याप्त सहयोग पुग्ने देखिन्छ। जसले भूमिगत स्रोत गहिरिने समस्या न्यून हुनेछ भने पानी भेट्न निकै तलसम्म खन्नुपर्ने समस्या पनि केही हदसम्म समाधान हुनेछ। केही वर्षअघिको तुलनामा अहिले जमिनमुनिको पानी निकाल्न निकै तलसम्म खन्नुपर्ने अवस्थाले पनि भूमिगत पानीको स्रोत गहिरिँदै गएको स्वतः प्रष्ट हुन्छ। यस्तो अवस्थामा मन्त्रालयले थालेको तयारीलाई सकारात्मकरूपमा लिनुपर्छ।
यतिबेला काठमाडौँ उपत्यकामा बस्ती सम्भव तुल्याउने वाग्मती, विष्णुमती, मनमती र इच्छुमतीलगायतका नदीहरू ढलमतीमा बदलिएका छन्। जसले उपत्यकाको सौन्दर्य मात्र बिगारेको छैन, फोहोर र गन्धलाई पनि प्रश्रय दिइरहेको छ। जसका कारण यी नदीहरू रोगका स्रोत बनिरहेका छन्। त्यति मात्र होइन, यहाँ नुहाउने, कपडा धुने, किनारमा बसेर रमाइलो गर्ने गरेका कुरासमेत अब इतिहास भइसकेका छन्। अहिले मन्त्रालयले थालेको तयारीले मूर्त रूप धारण गर्न सक्यो भने पक्कै पनि उपत्यकाका नदीहरू स्वच्छ हुनेछन्। र, यिनले पहिलेकै स्वरूपसमेत धारण गर्नेछन्। जसले यहाँको बस्तीकै मुहार फेर्ने सम्भावनाको ढोकासमेत खोल्नेछ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नयाँ घर बनाउन नक्सा पासको अनुमति दिने अधिकार स्थानीय सरकारलाई छ। नक्सा पास गर्दा सेप्टिक ट्यांक अनिवार्य बनाउनुपर्ने व्यवस्था ऐनमै छ। तर काठमाडौँ जस्ता ठूला सहरमा ढलको व्यवस्था भएका कारण धेरैले सोझै आफ्नो घरबाट सिर्जित हुने पानी, ढल वा अन्य तरल पदार्थ ढलमा हाल्ने र ढलमार्फत नदीमा पुग्ने हुँदै आएको छ। यसरी हेर्दा ऐनमै भएको व्यवस्थासमेत लागु भएको देखिँदैन। यसरी ऐन लागु नहुनुमा कार्यान्वयन र अनुगमन गर्ने निकायको पनि लापरबाही देखिन्छ। ऐन पालना गर्नुपर्ने घरवाला त दोषी हुने नै भइहाल्यो।
नदीहरू सभ्यताका मुहान हुन्। यही कारण विश्वमा जति पनि सभ्यता जन्मेका छन् तिनको प्रसूति थलो प्रायः नदीकै किनार रहने गरेका इतिहासहरूले पुष्टि गरेका छन्। अहिले पनि विश्वभर नै घना बस्ती होस् वा महँगो बस्ती, नदी/समुद्र किनारकै हुने गरेकाले पनि नदी-खोलाको महत्त्व बुझ्न कठिन छैन। अर्कोतर्फ नदीहरू चराचुरुंगी, गाईवस्तु तथा अन्य प्राणीको पिउने पानीको स्रोत हो।
सहरी गरिबहरूका लागि नुहाइधुवाइको थलो हो भने जलचरहरूको बसोबासस्थल पनि हो। त्यसैले नदीमा ढल मिसाउनु नदीका यी उपभोक्ता र बासिन्दामाथिको जघन्य अपराधसमेत हो। यही कारण यस्तो कार्यलाई नियन्त्रण गर्न पनि कानुनले नै व्यवस्था गरेको घरैपिच्छे सेप्टिक ट्यांक बनाउनुपर्ने नियम पालना गराउनैपर्छ। आफूलाई स्वच्छ, स्वस्थ र सभ्य तुल्याउने हो भने यसको परिपालना नगरी सुखै छैन। यस अर्थमा यतिबेला सहरी विकास मन्त्रालयले देखाएको चासो सराहनीय छ, ढिलै भए पनि।
प्रकाशित: १४ चैत्र २०८१ ०६:०६ बिहीबार