युवा उद्यमी डा.रोशन राठी नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष हुन्। एआइटिएम कलेज ललितपुरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका राठी अन्य विभिन्न व्यवसायमा पनि आवद्ध छन्।
नेपाल ब्रिटेन चेम्बर अफ कमर्स नेपाल र ब्रिटेनबीच आयात, निर्यात व्यापार, लगानी र आर्थिक साझेदारीलाई प्रवद्र्धन गर्न स्थापना भएको संस्था हो। नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको बेलायतबाट लगानी भिœयाउन चेम्बरले के काम गरिरहेको छ, विदेशी लगानीका लागि सम्भावित क्षेत्र के हुन सक्छन्, निर्यात व्यापार बढाउन के पहल भइरहेको छ, नेपालले बेलायतसँग के–के विषयमा लगानी गर्न सक्छ, भन्ने लगायतका विषयमा नागरिककर्मी दिलीप पौडेलले राठीसँग गरेको कुराकानीको सम्पादित अंश:
डा.रोशन राठी, अध्यक्ष, नेपाल ब्रिटेन चेम्बर अफ कमर्स
नेपाल ब्रिटेन चेम्बर अफ कमर्श स्थापना गर्नुको उद्देश्य के हो। यसले के काम गर्दै आएको छ?
नेपाल र बेलायतबिच व्यापार र लगानी कसरी बढाउने भन्ने मुख्य उद्देश्यले यो संस्था स्थापना भएको हो। २१ नोभेम्बर १९९५ मा स्थापना भएको यो संस्था नेपालको तेस्रो पुरानो बाइल्याट्रल चेम्बर हो। गत नोभेम्बर १७ मा सम्पन्न साधारणसभा पछि नयाँ समिति गठन भएको छ। मेरो नेतृत्वमा नौ जनासम्मिलित समिति छ। यसमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहेको छ। आइटी, बैंक, उद्योग लगायतका क्षेत्रबाट प्रतिनिधित्व भएको छ।
नेपाल र बेलायतबिचको सम्बन्धलाई कसरी लिन सकिन्छ?
नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध बेलायतसँग हो। बेलायत र नेपालको सम्बन्ध दुई सय आठ वर्ष पुरानो छ। बेलायतले डिएफआइडीमार्फत नेपालमा सहयोग गर्दै आएको छ। विकासमा ठूलो सहयोग गर्दै आएको छ। वाणिज्य तथा व्यापारमा पनि सघाउँदै आएको छ।
बेलायतबाट नेपालमा लगानी भिœयाउन के पहल भइरहेको छ?
शिक्षा, सूचना प्रविधि, हाइड्रो पावर, क्लिन इनर्जी, बैंकिड एन्ड फाइनान्सलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। यीलगायत अन्य विज्ञताका क्षेत्रको लगानी नेपालमा ल्याउन पहल गरिरहेका छौं। बेलायतका कम्पनीलाई नेपालमा कसरी ल्याउने, प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) कसरी भित्र्याउने भन्ने छ। वाणिज्य, व्यापार, लगानीमा बेलायत र नेपालबिच साझेदारितासँगै लगानी बढाउने गरी काम गर्न प्रयत्न गरिरहेका छौं। बेलायतका कम्पनीको लगानी नेपालमा कसरी भित्र्याउने भन्नेमा मुख्य फोकस छ। बेलायतका कम्पनीहरूसँग यहाँका लगानीकर्तालाई कसरी जोड्नसकिन्छ भनेर अध्ययन गरिरहेका छौं।
बेलायतसँगको निर्यात व्यापार बढाउन के कस्ता प्रयास भएका छन्?
नेपालका कम्पनीबाट निर्यात प्रवद्र्धन गर्न बेलायतमा सहजीकरण गर्ने काम गरेका छौं। हामीले ब्रिटिस दूतावासको विजनेस एन्ड ट्रेड विभागका अधिकारीसँग छलफल गरेका छौं। नेपालबाट प्रतिस्पर्धी बजारमा कार्पेट, हेन्डिक्राफ्ट, चिया, कफीलगायतका प्रोडक्ट बेलायत निर्यात हुँदै आएको छ।
अहिले सेवा क्षेत्र पनि प्राथमिकतामा छ। आइटी कम्पनीको आउटसोर्सिङको काम कसरी नेपालबाट बढाउन सकिन्छ भन्नेमा पनि ध्यान दिएका छौं। अब व्यापार मात्र नभएर सेवा क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ। केही प्रडक्ट निर्यातका लागि राम्रो हुनुपर्छ।
निर्यात बढाउन त्यहाँको निजी क्षेत्रसँग केही काम गर्नुभएको छ?
नेपालमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स छ भने बेलायतमा ब्रिटेन नेपाल चेम्बर अफ कमर्स छ। उहाँहरूसँग पनि सहकार्य गरेका छौं। यहाँका उद्यमीलाई बेलायतका संस्था तथा त्यहाँका उद्यमीसँग जोड्ने काम भइरहेको छ। नेटवर्किङ गराउने काम पनि भएको छ। दुवै देशका उद्यमीबीच प्रडक्ट बुझेर त्यसपछि निर्यात बढ्ने हो। उताको ट्रेड डेलिगेसन यहाँ ल्याउने। यहाँको ट्रेड डेलिगेसन बेलायत लैजाने काम गरिरहेका छौं। यसले निर्यात प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ।
निर्यात प्रवद्र्धन गर्न नीतिगत समस्या के छन्?
हामीले अर्थमन्त्रीलाई भेटेर नेपाल र बेलायतबिचका मुख्य व्यारियरबारे छलफल गर्दैछौं। बेलायत हाम्रो सबैभन्दा पुरानो सम्बन्ध भएको देश हो। नेपाल र बेलायतबिचमा डबल ट्याक्स एभोइड एग्रिमेन्ट छैन। यो जरुरी विषय हो। विदेशी लगानीका लागि यो अबरोध हुन्छ। त्यसैले नेपाल र बेलायतबिच दोहोर कर उन्मुक्ति सम्झौताका विषयमा पहिलेदेखिनै छलफल हुँदै आएको छ।
यो निचोडमा पुगेको छैन। यो सम्झौता भए दुवै देशलाई कुनै नोक्सानी हुँदैन। ट्रेड, कमर्स, फाइनान्स, इन्भेष्टमेन्ट बढाउन सहयोग पुग्छ। नेपालमा काम गर्ने र बेलायतमा काम गर्ने संस्थाले दुवैतिर कर तिर्न नपरोस् भन्ने प्राथमिकताको विषय हो।
बेलायतबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याउन कुनै क्षेत्र पहिचान गरिएको छ?
शिक्षा, आइटी, हाइड्रो पावर, क्लिन इनर्जीको क्षेत्रमा अवसर छ। बेलायत सरकारले साना तथा घरेलु उद्योगको प्रमोसनसँगै निर्यात प्रवद्र्धनमा पनि सघाउँछ। यहाँबाट निर्यात बढाउन ड्युटी फ्रि गरेर प्रोत्साहन गर्ने स्किम रहेका छन्। काम गर्न सक्ने क्षेत्र धेरै छन्। आइटी कम्पनी सेटअप गर्न सकिने सम्भावना छ। बेलायतको प्राथमिकताको क्षेत्र शिक्षा पनि हो।
कस्तो वातावरण भयो भने विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न सक्ने अवस्था बन्छ?
विदेशी लगानीकर्ताले एउटा मात्र देशलाई लक्षित गरेर लगानी गर्दैन। बाधा, व्यवधान के छन्? कम्पनीबाट निस्किन कति सजिलो छ। नाफा लैजान कति कानुनी जटिलता छ? सुरक्षा, पूर्वाधार के कस्तो छ भनेर हेर्छन्। कुनै पनि विदेशी लगानीलाई अबरोध हुनुभएन। नाफा लैजान कानुनी अप्ठ्यारो हुँदैन। यसमा समस्या देखिन्छ। धेरै व्यारियर रहेका छन्।
बेलायतको प्राथमिकताको क्षेत्र शिक्षा भन्नुभयो, नेपालसँग शिक्षाको क्षेत्रमा कसरी सहकार्य भइरहेको छ?
बेलायतसँग शिक्षा क्षेत्रमा सहकार्य हुँदै आएको छ। विदेशबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भएका कलेजहरूमध्ये धेरै बेलायतका रहेका छन्। विदेशी विश्वविद्यालय सम्बन्धन लिएर अध्ययन गर्ने कलेजमध्ये करिब ५० प्रतिशत विद्यार्थी बेलायतका विश्वविद्यालयमा आवद्ध कलेज अन्तरगतका रहेका छन्।
विदेशी विश्वविद्यालयमा आवद्ध कलेजमा करिब २४ हजार विद्यार्थी अध्ययन गर्छन्। त्यसको करिब ५० प्रतिशत ब्रिटिस विश्वविद्यालयमा आवद्ध छन् भन्ने देखिन्छ। यसले शिक्षामा सहकार्य रहेको पुष्टि गर्छ। बेलायतका विश्वविद्यालयले भारतमा आफ्नै क्याम्पस खोलेका छन्। त्यसैगरी नेपाली र बेलायतका विश्वविद्यालयको समेत लगानीमा संयुक्त रूपमा सञ्चालन गर्न खोजिरहका छौं।
धेरै नेपाली विद्यार्थी अध्ययनका लागि बेलायत गएका छन्। त्यहाँ पुगेर लिने शिक्षा यहाँ दिन सक्ने अवस्था छ/छैन?
