पाँच वर्षे कार्यकाल पूरा भएपछि नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले अवकाश लिएका छन्। डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले कार्यकाल पूरा गरेपछि आइतबारदेखि औपचारिक रूपमा राष्ट्र बैंकबाट बिदा भएकाले अब को नियुक्त हुन्छ भनेर चासोका साथ हेरिएको छ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी अर्थात् कार्यकारी निर्देशक स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था रहेको छ। राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन्।
ऐनअनुसार गभर्नरले ती कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम डेपुटी गभर्नर पदका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ। गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ।
डेपुटी गभर्नरका लागि नाम सिफारिस गर्ने अधिकार गभर्नरसँग छ। अब रास्वपाको सरकार बन्ने भएकाले अहिलेका गर्भनर विश्वनाथ पौडेलले के गर्छन् भन्ने चासोका साथ हेरिएको छ। नयाँ सरकारले नियुक्ति गर्ने अवस्था आयो भने एकल बहुमत भएको सरकारले छिटो निर्णय गर्न सक्ने सम्भावना रहेको छ।
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ। डेपुटी गभर्नरले गभर्नरलाई मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण, वित्तीय स्थायित्व कायम गर्ने कार्य र संस्थाको प्रशासनिक व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारी वहन गर्छन्।
राष्ट्र बैंकभित्रका विभिन्न विभागहरूको समन्वय, बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा नियमन, वित्तीय प्रणालीको स्थायित्व र नीति कार्यान्वयनमा पनि डेपुटी गभर्नरको महत्त्वपूर्ण भूमिका रहने गर्छ। गभर्नर अनुपस्थित हुँदा संस्थाको दैनिक प्रशासनिक तथा नीतिगत कार्यसमेत डेपुटी गभर्नरले नै सम्हाल्ने व्यवस्था रहेको छ।
दुई पद एकै पटक रिक्त भएपछि अब नयाँ डेपुटी गभर्नर नियुक्ति प्रक्रिया कहिले सुरु हुन्छ र कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषयलाई वित्तीय क्षेत्रले चासोका साथ हेरिरहेको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ ०७:२७ सोमबार





