२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अर्थ

सुधार हुँदैछ जेन-जी आन्दोलनले खस्किएको पर्यटन बजार

पोखरामा पर्यटक । फाइल तस्बिर ।

मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा नेपालमा जेन-जी आन्दोलन भयो । आन्दोलनले सुरुवाती चरणमा पर्यटन क्षेत्रमा संकट थपियो । यतिसम्मकी सिजनमा आएको बुकिङ एकाएक रद्द भयो । बुकिङ रद्द हुँदा पर्यटन क्षेत्र निकै नै निराश बनेको थियो ।  

आन्दोलनको प्रभावले आउने तयारीमा रहेका पर्यटक रोकिएका थिए भने आइसकेका पर्यटकले बसाई अवधि छोट्याएर धमाधम फर्किएका थिए ।  

व्यवसायीका भनाईमा त्यो बेला आइसकेको बुकिङको करिब ९० प्रतिशत बुकिङ आन्दोलनको प्रभावले रद्द भएको थियो । जसको प्रभावस्वरुप पर्यटन क्षेत्र सुनसान नै बनेको थियो । पर्यटकीय क्षेत्र लेकसाइड मात्र नभई पोखरा आसपासका पर्यटकीय गन्तव्य पनि सुनसान बनेका थिए ।  

तर, सिजनको अन्तसम्म आइपुग्दा जेन-जी आन्दोलनको प्रभाव कमजोर बनेको र पर्यटनमा छोटो समयमै सकारात्मक सुधार भएको व्यवासायीले बताएका छन । जेन-जी आन्दोलनको प्रभावले तत्कालको अवस्थामा निकै नै त्रासपूर्ण र अन्योलपूर्ण अवस्था देखिएको भएपनि पर्यटन प्रवद्र्धनका हिसाबले छोटो समयमै ‘रिभाईभ’ भएको उनीहरुको भनाई छ ।  

पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा भन्छन, ‘हुन त सिजन निर्धारित समय भन्दा दुईसाता अघि नै कमजोर देखिएको छ । तर, जेन-जी आन्दोलनको प्रभाव भने छोटो समयमै कमजोर बन्यो ।’ उनका भनाईमा जेन-जी आन्दोलनको प्रभावले पर्यटन क्षेत्रले यो सिजनमा पाहुना आउनेमा निकै नै कम आशावादी थिए । तर, मुख्य सिजन लागेपछि पर्यटक आगमनमा सुधार भयो । सिजन सकिने बेलासम्म जेन-जी आन्दोलनले खस्किएको पर्यटनमा करिब ९० प्रतिशत हिस्सा सुधार भएको उनको भनाई छ ।  

‘डिसेम्बर मध्यसम्म पर्यटकीय सिजन चल्थ्यो । तर, अहिले नोभेम्बर अन्तिम लागिसक्दा पर्यटकीय गतिविधि सुस्ताइसकेको छ । दुईसाता अघि नै पर्यटकीय सिजन सकिएको अनुभव भएको छ । तर, सिजन नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘अक्टोवर र नोभेम्बर पूर्ण रुपमा र डिसेम्बरको आधासम्म पर्यटनको मुख्य सिजन हो । तर, अहिले नोभेम्बर अन्तिमसम्म सुस्ताएको अनुभव भएको छ ।’  

उनका अनुसार पर्यटन क्षेत्र जेन-जी आन्दोलनपछि यति छोटो समयमा रिकभर हुनेमा कमै आशावादी थियो । तर, सोचेभन्दा छिटो नै रिकभर भएको उनी बताउँछन । ‘पर्यटन क्षेत्रले त अहिलेको सिजनसँग आशा नै गरेको थिएन । अब आउने सिजन समेत प्रभावित हुने आशंका थियो । तर, त्यो आशंका यो पटक भने मेल खाएन । किनकी आन्दोलनको तीनसातापछि पर्यटन क्षेत्रले पुन गति लिन थाल्यो,’ उनले भने, ‘सिजनसँग गुनासो गर्ने ठाउँ रहेन ।’  

उनका अनुसार यो सिजनमा पदयात्राका लागि आउने पाहुनाको आकार अक्टोवर र नोभेम्बरमा बढी हुने गर्दथ्यो । अक्टोवरमा भीडभाड हुने भन्दै कतिपय पर्यटक नोभेम्बरमा मात्र नेपाल आउने गर्दथे । जसका कारण नोभेम्बर महिनाभर नेपालमा पाहुनाको भीड रहन्थ्यो । डिसेम्बरको दोश्रो सातापछि चिसो बढ्ने हुँदा बल्ल पाहुना घट्न थाल्थे । तर, अहिले नोभेम्बर अन्तिमदेखि नै अगमन कमजोर देखिएको उनले बताए ।  

