२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

महिलालाई रोजगारी दिने उद्योगलाई विशेष कर्जा सहुलियत

कम्तीमा सय महिलालाई रोजगारी दिने निर्यातमूलक उद्योगलाई न्यूनतम ब्याजदरमा कर्जा दिइने भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा १ प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्न सकिने व्यवस्था छ।

यस्तै, जेन-जी पुस्ताका प्रदर्शनका क्रममा असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा ०.५० प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा दिन सकिने व्यवस्था छ।

त्यस्तो कर्जा १ वर्ष वा संस्था सञ्चालनमा आउने अवधिमध्ये जुन कम हुन्छ, त्यो अवधिसम्म प्रवाह गर्नुपर्नेछ। यस्तो कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्म २ प्रतिशत ब्याज सरकारबाट अनुदानमा प्राप्त हुनेछ। यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।

जेन-जी प्रदर्शनबाट प्रभावित उद्योग, व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा दिँदा ऋण मूल्य अनुपात ८० प्रतिशत तोक्न सकिने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ।

रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित इजाजत प्राप्त संस्थाले व्यवसायमा परेको प्रभाव यकिन गरी आगामी पुस मसान्तभित्र पुनरतालिकीकरण गर्न सक्नेछ। पुनरतालिकीकरण गरिएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमा वर्गीकरण हुनेछ। रासस

प्रकाशित: ११ आश्विन २०८२ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App