२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

सडक विस्तारको असरः चितवन राष्ट्रिय निकुञ्जमा २५ प्रतिशतले पर्यटक घटे

सौराहाका होटल व्यवसायी गुणराज थपलियालाई अघिल्लो आर्थिक वर्षमा पर्यटक आएनन् भनेर निराश हुने परेन । भूकम्प, नाकाबन्दी, कोरोना भाइरस महामारीमा सुनसान बनेको होटल सो वर्ष भरिभराउ रह्यो । तर, गत आर्थिक वर्ष भने सोही अवस्था रहेन । भूकम्प र नाकाबन्दीभन्दा पनि निराश अवस्थामा आइपुग्यो । ‘गत वर्ष सबैभन्दा कम पर्यटक आए । होटलमा पचास प्रतिशतभन्दा कम पाहुना आए’, थपलियाले भने, ‘यस्तो त कोरोना भाइरसको महामारीमा पनि भएको थिएन ।’  

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुम्ने पर्यटकको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१/२०८२ मा ७५ हजार ५०८ कम पर्यटकले निकुञ्ज घुमेका छन् । यसरी हेर्दा निकुञ्ज घुम्ने पर्यटकको संख्यामा २५ प्रतिशतले कमी आएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा हालसम्मकै सबैभन्दा धेरै पर्यटकले निकुञ्ज घुमेका थिए ।  

निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख छ हजार आठ सय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । गत आर्थिक वर्षमा दुई लाख ३१ हजार तीन सय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको सूचना अधिकारी थापामगरले जानकारी दिए । त्यसमध्ये एक लाख १७ हजार दुई सय छ जना स्वदेशी थिए ।

चितवन प्रवेशका लागि सडकको अवस्था नराम्रो हुँदा पर्यटकको संख्यामा कमी आएको अनुमान उनको छ । ‘राजधानीबाट आउने सडक पनि त्यति राम्रो छैन । नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ,’ उनले भने ‘सडक पूर्वाधारले पनि पर्यटक कमी आएको हुन सक्छन् ।’ निकुञ्ज भ्रमण गर्नेमा विदेशी पर्यटकको संख्यामा पनि कमी आएको छ ।  

आव २०८०/०८१ मा भन्दा गत आव मा १६ हजार ४२८ पर्यटक कम भित्रिएका छन् । आव २०८०/०८१ मा एक लाख ३० हजार पाँच सय ५१ विदेशी पर्यटकले भ्रमण गरेकोमा गत वर्ष एक लाख १४ हजार १२३ जना विदेशीले भ्रमण गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । विदेशीमध्ये सार्क राष्ट्रका २४ हजार ८ सय र अन्य मुलुकका ८९ हजार ३२३ जना रहेका छन् अघिल्लो आर्थिक वर्ष सार्क राष्ट्रका ३६ हजार चार ७१ र अन्य मुलुकका ९४ हजार ५० जनाले भ्रमण गरेका थिए ।  

चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् । यो महिनामा ३२ हजार दुई सय ५२ जना निकुञ्ज घुम्न आएका थिए । सबैभन्दा कम साउनमा सात हजार तीन सय नौ जनाले निकुञ्ज घुमेका छन् । निकुञ्जले गत आर्थिक वर्ष ३३ करोड ८६ लाख २३ हजार १९३ रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै आव २०७९/०८० मा निकुञ्ज प्रवेश गर्ने पर्यटक संख्या दुई लाख ९९ हजार चार सय १२ थियो । यो आवभन्दा गएको आवमा विदेशी पर्यटकको संख्या वृद्धि भएको देखिन्छ । आव २०७९/०८० मा ९२ हजार आठ सय विदेशीले मात्र निकुञ्ज घुमेका थिए ।

पछिल्लो १० वर्षमा सबैभन्दा कम आव २०७२/०७३ मा ८७ हजार तीन सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आव २०७७/०७८ मा ९८ हजार दुई सय २८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ । पछिल्ला वर्षहरूमा विदेशीभन्दा स्वदेशी पर्यटकले निकुञ्ज घुमेको निकुञ्जको तथ्यांकमा देखिन्छ । कोभिडपछि विदेशीको संख्या पनि क्रमशः बढ्दो देखिन्छ ।  

सरकारले २०३० सम्म भ्रमण वर्ष दशक मनाइरहेको छ । यो अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य थियो । त्यसमध्ये चितवन निकुञ्जमा वार्षिक चार लाख पर्यटक आउनुपर्ने लक्ष्य यहाँका व्यवसायीको रहेको छ । यसका लागि यहाँका व्यवसायीले ‘घुमौं सौराहा’, ‘भरतपुर भ्रमण वर्ष’ लगायतका कार्यक्रम राखेका थिए । चितवनमा १५ हजार पर्यटक राख्ने होटल छन् । तर पर्यटक घट्दै जाँदा होटल व्यवसायी भने चिन्तित छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवन निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको भन्दै यसले सौराहाको पर्यटन व्यवसायमा ठूलो असर पारेको बताए ।  

अन्तरराष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रीकालिन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो भएका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको उनको बुझाइ छ ।

प्रकाशित: ६ श्रावण २०८२ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App