प्रहरी प्रशासन राज्यको सबैभन्दा अग्रपंक्तिको निकाय हो। सरकारको अनुहार हेर्न नागरिकले सबैभन्दा पहिले प्रहरीलाई नै हेर्छन्। यसकारण पनि सरकारले आफ्नो अनुहार उजिल्याउन प्रहरीलाई बढ्ता जनमुखी बनाउनु पर्ने हुन्छ। सर्वसाधारणले प्रहरीलाई विश्वासको नजरले हेर्न सकेनन् भने बृुझ्नुपर्छ, त्यो प्रहरीभन्दा सरकार सञ्चालन गर्नेहरूले यसलाई गुणका आधारमा चलाएका छैनन्। प्रहरी प्रशासनले सर्वसाधारणलाई सत्यको पक्षमा काम गर्ने, सर्वसाधारणको सेवा गर्ने र निमुखालाई सुरक्षा दिने सन्दर्भमा उम्दा साविक गर्न सक्नु पर्छ। भुइँमान्छेले प्रहरीलाई ‘साथी’ बनाउन सक्ने गरी काम गर्न सक्नु पर्छ। त्यसका लागि प्रहरीले आफ्नो काम आफैं व्यवस्थित गर्ने र सत्यका निम्ति काम गर्ने संस्थाका रूपमा विकास गर्नुपर्छ। अनि मात्र यसले आफूलाई चिनाउँदै आएअनुसार हुन्छ– सत्य, सेवा, सुरक्षा।
राष्ट्रिय न्यायिक प्रतिष्ठानले हालै जारी गरेको प्रतिवेदनमा गरिएको सानो सर्वेक्षणले प्रहरीसम्बन्धी केही तथ्य सार्वजनिक गरेको छ। सर्वेक्षणमा जबर्जस्ती करणी मुद्दाका आरोपीलाई पहिले थुन्ने अनि मात्र सुन्ने प्रवृत्ति हावि रहेको औँल्याइएको छ।
२०८० मा गरिएको सो अध्ययनमा राज्यले हरेक व्यक्तिको शंकास्पद गतिविधिको निगरानी गर्ने स्वचालित प्रणाली भित्र्याउनुपर्ने जरुरी रहेको समेत बताइएको छ।
सर्वेक्षण जबरजस्ती करणीमा आशंका गरिएका व्यक्तिको मुद्दामा केन्द्रित भए पनि यसले समग्र प्रहरी प्रशासनको कार्यशैलीको झलक दिन्छ। प्रहरीको तल्लो तहदेखि माथिल्लो निकायसम्मको अनुशासन, काम गर्ने शैली र तिनले अँगालेको नीति कस्तो रहेछ भनी प्रस्ट्याउँछ। निरीह मानिसमाथि आशंकाकै भरमा दोषीलाई झैँ धम्क्याउने, थर्काउने, कुटपिट गर्ने प्रवृत्ति प्रहरीमा आम छ। यसले गर्दा प्रहरीप्रतिको सर्वसाधारणको दृष्टिकोण पहिलेको तुलनामा खस्किएको र इज्जत खुकुलिएको छ। यसले इमान्दार प्रहरीको एउटा तप्कालाई गहिरो घात गरिरहेको छ।
प्रहरी सर्वसाधारणको जीवनमा हरेक साना साना कुरामा जोडिएको हुन्छ। उसले सर्वसाधारणलाई गर्ने सानो व्यवहारको पनि ठूलो अर्थ राख्छ। सामान्य मानिसलाई उसले दिने इज्जत र मुस्कान, सेवा र सहयोगको दीर्घकालीन प्रभाव पर्ने गर्छ। यस्तै अपराधीहरूसँगको सेटिङ, आफ्नो काम देखाउन र बढुवा खान गरिने प्रपञ्चले समग्र प्रहरी प्रशासनलाई गम्भीर रूपमा घाइते बनाउँछ। खासगरी आफ्नो कार्यकालमा कति मुद्दाहरू दर्ता गरिए भन्ने सतही काम गरेर मात्र पुग्दैन। सयौं अपराधी छुटुन तर एकजना पनि निर्दोष नपरुन भन्ने न्यायिक मनसायलाई यहाँ पालना गर्न सकिएको देखिएन। बरु केही दोषीलाई पत्ता लगाउन सयौं निर्दोषमाथि डण्डा बर्साउने काम कहिल्यै उचित हुन सक्दैन। यो प्रवृत्तिलाई सर्वेक्षणले उजागर गरेको हुँदा यस संस्थाले आफ्ना कमजोरी सच्याउन यसलाई सुझावका रूपमा ग्रहण गर्नुपर्ने देखिन्छ।
