२३ भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

परीक्षा प्रणालीकै परीक्षा

हाम्रो मुलुकमा बेथितिबाट पीडित नहुने हो होलान् र ? स्कुलमा पढ्ने विद्यार्थी पनि यसबाट पीडित रहेछन् भन्ने फेरि एकपटक पुष्टि भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र कम्युटरमा नम्बर राख्दा कुन हदसम्मको लापरबाही हुन्छ भन्ने जिउँदोजाग्दो प्रमाण फेला परेको छ। अर्काका छोराछोरी बिग्रिए बिग्रियून् भन्ने भावना कपीजाँचकीदेखि परीक्षा शुद्धीकरणमा बसेका पदाधिकारीहरूमा देखिएको छ। अन्यथा, यस्ता कलिला विद्यार्थीको भविष्यमा धावा बोल्ने गरी परिणाममा त्रुटि गरिने थिएन। गत असारमा प्रकाशित २०८० सालको एसइई परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्न आवेदन दिने विद्यार्थीले भिन्न परिणाम पाएका छन्। त्यतिबेला असफल भए भनिएका विद्यार्थीको परिणाम सफल थियो, तर परीक्षाफल प्रकाशित गर्दा त्यसका त्रुटि सच्याएको रहेनछ।

यसपटक ठुलो संख्यामा विद्यार्थीलाई ‘ननग्रेड’ अर्थात् ‘असफल’ विद्यार्थीका रूपमा परीक्षाफल सार्वजनिक गरिएको हो। यसरी ‘ननग्रेड’ पाउनेका उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा यथार्थमा उत्तीर्ण भएको पाइएको छ। यसरी पुनर्योग गराउनेमध्ये धेरै उत्तीर्ण भएको पाइनुले यो सामान्य त्रुटि मात्र होइन, अपराधका रूपमा लिनु पर्छ। पुनर्योग गराउन आवेदन नदिने विद्यार्थी त असफल हुने नै भए। जानीबुझीकन उत्तीर्ण हुनसक्ने विद्यार्थीलाई अनुत्तीर्ण बनाएर आगामी बाटो छेक्न खोजेको यसबाट प्रस्ट भएको छ। मेहनती विद्यार्थीलाई आफूले कति अंकसम्म ल्याउन सक्छु भन्ने जानकारी हुन्छ। त्यसैका आधारमा तिनले आफूलाई सफल कोटीमा राखेका हुन्छन्। तर, उत्तीर्ण हुने अवस्थामा रहेका विद्यार्थीसमेत अनुत्तीर्ण हुँदा स्वाभाविक रूपमा परिणाम प्रकाशनमा शंका लाग्छ। असफल भएका भनिएका विद्यार्थी ‘ए प्लस’ ग्रेडसहित उत्तीर्ण हुनु भनेको आश्चर्यलाग्दो घटना हो।

पुनर्योगको नतिजा सार्वजनिक हुँदा ठुलो संख्याले राहत पाएको छ। तर, गलत परीक्षाफलका कारण यसअघि पाएको पीडाको कुनै लेखाजोखा छैन। आफूले राम्रो गरेको परीक्षाको परिणाम गलत आएका कारण कसैले गलत कदम उठाएको भए त्यसको जिम्मेवारी कसले लिन्थ्यो। कलिलो उमेरका भावुक युवालाई आफूले सोचेजस्तो परिणाम नआउँदा स्वाभाविक रूपमा दुःख लाग्छ। एसइई राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योगका लागि आवेदन परेका १९ हजारमध्ये शुक्रबारसम्म चार हजार दुई सय ९७ को मात्र पुनर्योग नतिजा प्रकाशन भएको छ। अझै १४ हजार सात सय तीनजनाको पुनर्योग नतिजा आउन बाँकी छ। पुनर्योगको नतिजा प्रकाशित भएका चार हजार दुई सय ९७ जनामध्ये दुई सय ७५ को नतिजा फेरिएर आउनु आफैंमा आश्चर्यजनक अवस्था हो। पुनर्योगको पछिल्लो विवरण अनुसार ६.३९ प्रतिशत विद्यार्थीले माथिल्लो ग्रेड हासिल गरेका छन्। अनुत्तीर्ण भनिएका ८८ विद्यार्थी सफल भएका छन्। तल्लो ग्रेडमाथि माथिल्लोमा पुग्ने र उत्तीर्ण हुने अवस्था आउनु र यतिका धेरै विद्यार्थीको परीक्षाफलमा अन्तर आउनु भनेको निकै ठुलो लापरबाही हो। यस्तो गर्ने पदाधिकारीहरूमाथि गहिरोसँग छानबिन भएन भने भविष्यमा पनि विद्यार्थीले यसरी नै पीडित हुनुपर्ने अवस्था आउनेछ।

