२३ भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

सभ्य सहरको सपना

एउटा सभ्य सहर बनाउनु भनेको कुनै सभ्य नागरिकले आफ्नो घर र बगैंचा सजाउनुजस्तै हो। सहर धेरै मानिस रमाउने सुन्दर उपवन हो। त्यो सहरमा आउने पाहुनालाई त्यहाँ बसौंबसौं लाग्नुपर्छ। त्यति मात्र होइन, आइसकेपछि बसाइ लम्ब्याउन तिनलाई भित्रैदेखि हुटहुटी लाग्नुपर्छ। काठमाडौं उपत्यका मात्र होइन, देशका प्रमुख सहरहरूको अवस्था अपेक्षाअनुरूप छैन। तैपनि केही वर्षयता सहरको सौन्दर्यीकरणमा सबैको ध्यान जान थालेको छ। विशेषगरी स्थानीय सरकारले भूमिका खेल्न थालेपछि यसको सुन्दरतामा थप निखार आइरहेको छ। संघीय सरकारले कार्ययोजना र स्थानीय सरकारको सक्रियता हुने हो भने हाम्रा सहर पनि बसौंबसौं लाग्ने हुन्छन्।

काठमाडौं उपत्यकाभित्रका महानगरपालिका, उपनगरपालिका र नगरपालिकाहरूमध्ये केहीमा सुधार पनि आएको छ। बागमती, विष्णुमती र अन्य सहायक नदी तथा खोला किनारामा गरिएको सडक सुधार र वृक्षरोपणले सुखद अनुभूति दिन्छ। केही ठाउँमा भित्री सहरमा पार्कहरू बनाइएका छन्। त्यसले पनि सहरलाई सुन्दर बनाउन मद्दत गरेको छ। यस्ता पार्कमा स्थानीय बासिन्दाले बिहानै घुमफिर र शारीरिक अभ्यास गरेका दृश्यले स्वाभाविक रूपमा सुखद अनुभूति गराउँछ। त्यही सहर सुन्दर हो, जहाँ बालबालिकाका निम्ति खेल्ने र वृद्धहरूका निम्ति बसेर सुस्ताउने ठाउँ उपलब्ध हुन्छ। कुनै समय थियो, काठमाडौंका सडक किनारामा फूल रोप्न पनि सकिँदैनथ्यो। अहिले ढकमक्क फूल फुलेको देख्न सकिन्छ।

उपत्यकाभित्र बागमती नदीवरपरका जग्गालाई पार्क र खुला क्षेत्र बनाउन सर्वोच्च अदालतले दिएको गत वर्ष पुस ३ को फैसलाको हालै आएको पूर्ण पाठले मार्गदर्शन गरेको छ। वास्तवमा यो सर्वोच्चले भन्नुपर्ने विषय होइन। तीन तहका सरकारले यसलाई आफ्नो कार्ययोजनामा राखेर कार्यान्वयन गर्नुपर्छ। तर, सरकारहरूबाट भुलचुक भएकै कारण सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासबाट आएको उक्त आदेशले गर्नुपर्ने कामको फेहरिस्त नै दिएको छ। यही आदेशको परिपालना मात्र गर्ने तत्परताले पनि सहरलाई निकै सुन्दर बनाउनेछ।

बागमती नदीवरपरको सार्वजनिक जग्गा संरक्षणका लागि छुट्टै कानुन बनाउन सर्वोच्चको निर्देशनात्मक आदेश रहेको छ। अहिले नदी अझै फोहोर छ। सहरका फोहोर ढल अझै लगेर नदीमा हालिएको छ। त्यसले गर्दा सडक किनारामा बसिनसक्नुको गन्ध हुन्छ। कालान्तरमा यी नदीमा सफा पानी बहने र जलचर देखिन थाल्ने हुन् भने स्वाभाविक रूपमा यी किनारा रातसाँझ टहलिने ठाउँमा परिवर्तन हुन्छन्। संसारका कैयन् सहरबिच रहेका नदीहरू अहिले सौन्दर्यका हिसाबले अत्यन्त आकर्षक छन्। त्यहाँ गएर पर्यटक झुम्मिदा देशले आम्दानी गरेका छन्। नदी किनाराका होटल, रेस्टुराँ आदिमा व्यापार बढेको छ। त्यही अवस्था यहाँ पनि आउँछ। यसकारण पनि बागमतीलगायतका नदीको सफाइ, ढलको व्यवस्थापन र जलशुद्धीकरणपछि मात्र नदीखोलामा हाल्ने चेतना आवश्यक छ। त्यसले मात्र सहरलाई सुखद बनाउन सक्छ।

हामी देश विकासका कुरा गर्दा सिंगापुरभन्दा अरूका कुरा गर्न रुचाउँदैनौं। त्यहाँको आर्थिक विकास मात्र होइन, नदीको सफाइलाई पनि ध्यानमा राख्न सकिन्छ। त्यहाँका नदी पनि फोहोरका कारण निसासिएका थिए, जसरी आज हाम्रा नदीहरू छटपटाइरहेका थिए। तिनले सन् १९७७ देखि १९८७ सम्म विभिन्न निकायको सहयोगमा थालेको सफाइले आज माछा भेटिने अवस्था आएको छ। युरोपका कैयन् नदीलाई सफा गर्न सयौं वर्षको प्रयास भएको थियो। हामीकहाँ पनि बागमती सफाइको लहर चलेको हो। तर, त्यसले अपेक्षित परिणाम ल्याएको छैन। यति हो, त्यसमा सुधार गर्नुपर्छ भन्ने चेतनासम्म आएको छ। अहिलेलाई यही नै ठुलो कुरा हो।

सर्वोच्चको आदेशानुसार बागमती र सहायक नदीहरूको वातावरणीय व्यवस्थापनमा नदीहरूको बहाब बढाउन पोखरीहरूको संरक्षणमा जोड दिइएको छ। राजधानी काठमाडौंभित्रका कैयन् पोखरीहरू मासिइसकेका छन्। तिनको खोजी गर्न सक्ने सम्भावना कमै छ। तर, भइरहेका खाली जग्गामा पोखरी र सकपिट निर्माण गर्न मननयोग्य आदेश भएको छ। यसै पनि यहाँ पर्याप्त वर्षा हुन्छ। त्यो पानीलाई जतन गरी नदी प्रवाहमा लगाउन सकिन्छ। एकझर पानी पार्नेबित्तिकै सडक भरिभराउ हुन थालेका छन्, त्यसमा पनि सुधार आउँछ। त्यसैले राजधानी उपत्यकाको सौन्दर्यीकरण, यहाँको वातावरणीय सुधार र नदीको सफाइका निम्ति बहुआयामिक ढंगले काम गर्नु आवश्यक छ। यो आदेशलाई एउटा मार्गदर्शक मानेर सरकारले काम गर्ने हो भने हाम्रा सहर साँच्चै सुन्दर र सभ्य देखिनेछन्।  

प्रकाशित: ४ श्रावण २०८१ ०५:५३ शुक्रबार

Download Nagarik App
Download Nagarik App