वायु प्रदूषणको असर श्वासप्रश्वासमा मात्र पर्छ भन्ने छैन। यसको असर मानव मस्तिष्कमा समेत पर्छ भन्ने पुष्टिका आधार फेला परेका छन्। विश्वमा १२ प्रतिशत मृत्युको कारण वायु प्रदूषण रहेको तथ्य संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ। अनियन्त्रित प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथ्य सार्वजनिक भइसके पनि यसबाट जोगिन हाम्रो मुलुकले भूमिका खेलेको देखिएको छैन।
हिउँदे वर्षा हुन नसकेको यसपटकको काठमाडौं उपत्यका र देशका प्रमुख सहरको अवस्था भयावह देखिन्छ। तुवाँलोको बाक्लो खास्टोले यी सहरलाई छोपेको छ। त्यसमा पनि काठमाडौं उपत्यका भौगोलिक रूपमा कचौरा आकारको छ। यहाँबाट सजिलै प्रदूषित वायु उडेर जाँदैन। त्यो डम्म परेर यहाँ बस्छ। विशेषगरी बिहान र बेलुका जाडो बढेपछि चिसो पनि मानिसको नाक बराबरको सतहमा प्रदूषित हावाको चलखेल हुन्छ। यसले सजिलै विषाक्त हावा हाम्रो फोक्सोमा प्रवेश गर्छ। घाम तातेपछि मात्र यो माथि उठ्छ। केही दिनयता अपराह्नतिर मात्र प्रदूषण कम भइरहेको छ। त्यो पनि हावाले उडाएर लगेपछि।
हाम्रो जस्तो सुन्दर देश, जहाँ डाँडाकाँडा, हरियाली भएर पनि प्रदूषित हावामा सास फेर्न बाध्य भएका छौं। विशाल समथर फाँट छन्। देशमा औद्योगिकीकरण पनि हुन सकेको छैन। यस्तो अवस्थामा यहाँको वायु प्रदूषित हुनुपर्ने होइन। तर, काठमाडौंलगायतका प्रमुख सहरमा प्रदूषणको कारक मानिएको धुलोको साह्रै सानो कणले जनस्वास्थ्यमा गम्भीर असर पारेको छ। यस्तो प्रदूषण शरीरमा प्रवेश गरेपछि हुने प्रभावबारे अनेकन् अध्ययन/अनुसन्धान भइसकेका छन्। निरन्तरका निर्माणकार्य तथा सवारी साधनले यहाँ हावालाई विषाक्त तुल्याएका छन्।
सरकारी निकाय वातावरण विभागको तथ्यांकअनुसार मंगलबार दिउँसो १२ः३० बजे राजधानी काठमाडौंको शंखपार्कको वायुको गुणस्तर ‘एअर क्वालिटी इन्डेक्स’ (एक्युआई) ३९९ पुग्नु आफैंमा चिन्तालाग्दो पक्ष हो। विभाग आफैंले यसलाई ‘खतरा’ को अवस्थाका रूपमा चित्रण गरेको छ। शंखपार्कमा त्यो बेला पार्टिकुलेट म्याटर (पिएम) २.५ को मात्र बढेर २७६.७ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो। तर, अपराह्न स्थितिमा सुधार आएको छ। संवेदनशील शारीरिक अवस्था भएका व्यक्तिका निम्ति भने प्रदूषित हावाले नकारात्मक प्रभाव पार्छ। वृद्ध, बालबालिका र दीर्घरोगीहरूलाई यसले गम्भीर समस्यामा पार्ने गरेको छ।
त्यसैले प्रदूषणलाई श्वासप्रश्वासको मात्र समस्याका रूपमा लिन सकिँदैन। यो मुलुकको बहुआयामिक स्वास्थ्य समस्या बन्न पुगेको छ। हावा प्रदूषित भएका कारण वातावरण मात्र स्वास्थ्य प्रतिकूल भएको होइन, यहाँ बस्न नसकिने अवस्थासमेत सिर्जना भइरहेको छ। हाम्रो मुलुकमा स्वच्छ हावापानीमा बस्न पाउनु आम नागरिकको अधिकारको पक्ष हो। नागरिकलाई स्वास्थ्य अधिकार संविधानले नै दिएको छ। तर, तिनलाई स्वस्थ्यकर वातावरणमा बाँच्न सक्ने अवस्थामा सरकारले पुर्याउन सकेको छैन। वातावरण खराब हुँदै जाँदा त्यसले यहाँ आउने पर्यटकलाई समेत निरुत्साहित तुल्याउने खतरा हुन्छ। विगत वर्षहरूमा भन्दा काठमाडौंको अवस्था केही सुध्रिएको छ। सडक सफा पनि केही हदसम्म देखिएका छन्। तैपनि हावालाई प्रदूषित हुनबाट जोगाउन खासै पहल भएको छैन।
हावामा रहेको अस्वस्थकर पदार्थ शरीरभित्र प्रवेश गरेपछि पार्ने असरबाट अब कोही अनभिज्ञ छैन। विगतमा वायु प्रदूषण कुनै समस्या नै होइन भन्ने थियो। बिस्तारै यो राष्ट्रिय समस्याका रूपमा आएको छ। अझ यो अन्तर्राष्ट्रिय आयामसँग पनि जोडिएको छ। छिमेकी मुलुकबाट समेत प्रदूषित हावा यहाँ आउँछ। त्यस्तो अवस्थामा यसलाई बहुराष्ट्रिय समस्याका रूपमा हल गर्न पनि तयार हुनुपर्छ। अरू मुलुकले आफूलाई स्वच्छ वातावरणमा राख्न केकस्ता प्रयास गरेका छन्, त्यसबाट हामीले पनि सिक्नु जरुरी भइसकेको छ। आम नागरिकको आयु छोट्याउने मात्र होइन, मृत्युको कारक बनेको वायु प्रदूषण प्राथमिकतामा परेन भने हाम्रा भावी सन्ततिले हामीलाई धिक्कार्ने छन्।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुकूल आफ्नो वायुको स्तर बनाउने हो भने नेपालीको आयु चार वर्ष सात महिना बढ्ने तथ्य सार्वजनिक भएको छ। हावाको गुणस्तर सुधारेर समग्र जनसंख्यालाई स्वस्थकर वातावरणमा बाँच्न सक्ने तुल्याउनुपर्छ। यति काम मात्र गर्न सक्दा पनि धेरै सहज हुन्छ। प्रदूषित हावाले न धनी भन्छ न गरिब। त्यसैले सबैको साझा समस्याका रूपमा देखिएको वायु प्रदूषण स्थितिमा सुधार गर्न सकिएन भने यसले अरू गम्भीर अवस्थामा पुर्याउँछ। यसको सम्बन्ध मानसिक रोगसँग समेत देखिएपछि अरू संवेदनशील हुनै पर्ला कि ?
प्रकाशित: १० माघ २०८१ ०६:१३ बिहीबार