सरकारले आगामी एक दशकमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्तुत गरेको ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ पारित भएसँगै यो महत्त्वाकांक्षाका लागि औपचारिक रूपमा बाटो खुलेको छ। मार्गचित्रमा सन् २०३५ सम्ममा मुलुकको विद्युत् क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने र यसका लागि सवा ६२ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने स्पष्ट उल्लेख छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार मार्गचित्र कार्यान्वयनमा आएसँगै रोकिएका आयोजना धमाधम अगाडि बढाउन बाटो खुल्नेछन्, जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका काम अघि बढ्नेछन्।
मार्गचित्रले स्वदेशमा उपभोगसहित विदेशमा समेत विद्युत् निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ। नेपाल विद्युत् प्राधिकरण, निजी क्षेत्र र विदेशी लगानीमा विद्युत् आयोजना निर्माण अघि बढिरहेको अवस्थामा जनताको सहभागिता पनि बढाउने नीति सरकारले लिएको छ । भारत र बाङ्लादेशतर्फ विद्युत् निर्यात सुरु भएकाले लगानीबाट प्रतिफल प्राप्त गर्ने निश्चित ठानिएको छ। आगामी १० वर्षमा छिमेकी मुलुक भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौतासमेत भइसकेको छ। बाङ्लादेशलगायत अन्य छिमेकी देशहरूमा सन् २०३५ सम्म थप पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना मार्गचित्रमा समावेश छ । मार्गचित्रले सरकारले बनाउने आयोजनालगायत आन्तरिक तथा बाह्य लगानी र सबै प्रकारका जलविद्युत्लाई अघि बढाउन मार्ग प्रशस्त गरेको छ। जुन मोडलमा लगानीकर्ता आउन चाहन्छन् राज्यलाई अधिकतम फाइदा हुनेगरी प्रक्रिया बढाउन अब बाटो खुला गरेको छ । यसका साथै मार्गचित्रले जलाशययुक्त आयोजनाहरूलाई प्राथमिकता साथ अगाडि बढाउने र निजी क्षेत्रलाई पनि सोहीअनुसार लगानी गर्न प्रोत्साहन गराउने नीति पनि लिएको छ । त्यसैगरी वैदेशिक लगानीका अतिरिक्त गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीको पुँजीलाई पनि महत्त्व दिएर लगानीको वातावरण बनाउने सरकारले जनाएको छ।
भारतसँगको विद्युत् व्यापारले देशको आत्मविश्वास मात्र होइन अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा देशभित्र खपत गरी अतिरिक्त भएकोे एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेर १३ अर्ब चार करोड रुपैयाँ देश भित्र्याएको छ। गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात पनि गरिएको थियो । आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो । त्यसो त भारत मात्र होइन, भारतको बाटो हुँदै नेपालले बाङ्लादेशमा पनि विद्युत् निर्यात थालिसकेको छ। नेपालबाट भारतको मुजफ्फरपुर हुँदै वार्षिक १४ करोड ४० लाख युनिट बिजुली बाङ्लादेश पुर्याउने प्राधिकरणको योजना छ। मार्गचित्रलाई सहयोग पुग्नेगरी सरकारले हालैमात्र विद्युत् आयोजना निर्माणमा मात्र नभएर प्रसारण लाइन निर्माणमा पनि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमार्फत पहिलो पटक निजी क्षेत्रलाई प्रवेश गराएको छ।
यता विद्युत् उत्पादन वृद्धिसँगै नेपाल विद्युत् प्राधिकरण पनि सबल हुँदै जानु मुलुकका लागि अर्को खुसीको खबर बनेको छ। प्राधिकरणले विद्युत् बिक्री गरेर आव २०८०÷८१ मा एक खर्ब १६ अर्ब रुपैयाँ आम्दानी गरेको छ, यसले सञ्चित नाफा ४७ अर्ब ७१ करोड पुगेको छ। प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता तीन हजार एक सय ५७ मेगावाट पुगेको छ । विद्युत् वितरणतर्फका वितरण सबस्टेसनहरू एक सय ९७ वटा छन्, सबस्टेसन दुई हजार पाँच सय एमभिए पुगेको छ। वितरण लाइनतर्फ दुई लाख आठ हजार सर्किट किलोमिटर पुगेको छ।
यी सबै सुखद सूचकले हामीलाई आशा प्रदान गर्नु स्वाभाविक हो। तर, वास्तविकता के पनि छ भने यतिबेला मुलुकमा तीन हजार चार सय मेगावाट हाराहारी मात्र विद्युत् उत्पादन भइरहेको छ। यो अंकलाई हेर्ने हो अबका प्रत्येक वर्ष झन्डै २५ सय मेगावाट बिजुली उत्पादन गर्ने दायित्व सरकारलाई हुनेछ। के यो सम्भव छ ? सरकार लगानीका लागि तयार छ ? देशभित्रै खपत् बढाउन र नयाँ बजार खोज्न हामी सक्षम हुनेछौं ? निजी क्षेत्रको योगदानभन्दा पनि नाफामुखी नीतिलाई व्यवस्थापन गर्न हामी कत्तिको दरिलो हुनेछौं ? पुँजीभन्दा परको प्रश्न, के नदीहरूलाई अधिकतम उपभोग गर्ने भन्दै अन्धाधुन्ध बिजुली निकालेर दोहन गर्ने प्रवृत्तिको जोखिमबारे हामी सचेत छौं ? यी यावत् प्रश्नहरूको जवाफले मात्र मार्गचित्रलाई सही गन्तव्य दिनेछ। नत्र यो मार्गचित्र पनि यसअघिका अनेक कागजी औपचारिकतामा सीमित हुनेछ। सत्य के पनि हो भने कुनै पनि सफलता हासिल गर्न महत्वाकांक्षा पहिलो सर्त हो। र, अहिलेका लागि ऊर्जा विकास मार्गचित्रले हामीलाई बिजुली उत्पादनबाट समृद्धिको यात्राको त्यस्तै भाष्यको सहयात्री बनाएको छ। असहज यात्रामा होस पुर्याएर हिँड्नु बुद्धिमत्ता हुनेछ।
प्रकाशित: १९ पुस २०८१ ०५:५९ शुक्रबार