अर्थमन्त्री रामेश्वर खनाललाई पर्वत शालिकराम पौडेलले सचिव फेरेरमात्रै काम थाल्न सुझाएका छन् । नवनियुक्त मन्त्री खनालले पदभार ग्रहण लगत्तै पुगेका पौडेलले आक्रोश हुँदै आफ्ना कुरा राखे । उनको कुरालाई केहीबेरमा सुन्ने आसयको कुरा गर्दा उनले जंघिएर भने, ‘सुन्नुस्, हाम्रो पनि कुरा छन् यहाँ । हामीले पनि आन्दोलन गरेका हौं । हामी त्यसै आएका हौं र ? तपाईं त्यसै मन्त्री भएको हो र ?’ यस्तै आक्रोश पोखेपछि मन्त्री खनालले एकछिन उहाँलाई बोल्न दिउँ भनेपछि उनले आफ्ना कुरा राखिरहे ।
अर्थमन्त्री नजिक पुगेका उनले अर्थसचिवको विगतको भूमिका कोट्याउँदै भने, ‘यस्ता बद्मास बद्मास भएकाले यस्तो आन्दोलन भएको हो । यस्तालाई हटाएर मात्रै काम काम थाल्नुहोस् ।’
आक्रोशित पौडेलले अघिल्लो सरकारले ल्याएको बजेट चित्त बुझ्दो नभएको, ७७ जिल्लालाई बिर्सेर सात जिल्लालाई मात्र बजेट हालेको भन्दै एक श्वासमा आक्रोश पोखे । उनले अर्थसचिव घनश्याम उपाध्यायलाई औंला उठाउँदै भने, ‘‘यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा अर्थसचिव उहाँ नै हो नि, होइन ? यो देशमा ७७ जिल्ला छन् कि ७ वटा छन् ? तपाईं यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?,’ उनले एक पछि अर्को गर्दै उनले प्रश्न उठाए ।
सुरक्षाकर्मीले पटक पटक उनलाई रोक्न खोजेका थिए । तर पौडेलले लगातार काम गर्ने हो भन्दै पेलेरै आफ्ना कुरा राखे । अर्थमन्त्रीले सचिवले उहाँ कोहो भन्दै सोध्दा सचिव उपाध्यायले मलाई थाहा छैन भनेका थिए । त्यसपछि अर्थमन्त्रीले म मिलाउँला, पछि हेरौँला भनेका थिए ।
मन्त्रालयमा पदभार ग्रहणपछि आफूले गरेका निर्णय यस्तै विषयमा केन्द्रित रहेको भन्दै मन्त्रीले यी समस्या समाधान हुने बताएका थिए ।
मन्त्री खनालले यहीबीचमा हात मिलाउँदै परिचय माग्दा उनले भन्छन्, ‘शालिकराम पौडेल, पर्वत ।’
पौडेलको उपस्थितिले विषयान्तर भएपछि यो छलफल यही टुंगिएको घोषणा गरी सबै त्यहाँबाट उठ्छन् ।
प्रकाशित: ३० भाद्र २०८२ १५:०० सोमबार