बाँकी १४ हजार सात सय तीनजनाको पुनर्योग गर्दा करिब २० देखि २२ प्रतिशतको हाराहारीमा नतिजामा सुधार÷परिवर्तन हुने अनुमान गरिएको छ। यसको अर्थ उत्तरपुस्तिका परीक्षणमा गम्भीर लापरबाही भएको हो। परीक्षणमा यतिको लापरबाही अनैतिकताको पराकाष्ठा हो। कपीजाँचकी शिक्षक, परीक्षा बोर्डका कर्मचारी र पदाधिकारीको विद्यार्थीप्रति असंवेदनशील व्यवहार प्रकट भएको छ। पहिले विद्यार्थीलाई आफ्नै सन्तानका रूपमा हेर्दै गुरुजनले कपी जाँच गर्दा विचार पुर्‍याउँथे। अहिले राम्ररी कपी नहेरी असफल बनाएको यसले पुष्टि गर्छ। सायद, यस्तै कामले गर्दा धेरै युवालाई देशप्रति नै वितृष्णा उत्पन्न गराएको छ। आफूले राम्रो गर्दागर्दै पनि जानीजानी असफल गराइन्छ भन्ने युवा मस्तिष्कमा पर्नु आफैंमा चिन्ताको विषय हो।

सामान्यतः एसइई नतिजा प्रकाशन गर्दा परीक्षकले उत्तरपुस्तिका जाँच गरी नम्बर दिने, त्यसपछि प्रधान परीक्षक वा सम्परीक्षकले जाँच गर्ने, त्यसपछि बोर्डका कर्मचारीले मार्क स्लिपबाट कम्प्युटरमा नम्बर इन्ट्री गर्ने र अन्तिममा बोर्डका सदस्यले हस्ताक्षर गरी नतिजा प्रकाशित हुन्छ। यी चार चरण पार गर्दा पनि त्रुटि सच्याउनतिर कुनै चरण पनि आकर्षित भएको देखिएन। उत्तीर्ण हुने अवस्थाका विद्यार्थीलाई अनुत्तीर्ण गराउने काम भएको छ। नतिजा सार्वजनिक गर्नुअघि त्यसलाई त्रुटिरहित बनाउन आवश्यक कदम चालेको नदेखिनु आफैंमा दुःखद पक्ष हो।

२०८० सालको एसइई नतिजामा ५२.१३ प्रतिशत (दुई लाख ४२ हजार तीन सय १३) विद्यार्थी असफल भएका छन्। चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। परीक्षाफल सार्वजनिक भएपछि १९ हजार बढी आवेदन पर्नु आफैंमा आश्चर्यजनक छ। मानिसले काम गर्दा एकाध गल्ती हुन सक्छन्, तर जानाजान काममा त्रुटि हुनुलाई सामान्य मान्न सकिँदैन। हाम्रो मुलुकमा एउटा ठाउँमा होइन, अनेकन् ठाउँमा जिम्मेवार पदाधिकारीले असल मनका साथ काम नगर्दा यस्तो हुन गएको हो। भविष्यमा यस्ता घटना दोहोरिन नदिन यसपटक भएको त्रुटिको गम्भीर परीक्षण आवश्यक छ । त्यसपछि सुधारका निम्ति पहल गर्नुपर्छ।

प्रकाशित: ८ श्रावण २०८१ ०६:०३ मंगलबार

Download Nagarik App
Download Nagarik App