२३ भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

सडक (अ)संवेदनशीलता

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार बिहान साढे दुई बजेतिर पहिरोले बगाएर दुई बस त्रिशूलीमा हराएयताको समय अत्यन्त पीडादायी छ। सडक यात्राको जोखिम यसै पनि हाम्रो मुलुकमा धेरै छ। त्यसमा पनि एकझर पानी परेपछि त्यसले सिर्जना गर्ने कठिन परिस्थिति हामीले बर्सेनि महसुस गर्दै आएका छौं। यस्तो हुँदाहुँदै पनि राज्यले सडक सुरक्षाको मामलामा खासै ध्यान पुर्‍याएको देखिँदैन। जहिल्यै ठुलो दुर्घटना भएपछि दुईचार दिन यसमा चर्चापरिचर्चा हुने र फेरि बिर्सने प्रवृत्ति हामीकहाँ छ। खासमा सडक दुर्घटनालाई गम्भीरताका साथ लिइएको छैन। गम्भीरतासाथ लिइएको भए त्यही प्रकृतिको घटना जहिल्यै हुँदैन। त्यसमा पनि यसपटक राजनीतिक घटनाक्रमले यो विभत्स दुर्घटनालाई छायामा पारेको छ। तैपनि राज्यका निकायले हराइरहेको बस र यसमा सवार यात्रुको खोजीलाई निरन्तरता दिएको छ।

सिमलताल दुर्घटनामा परेका दुई बसमा ६५ यात्रु थिए। त्यसमध्ये तीनजना मात्र मुस्किलले बाँच्न सफल भएका हुन्। दुर्घटनायता हराइरहेकाहरूको खोजी जारी राखिएको छ। त्यसमध्ये केहीको शव फेला पारिएको छ। बाँकीको अवस्था अज्ञात छ। यसबाट पीडित परिवारजनमा परेको दुःख महसुस गर्न सकिन्छ। हाम्रो मुलुकमा बर्सेनि हुने सडक दुर्घटनामा सयौंको ज्यान जाने गरेको छ। बितेका पाँच वर्षमा करिब साढे १२ हजार नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ। मृत्युको तुलनामा घाइते हुनेको संख्या झन् ठुलो छ। यसबीच करिब ३० हजार मानिस घाइते रहेका प्रहरी तथ्यांंकले देखाउँछ । यसबाट पनि सडक दुर्घटनाको गम्भीरता बुझ्न सकिन्छ । अन्य प्राकृतिक घटनाक्रमभन्दा बढी मृत्यु सडक दुर्घटनामै हुन्छ।

गृहमन्त्री रमेश लेखकले सोमबार सपथग्रहणलगत्तै जिम्मेवारी लिनासाथ सिमलताल पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरे। गृहमन्त्रीले गरेको पहिलो निर्णयले उनी यसप्रति गम्भीर रहेको देखाएको छ। यससँगै उनले सडक दुर्घटना घटाउन र मृत्यु कम गर्न गृहप्रशासनलाई परिचालन गर्न आवश्यक देखिन्छ। अहिले पनि सरकारका निकायमध्ये सबैभन्दा धेरै सडकमा बसेर सेवा गर्नेमा नेपाल प्रहरी अगाडि छ। प्रहरीले सडक यातायातमा हुने दुर्घटना कम गर्न प्रभावकारी भूमिका खेल्न सक्छ। जसरी मादक पदार्थ सेवन गरे÷नगरेको सुनिश्चित गर्न प्रहरीले प्रभावकारी भूमिका खेलेको छ, त्यसैगरी यान्त्रिक जाँच, सडकको अवस्था र मौसमी जानकारीसमेतलाई ध्यानमा राखेर प्रहरी परिचालन गर्ने हो भने ठुला दुर्घटना हुनबाट जोगाउन सकिन्छ।

एकातिर जथाभावी सडक खन्ने नाममा कमला पहाडलाई उदाङ्गो पार्ने काम भएको छ, अर्कातिर विकास निर्माणलाई वातावरणमैत्री बनाउने प्रक्रियामा ध्यान दिइएको छैन। त्यसो गरिएको भए सडक दुर्घटनामा यति धेरै मानिस पर्ने थिएनन्। राम्ररी निर्माण सम्पन्न नगरेका, खाल्डाखुल्डी त्यतिकै छाडिएका, संकेत र अन्य आवश्यक पूर्वाधार नभएका सडक कैयन् छन्। नेपालीले सडक प्रयोग गर्न थालेको धेरै भएको छैन। पहिले सीमित सडकमा सवारी गुड्ने गरेकामा अहिले सडकलाई नै विकासको मुख्य संकेतका रूपमा लिइएको छ। त्यसैकारण जहाँ पनि सडक पुर्‍याउनै परेको छ। यसरी सडक पुगेपछि प्राविधिक रूपमा सवारी गुडाउन उपयुक्त भए/नभएको जाँच गर्ने काम कमै भएको छ। त्यस्तो नहुँदो हो त केही चन्द्रगिरिमै सडक दुर्घटना भई एउटा परिवार निमिट्यान्न हुने अवस्था आउँदैनथ्यो।

सडकको अवस्थामा ध्यान दिने, यन्त्रउपकरणको नियमित जाँच गर्ने र सडकको अवस्थाबारे नियमित रूपमा बुझेर मात्र अगाडि बढ्ने प्रक्रिया अगाडि बढ्नुपर्छ। सिमलताल दुर्घटनापछि मात्र ठुलो वर्षा भएको बेलामा राति सवारी चलाउन नदिने निर्णय गरिएको छ। सरकारको काम सावधानीका निम्ति केन्द्रित हुनुपर्छ। सावधानीले धेरैको ज्यान जोगाउँछ। सामान्यतः हवाई र अन्य यातायात प्रणालीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको हुन्छ। सडक सुरक्षामा भने धेरै ध्यान दिएको पाइँदैन। सामान्य कमजोरी मात्र हटाउँदा पनि धेरैको जिउधनको सुरक्षा गर्न सकिन्छ। त्यसकारण पनि सरकारले यसमा गम्भीर बन्न आवश्यक छ। असुरक्षित सडकका कारण बर्सेनि हुने जनधनको क्षति रोक्न सकिएन भने प्रत्येक वर्ष पछुतोबाहेक केही हुने छैन। 

प्रकाशित: २ श्रावण २०८१ ०६:०७ बुधबार

Download Nagarik App
Download Nagarik App