किसानलाई प्रतिकिलो १० रुपैयाँमै प्राङ्गारिक मल उपलब्ध गराउन ताप्लेजुङको फुङलिङ नगरपालिकाले उत्पादन गर्ने किसानको सूचीकरण गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाका अनुसार मल उत्पादनका लागि सूचीकरण भएका किसानबाट नगरपालिकाको कृषि शाखाको सिफारिसमा मल खरिद गरे १० रुपैयाँमै प्राङ्गारिक मल उपलब्ध गराइने छ । यसका लागि नगरपालिकाले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । नगरपालिकाले नगर क्षेत्रमा प्राङ्गारिक खेति प्रर्वद्धनका लागि जैविक जिवाणु मल उत्पादन अघि बढाउन लागेको जनाएको छ । मल उत्पादक गर्ने कृषकले माघ १२ गते भित्रमा नगरपालिकामा सूचिकृत भइसक्नुपर्ने छ ।
पछिल्लो समय रसायकिन बिषादीको सट्टा जैविक अर्थात् प्राङ्गारिक मल प्रयोगमा यहाँका स्थानीय तहले अभियान चलाइरहेका छन् । मैवाखोला गाउँपालिकाले गाउँमै प्राङ्गारिक मल उद्योग खोल्नेगरी उद्योग स्थापनाको ठेक्का लगाइसकेको छ भने सिरिजङ्गा गाउँपालिकाले फुङलिङ नगरपालिकाको झैं मल उत्पादन गर्ने किसानको सूचीकरण गरी प्रतिकिलोग्राम १० रुपैयाँकै दरले किसानले पाउनेगरीको व्यवस्थाको प्रकृया अघि बढाएको छ ।
कृषि उपज उत्पादनलाई शुद्ध बनाउने तथा रसायनिक मल प्रयोगलाई घटाउने गरी स्थानीय तहले कृषकहरुलाई जैविक मलको प्रयोगमा जोड दिदै आएका छन् । प्राङ्गारिक मल रसायनिक मल भन्दा सस्तो पर्ने तथा मानव स्वास्थ्यका लागि हानिकारक नहुने भएकोले प्राङ्गारिक मलको प्रयोग बढाउन यहाँका स्थानीय तहले बिभिन्न प्रकृयाहरु अवलम्बन गर्दै आइरहेका छन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त प्रमुख विजय श्रेष्ठ प्राङ्गारिक मलको प्रयोगले माटोको अम्लियपनमा समेत सकारात्मक प्रभाव पर्ने बताउँछन् । रसायनिक मलको बढ्दो प्रयोगले माटोमा अम्लियपन बढी हुने भएकोले यसले उत्पादन तथा उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पार्ने उनको बुझाई रहेको छ ।
माटोमा अम्लियपना बढ्दा यसले माटोको उर्वराशक्तिलाई कमजोर बनाउँने विज्ञहरु बताउँछन् । प्राङ्गारिक मलले माटोमा अम्लियपना बढशन नियन्त्रण गर्नुका साथै उर्वराशक्ति बढाउन समेत सघाउने विज्ञहरुको भनाई रहेको छ । रसायनिक बिषादी प्रयोग भएका कृषिजन्य उपजहरुले मानव स्वास्थ्यमा बिभिन्न खरावीहरु सृजना गर्ने जोखिम बढी हुन्छ । यस्तो जोखिम कम गर्न र उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी किसानहरुलाई प्राङ्गारिक मलमै आत्मनिर्भर बनाउन गाउँमै प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग स्थापनातर्फ पालिका अग्रसर भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।
प्रकाशित: २९ पुस २०८२ १६:५६ मंगलबार





