२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

व्यापार घाटा १२ खर्ब ६७ अर्ब

निर्यात बढे पनि आयातकै दबाब कायम

चालु आवको नौ महिनामा मुलुकको व्यापार घाटा करिब साढे १२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ।

स्वदेशमा उत्पादन हुने वस्तुमा पनि विदेशको भर पर्दा व्यापार घाटा बर्षेनी बढ्दै गएको छ। आयात वृद्धि र निर्यातमा अपेक्षित रुपमा सुधार नहुँदा पोहोर भन्दा व्यापार घाटा १३.०४ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

मुलुकको वैदेशिक व्यापार १४.४० प्रतिशतले विस्तार भएको छ। कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ। नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ। मुलुकमा वैदेशिक व्यापार संरचना अझै पनि आयातमा निर्भर हुँदाम व्यापार घााटा दीर्घकालीन आर्थिक चुनौती थपिएको छ।

सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि घाटा बर्सेनी बढेको छ। सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिएको छ। तर, निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। सरकारले स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सकारात्मक परिणाम देखिएको छैन।

नौ महिनाको अवधिमा पोहोरको तुलनामा निर्यात व्यापार सामान्य बढेको छ। चैत मसान्तसम्म कुल निर्यात दुई खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगगेको छ। यो पोहोरकोे तुलनामा करिब साढे १८ प्रतिशतले बढी हो। पोहोर सोही अवधिमा एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएका थियो।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा सोयाविनको तेल हो। यो अवधिमा ९० अर्ब ७१ करोड रुपयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ। त्यसैगरी, १० अर्ब ७० करोड बराबरको अलैंची, ७ अर्ब ४४ करोडको कार्पेट, ६ अर्ब ९४ करोड रुपैयाँको सुर्यमुखी तेल निर्यात भएको छ। कच्चा वा अर्धप्रशोधित वस्तुमा निर्भर निर्यातले तत्काल विदेशी मुद्रा भित्राए पनि दीर्घकालमा व्यापार घाटा घटाउन पर्याप्त देखिँदैन। औद्योगिक उत्पादन विस्तार, प्रविधि हस्तान्तरण र मूल्य अभिवृद्धि गर्ने उद्योग नबढेसम्म निर्यातको आधार बलियो हुन सक्दैन।

नौ महिनाको अवधिमा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको वस्तु आयात भएको छ। पोहोर भन्दा आयात १३.८२ प्रतिशतले आयात वृद्धि भएको छ। यस वर्ष आयातमा सबैभन्दा अगाडि इन्धन छ। नौ महिनामा दुई खर्ब ५० अर्ब बराबरको इन्धन आयात भएको छ। वनस्पति घिउतेल एक खर्ब २९ अर्ब रुपैयाँ बराबर आयात भएको छ।

मेसिनरी पार्टपुर्जा एक खर्ब आठ अर्ब, फलाम र स्टिल एक खर्ब पाँच अर्ब, इलेक्ट्रिकल मेसिनरी तथा उपकरण ९९ अर्ब ७३ करोड, सवारी साधन ८३ अर्ब ७ करोड रुपैयाँ बराबरका आयात भएको भन्सार विभागले जनाएको छ। कृषिजन्य वस्तुको हिस्सा पनि ठूलो छ। ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको चामल आयात भएको छ। छ लाख ३८ हजार ७८७ टन धान, चामल, कनिका र बिउ आयात भएको विभागले जनाएको छ। त्यसैगरी एक खर्ब पाँच अर्ब रुपैयाँको तेलजन्य वस्तु आयात भएको छ।

इन्धन, मेसिनरी, फलाम तथा स्टिल, सवारीसाधन र विद्युतीय उपकरणजस्ता वस्तुको आयात उच्च भएको देखिन्छ। आयात वृद्धि आफैंमा नकारात्मक नभए पनि त्यससँगै घरेलु उत्पादन र निर्यात क्षमताको विकास नहुनु मूल समस्या बनेको छ।

सरकारले पछिल्ला वर्षहरूमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखेको भए पनि त्यसको प्रभाव व्यवहारमा सीमित मात्र देखिएको छ। ऊर्जा, कृषि, पर्यटन तथा साना–मझौला उद्योगलाई उत्पादन र निर्यातसँग जोड्ने स्पष्ट र कार्यान्वयनयोग्य रणनीति नबनाइएकाले व्यापार घाटा संरचनागत समस्याकै रूपमा कायम छ।

प्रकाशित: ७ वैशाख २०८३ १८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App