‘हामीले यो सिजनसँग खासै आशावादी थिएनौ । किनकी जेन-जी आन्दोलनले त्रास थपिएको थियो । तर, अब सुधार भएको छ । आगामि सिजन पनि राम्रै हुनसक्छ,’ उनले भने । उनका अनुसार पछिल्लो समय पदयात्राका लागि आउने यूरोपियन मुलका पाहुनाको आगमन सुखद रह्यो । चिनियाँको आगमन भने कमजोर नै रहेको उनले बताए । भारतीयको आगमन पनि अझै कमजोर रहेको उनको भनाई छ । ‘चिनियाँ पाहुनाको भने कोरोना संक्रमण पछि नै आगमन उत्साहजनक छैन । अहिले पनि त्यस्तै अवस्था छ । चिनियाँ पाहुनाको आगमन राम्रो भएको भए त यो बेला निकै नै सहज हुन्थ्यो,’ सापकोटाले भने ।  

पर्यटन बोर्डका गण्डकी प्रमुख मणिराज लामिछाने पनि जेन-जी आन्दोलनले पर्यटनमा तत्कालिन अवस्थामा असर पारेको भएपनि छोटो समयमै रिकभर भएको बताउँछन । ‘आन्दोलनले सुरुवाती समयमा पर्यटन क्षेत्रमा केही त प्रभाव पारेकै हो । तर, यूरोपियन पाहुनालाई उत्तिसारो प्रभाव परेको देखिएन । भारतीय पर्यटन बजार भने अझै पनि प्रभावित भएकै,’ उनले भने । उनका अनुसार अहिले पनि चिनियाँ र भारतीयको आगमन उकालो लाग्न सकेको छैन ।  

बोर्डका अनुसार गत अगष्ट महिनामा नेपालमा हवाईमार्गबाट भित्रिने भारतीय पाहुनाको संख्या ३५ हजार ५ सय ५ थियो । तर, सेप्टेम्बरमा त्यो आगमन खस्केर १५ हजार ५ सय ५६ मा झरेको थियो । अक्टोवरमा पनि जम्मा १७ हजार २ सय ९८ जना भारतीय पाहुना भित्रिएका छन । ‘जेन-जी आन्दोलनले सबैभन्दा बढी भारतीय बजार प्रभावित भएको हो । भारतीयको त्यो बजार भने अझै उकासिएको छैन,’ उनले भने, ‘भारतीय सरकारले जारी गरेको ट्राभल एड्भाईजरीका कारण पनि भारतीय पाहुना प्रभावित बनेका हुन ।’

यूरोपियन बजार प्रवद्र्धनका लागि विभिन्न मुलुकमा प्रवद्र्धनका गतिविधि पनि भएका थिए । त्यसको प्रभावले यूरोपियन बजार छिटै नै पुरानो अवस्थामा फर्केको उनले बताए । ‘आन्दोलन पछिको पर्यटनमा ९० प्रतिशत माथि नै रिकभर भएको छ । भारतीय र चिनियाँ बजार अझै कमजोर छ । तर, यूरोपियन पाहुना थपिँदा आगमन उकासिएको हो,’ लामिछानेले भने । उनका अनुसार भारतीयको आगमन भने हवाई र स्थलमार्ग दुवैतिर अहिले पनि कमजोर रहेको छ ।  

‘चिनियाँ बजार त कोरोना संक्रमण पछि नै ओरालो लागेको हो । चिनियाँको आगमनका लागि विशेष पहल गर्नुपर्छ । तर, भारतीयको आगमन भने हवाई र स्थलमार्गबाट नै घटेको छ, भारतीयका लागि प्रवद्र्धनका कार्यक्रम जरुरी छ,’ उनले भने । उनको भनाईमा नेपालको पर्यटन क्षेत्रको विशेषता नै छिटो गरि रिभाइभ हुन्छ । जेन-जी आन्दोलनका कारण नेपालको पर्यटन एकमहिनाजति अप्ठेरोमा परेको भएपनि त्यसपछि सुधार भएको उनले बताए ।  

 

प्रकाशित: १४ मंसिर २०८२ १९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App