८ पुस २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

एनपिएलको उज्यालो

घरेलु क्रिकेटको सबैभन्दा ठुलो लिग नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिबार (पुस ६ गते) को पारिलो घामको न्यानोबिच भव्यतापूर्वक सम्पन्न भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रंगशालामा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएसँगै नगद एक करोड १० लाखको पुरस्कार जितेको छ भने उपविजेताले ५१ लाख प्राप्त गरेको छ। यो नेपाली खेल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो। प्रतियोगिताका उत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले कार चढ्ने अवसर प्राप्त गरेका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गएको मंसिर १५ गते शनिबारकै दिन सुरु भएको एनपिएलमा जम्मा आठ फ्रेन्चाइज टोली सहभागी थिए– विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स। राष्ट्रिय टोलीका मार्की खेलाडी रहेका यी आठै टोलीमा झन्डै ४० विदेशी खेलाडी भित्र्याइएका थिए, जसमा न्युजिल्यान्डका मार्टिन गप्टिल, जेम्स निसम, स्कट कुगेलेइजिन, भारतका शिखर धवन, पाकिस्तानका सोहेल तन्बिर, अस्ट्रेलियाका बेन कटिङ, इङ्ल्यान्डका स्टेफन इस्किनाजी मुख्य थिए। बाँकी खेलाडीमा पनि एसोसिएट्स देशका राष्ट्रिय टोलीमा खेलिरहेका र केही विदेशी लिगमा नाम कमाएकाहरूको उल्लेख्य उपस्थिति थियो। स्वदेशका नाम सुनेका र नसुनिएका गरी झन्डै सयभन्दा बढी क्रिकेटरले कीर्तिपुरमा आफ्नो प्रतिभा देखाएका थिए।  

अब एनपिएल सकिएको छ। आइतबारदेखि कीर्तिपुर केही शान्त देखिनेछ, तीन सातासम्म झन्डै एक लाख मानिसको आवाज सुनेको रंगशाला पनि तुलनात्मक हिसाबले सुनसान हुनेछ। आम जनको जीवन फेरि पुरानै लयमा फर्किनेछ। तर नेपाली एनपिएलले यस्तो विरासत छाडेर गएको छ, जसले नेपाली क्रिकेटको इतिहासमा कायापलट गर्न सक्छ। के संघीय सरकार, स्थानीय सरकार, राज्य संयन्त्रहरू, राष्ट्रिय खेलकुद परिषद्, क्यान यसका लागि तयार छन्? अहिलेका लागि यो सबैभन्दा अहम् प्रश्न बनेको छ।  

यो प्रश्न किन पनि अहम् छ भने कुनै खेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष खेलाडी र दर्शक हुन्। पछिल्लो दशकमा नेपाली क्रिकेटरले आफ्नो क्षमता विश्व क्रिकेट मञ्चका लागि तयार रहेको प्रमाणित गरिसकेका छन्। दर्शक र समर्थकको त सवाल नै रहेन । मैदानमा ओइरिने दर्शकको संख्या र प्रेमको विदेशी मिडिया, खेलाडी मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले समेत उच्च सम्मान र मूल्यांकन गरेको छ। यसबाहेक एनपिएलको सफल आयोजनाले प्रमाणित गरेको अर्को पक्ष भनेको निजी लगानीकर्ताको सहभागिता हो। क्यानजस्तो आधिकारिक र जिम्मेवार संस्थाको आयोजना लिग आयोजना हुने हो भने नेपालमा लगानीको अभाव चिन्ताको विषय नभएको करिब एक सय करोडको कुल बजेटले नै पुष्टि भएको छ। फ्रेन्चाइज टिममा लगानीले लगानीकर्ताको ब्रान्डिड त हुन्छ नै साथमा टिममा रहेका खेलाडीमाथिको लगानीले नेपाली क्रिकेटकै उत्थान हुने सामान्य तथ्य कसैलाई सम्झाइरहनुपर्दैन। स्टार स्पोर्टसजस्तो टेलिभिजन च्यानलमा नाम चलेका क्रिकेट कमेन्टेटरले खेलसँगै नेपालको नाम बरोबर उच्चारण गरिरहँदा यसले समग्रमा नेपाल र नेपालीकै नाम, पहिचान विश्वमाझ फैलाउन मद्दत गरेको कुरामा पनि दुईमत हुन सक्दैन।  

एनपिएल आयोजनाले हामीलाई दिलाएको अर्को आत्मविश्वास भनेको नेपाल यसखाले ठुला प्रतियोगिता गर्न सक्षम छ भन्ने लाहाछाप हो। दक्षिण एसियाली देश भारत, श्रीलंका, बाङ्लादेश, पाकिस्तानजस्ता क्रिकेटका पूर्णकालीन सदस्य राष्ट्रहरूजस्तै अब नेपालमा पनि यस्तो लिगको सुरुवात हुनु आफैंमा गर्विलो क्षण हो, जसलाई यतिबेला हामीले आत्मसात् गरेका छौं। एनपिएलले नेपालमा क्रिकेट संस्कार बसाउनसँगै थुप्रै यस्ता अन्तर्राष्ट्रिय खेलाडीहरू लाई नेपालसँग जोडेको छ, जसले यहाँको क्रिकेट विकासमा भविष्यमा अमूल्य योगदान दिनेछन्। एनपिएलकै अवसरमा ब्रायन लाराजस्ता क्रिकेटर यहाँ आउनु र नेपाली क्रिकेटका लागि मैदान र मैदानबाहिर आफ्नो दक्षता उपयोग गर्न प्रतिबद्ध हुनु यसको एउटा उदाहरण हो। यी सफलताले हामीलाई क्रिकेट नेपालको कूटनीतिको सफ्ट पावर (सौम्य शक्ति) बन्ने सम्भावनालाई पनि उजिल्याएको छ।  

एनपिएलको सफलतामा अभिमान स्वाभाविक छ। तर सँगसँगै माथि भनिएजस्तो यही एनपिएलले हामीलाई थुप्रै प्रश्न र कमजोरी पनि औंल्याएको छ। रातको समयमा पनि खेलाउन मिल्ने फ्लडलाइटसहितको रंगशाला हुन्थ्यो त, सातैवटा प्रदेशमा ‘होम एन्ड अवे’ आयोजन गरेर दर्शकलाई आफ्नै प्रदेशमा बसेर राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेटरसँग साक्षात्कार गराउन सकिन्थ्यो त, व्यापारिक साझेदारलाई सामाजिक उत्तरदायित्वसँग जोडिँदै व्यापारिक लाभ दिलाउन सकिन्थ्यो त भन्नेजस्ता थुप्रै परिकल्पनाले एनपिएलले अझ कति उचाइ हासिल गथ्र्यो भन्ने कुरा क्यानका सचिव पारस खड्कालगायतको मस्तिष्कमा नखेलेको मान्न सकिन्न।  

आगामी वर्षको एनपिएल यी र यस्तै महत्वाकांक्षामा टेकेर अघि बढनुपर्छ, जसमा सरकारलगायत सरोकारवालाको साथ–सहयोग अत्यावश्यक छ। दलीयकरण र भ्रष्टतन्त्रको दलदलमा फसेको हाम्रो देशमा एनपिएल यी विकृतिभन्दा पर विशुद्ध व्यावसायिक, पारदर्शी, कर्तव्यबोधसहितको सुदृढ अभियान र देशकै सान बन्न सकोस्। एनपिएलको दोस्रो संस्करणका लागि अग्रिम शुभकामना !

प्रकाशित: ७ पुस २०८१ ०६:०६ आइतबार

Download Nagarik App
Download Nagarik App