निश्चय पनि– त्यो हाम्रो प्राथमिकताको विषय हो। विद्यार्थी विदेश अध्ययन गर्न जानु स्वाभाविक हो। यो ग्लोबल इकोनोमीको बेला हो। कसैले पनि रोक्न सक्दैन तर साझा विषय अध्ययन गर्न बेलायत जानुपर्ने आवश्यकता छैन। सामान्य विषयमा नेपालमै डिग्री दिन सक्छौं। त्यही बेलायतको डिग्री नेपालमा उपलब्ध गराउँदा इकोसिस्टम पनि विकास हुन्छ। यहाँका शैक्षिक संस्थासँग एलायन्स भएपछि रिसर्च गर्ने एकेडेमीको गुणस्तर बढ्दै जान्छ।
कुनै कोर्ष अध्ययन गर्न बेलायतमा ५० हजार पाउन्ड लाग्छ भने त्यही कोर्ष नेपालमै अध्ययन गर्दा सात हजार पाउन्डले मात्र पुग्छ। यसलाई हामीले प्राथमिकतमा राखेर अघि बढाएका छौं। नेपालमा ५९ कलेजले विभिन्न विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर यहाँ शिक्षा दिइरहेका छन्। तीमध्ये २४/२५ कलेज बेलायतका विभिन्न विश्वविद्यालयमा सम्बन्धन लिएर अध्ययन गराइरहेका छन्।
आइटी क्षेत्रमा बेलायतसँग सहकार्यको सम्भावना के छ?
बेलायत आइटीका लागि ठूलो बजार हो। आइटी भनेको सफ्टवेयर मात्र होइन। नेपाली मूलका व्यवसायीले पनि बेलायतमा पनि अफिस सेटअप गरेका छन्।
हाइड्रो पावर, क्लिन इनर्जीको क्षेत्रमा पनि केही बेलायतसँग सहकार्य हुँदै छ कि?
हाइड्रो पावर, क्लिन इनर्जी ग्लोबल्ली नै साझा विषय हो। नेपालमा पनि यसको स्कोप छ। बेलायतको स्कटलेन्ड लगायतका ठाउँमा वैकल्पिक ऊर्जा र क्लिन इनर्जीमा धेरै काम भएको छ। त्यहाँ ठूला कम्पनीहरू रहेका छन्। जसले अन्तर्राष्ट्रिय लगानी गर्छन्। त्यहाँका कम्पनीले नेपालमा पनि लगानी गर्न इच्छा जाहेर गरेको देखिन्छ।
यहाँ प्रमुख कार्यकारी अधिकृत रहेको एआइटिएम कलेज पनि बेलायतका विभिन्न विश्वविद्यालयसँग एफिलिएसन लिएर उच्च शिक्षा दिइरहेको छ। के कस्ता कार्यक्रम रहेका छन्?
स्कटल्यान्डको हाइल्यान्ड्स एन्ड आइल्यान्ड्स विश्वविद्यालयसँग सम्बन्धन लिएर अन्डर ग्य्राजुएटमा बिबिए, बिएचएम, बिएससी कम्युटिङ एन्ड इन्फरमेसन टेक्नोलोजी, बिएससी कम्युटिङ, बिजनेस एन्ड मेनेजमेन्ट बिबिए, बिई सिभिल इन्जिनियरिङ प्रोग्राम छन् भने मास्टरमा एमबिए प्रोग्राम रहेका छन्।
युवा उद्यमीका दृष्टिबाट मुलुकको व्यावसायिक वातावरण कस्तो छ?
अहिले बैंकमा तरलता थुप्रिएको छ तर ऋण लिने छैनन्। उद्योग, व्यापारमा लगानी भएको छैन। जेनजी आन्दोलनपछि व्यवसायीले असुरक्षित महसुस गरेका छन्। नयाँ लगानी आएको छैन। विदेशी लगानी आएको छैन। घरेलु लगानी पनि छैन। उद्योगी व्यवसायी पर्ख र हेरको रणनीतिमा छन् भने निजी क्षेत्रले असुरक्षाको महसुस गरिरहेको देखिन्छ।
प्रकाशित: २६ मंसिर २०८२ ०८:४२ शुक्रबार