नारा सुन्दा मिठो भएर मात्र पुग्दैन। ‘प्रहरी मेरो साथी’जस्ता सुन्दर नारा बनाउने, केही समयका लागि सामान्य नियम मिच्नेहरूलाई ‘गुलाबको फूल उपहार’ दिनेजस्ता कार्यक्रम फगत चर्चाका लागि ल्याइन्छन् भन्ने पनि प्रस्ट हुन्छ। कुनै व्यक्ति आफ्नो समस्या लिएर प्रहरीकहाँ जाँदा गरिने व्यवहार र पाउने सास्तीको बयान कुनै भुक्तभोगीले मात्र गर्न सक्छ।
त्यस्ता भुक्तमान विरलै प्रचारमा आउँछन् किनभने कसैलाई पनि त्यस्ता समस्या वा प्रहरीको दुव्यर्वहार चर्चालायक वा गम्भीर रूपमा सोच्नुपर्ने विषय हो जस्तो महसुस हुँदैन। यसकारण, कयौँ वर्षदेखि सर्वसाधारणले जुनसुकै राजनीतिक परिवर्तनका बेला पनि व्यवहारगत परिवर्तन महसुस गरेका छैनन्। देशको राजनीतिक परिवर्तनका बेला सबैभन्दा पहिले सर्वसाधारण महसुस गर्ने परिवर्तन यस्तै सरकारी निकाय हुन्, खासगरी शक्तिशाली निकाय। त्यसैले पनि कुनै झडप हुँदा प्रहरीहरूप्रति कारुणिक शब्द सुनिनुभन्दा सर्वसाधारणले निन्दाजनक शब्द नै प्रायः प्रयोग गरिरहेका हुन्छन्।
हुन त प्रहरी आफैँका अनेकन् समस्या छन्। तीमध्ये मानसिक स्वास्थ्य सबैभन्दा प्रथम हो भन्दा अत्युक्ति हुँदैन। लामो कार्यअवधि, कम प्रोत्साहन लगायत एउटा नेपालीका जति पनि समस्या छन्, ती प्रहरीका पनि समस्या हुन्। तिनले उनीहरूको मनोबल गिराउने र मानसिक स्वास्थ्य सबल नहुँदा प्रहरीले गर्ने व्यवहारमा अवश्य पनि गडवडी हुन्छ। यस्ता कार्य रोक्न नियमित मानसिक स्वास्थ्य परीक्षण लगायत कार्यस्थलको वातावरण स्वस्थ हुनु उत्तिकै जरुरी हुन्छ। सबै कामका लागि प्रहरीलाई नै दोष थोपरेर मात्र हुँदैन तर कार्यस्थलको वातावरण मैत्रीपूर्ण बनाउने र स्वस्थ जीवनशैलीलाई अँगाल्न प्रहरीका उच्च पदस्थ अधिकारीहरूले कार्ययोजना बनाई कार्यान्वयन गर्न निकै ढिला भइसकेको छ। समयमा नै यसतर्फ ध्यान केन्द्रित गर्न सकिएन भने प्रहरीको शाख योभन्दा तल झर्नेछ। जति शाख झर्दै जान्छ, उति उच्चगुणस्तरका पुस्तालाई भर्ती गर्न गाह्रो हुनेछ। जति न्यूनगुणस्तरका पुस्ता प्रहरीमा भर्ती हुन्छन्, उनीहरूबाट सेवाभन्दा बढी शासन नै भोग्न सर्वसाधारण अभिशप्त हुनेछन्।
सेवाको मनोभावबाट प्रहरी सेवामा प्रवेश गर्नेहरूको संख्या कम हुनु र ‘कमाउने’ अनि ‘जमाउने’ मनोभावबाट प्रहरी सेवामा प्रवेश गर्नेहरूबाट उति धेरै आशा गर्न सकिँदैन, भलै प्रहरीको तालीमका लागि जतिसुकै ठूलो लगानी किन नगरियोस्। सेवा मूलतः मनोभाव हो। यो स्वतः उत्पन्न हुन्छ। यस्तो स्वतः मनोभाव उत्पन्न हुने व्यक्तिहरूलाई यसमा प्रवेश गराउनु सबैभन्दा अनिवार्य कार्य हुन जान्छ। यसका लागि उच्च तहले अहिले गम्भीर भएर सोचेन, कुनै ठोस कार्ययोजना बनाउँदैन भने अबका केही वर्षमा प्रहरी प्रशासन देशकै सबैभन्दा कमजोर संयन्त्रको नमूनाका रूपमा पहिचान बनाउने कुरामा दुई मत हुने छैन। यसको नेतृत्वले गम्भीर हुन ढिला भइसकेको छ।
प्रकाशित: ७ मंसिर २०८१ ०६:०० शुक्रबार

