श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले प्रतिनिधिसभामा अब चुनिने व्यक्तिले जनताको म्यानडेट अनुसार काम गर्नुपर्ने बताएका छन् । सुनसरी क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका उनले लोकतन्त्रमा जनता सर्वोच्च भएकाले यो निर्णयलाई सबले स्वीकार गर्नुपर्ने बताए ।
'निर्वाचनमा जसलाई चुन्यो, त्यो व्यक्तिले जनताको म्यानडेट अनुसार काम गर्नुपर्छ । अब देशमा सुशासन आउन सकेको होस्, विकास हुन सकेको होस् र स्वाधीन देश होस्', भिडियो लाइभमार्फत उनले भने ।
उनले एकले अर्कालाई सम्मान गर्न आग्रह गर्दै त्यसो गरेमात्र लोकतन्त्रलाई सम्मान हुने बताए ।
‘मौन अवधिअघिसम्म जे-जे भन्यौं, त्यो एउटा ठाउँमा छ । सबैलाई आलोचना गरेर बोल्ने काम भो, यी सबै कुरा जनताले मूल्याङ्कन गरे, त्यही आधारमा जनताले मत दिएका छन', उनले भने, ‘जो जसलाई जनताले चुनेको हो, त्यसलाई स्वीकार गर्नुपर्छ, जनताभन्दा ठूलो कोही हुँदैन् । नचुनएिको व्यक्तिले मन सानो बनाउनुहुँदैन् ।’
मतपेटिका ढुवानी गर्ने गाडी सबैले राम्रोसँग हेर्न पनि साम्पाङले सुझाए। उनले निर्वाचन क्षेत्र सुनसरी १ मा शान्तिपूर्ण ढंगले निर्वाचन भएको र अन्यत्र पनि केही न्यून स्थानमा सामान्य विवाद बाहेक निर्वाचन शान्तिपूर्ण ढंगले सफल भएको बताए । उनले निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय र अन्य निर्वाचनसँग सम्बन्धित सरोकार राख्नेलाई धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १८:१६ बिहीबार





