चितवनको माडी नगरपालिका–३ का ओमप्रकाश महतो व्यावसायिक कृषक हुन् । महतोलाई विगतमा धान लगाएर लगानी उठाउन धौ–धौ हुन्थ्यो । ३० वर्षदेखि धान खेती गर्दै आएका उनले यस पटक भने नसोचेको धान उत्पादन गर्न सफल भए । महतो भन्छन्, ‘एक बिघामा धान लगाएको थिएँ । विगतका वर्षमा प्रतिकट्ठा तीन मुरीभन्दा बढी धान उत्पादन भएको थिएन तर यसपटक अहिलेसम्मकै बढी प्रतिकट्ठा चार मुरीसम्म फल्यो ।’
धान खेती सम्बन्धी तालिम लिएका महतोेले यस पटक हर्दिनाथ ६ जातको धान लगाएका थिए । धानको नयाँ जात र मौसमका कारण उत्पादन बढेको उनको अनुमान छ । ‘यस पटक धान राम्रोसँग फले पनि पानीले सबै ढाल्छ कि भन्ने थियो– ढालेन,’ उनले भने, ‘यस जातको धानलाई मल जति हाले पनि हुँदो रैछ, यस पटक राम्रो उत्पादन भयो ।’
खैरहनी नगरपालिका–१२ स्थित सिसानीका किसान तेजप्रसाद बर्तौला पनि यतिखेर विगतका वर्षमा भन्दा धानको उत्पादन बढी भएपछि खुसी भएका छन् । उनका अनुसार हर्दिनाथ, हर्दिनाथ ५, चैते ५ लगायतका जातको धानको उत्पादकत्व बढी आएको छ । साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्षसमेत रहेका बर्तौलाले पूर्वी चितवनका किसानले यसपटक राम्रो उत्पादन लिएको बताए ।
‘हामीले प्रतिकट्ठा एक क्विन्टल ८० किलोभन्दा बढी उत्पादन लिन सकेका थिएनौं’, उनले भने, ‘अहिले प्रत्येक किसानले प्रतिकट्ठा दुई क्विन्टलभन्दा बढी उत्पादन लिएका छन् ।’ अहिले किसानले उत्पादन गरेको धानसमेत किसानले खरिद गर्दै आएका छन् ।
कृषि विकास कार्यालयको तथ्यांकले पनि चितवनमा यसपटक धान उत्पादन वृद्धि भएको देखाएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष १५ प्रतिशतले धानमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा एक लाख १४ हजार २४४ मेट्रिक टन धान उत्पादन भएको चितवनमा चालु आर्थिक वर्ष २०८२÷८३ मा एक लाख ३५ हजार ७२५ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षभन्दा यस वर्ष २१ हजार ४८१ मेट्रिक टन धान उत्पादन भएको हो ।
पोडेलका अनुसार चितवनमा चालु आर्थिक वर्ष धानको उत्पादत्वसमेत बढेको छ । ‘यस वर्ष बेमौसमी वर्षाले २४८ मेट्रिक टन धान क्षति ग¥यो तर पनि चितवनमा धानको उत्पादत्व राम्रो देखिएको छ’, उनले भने । उनका अनुसार यस वर्ष प्रतिहेक्टर ४.९५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आवमा प्रतिहेक्टर ४.२० मेट्रिक टन उत्पादन भएको थियो ।
चितवनमा चालु आवमा २७ हजार तीन सय २४ हेक्टरमा धान खेती भएको थियो । त्यसमध्ये ५० हेक्टर क्षेत्रफलमा बेमौसमी वर्षाले क्षति पु¥याएको जानकारी उनले दिए । चितवनमा यस वर्ष कृषि यान्त्रिकरणसँगै सिँचाइको समेत सुविधा पाएका कारण धान उत्पादनमा वृद्धि भएको उनले बताए । ‘गतवर्ष असोजमा अविरल वर्षाले धानको उत्पादनमा ठुलो क्षति पुगेको थियो । यस वर्ष क्षति न्यून भयो’, उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारबाट साना सिँचाइ कार्यक्रम सञ्चालन गरेका छन् । बाह्रै महिना सिँचाइको सुविधा भएपछि यहाँ उत्पादन बढेको देखिन्छ ।’ यस वर्ष धान बालीमा तुलनात्मक रूपमा रोग किराको प्रकोपसमेत कम देखिएको उनले बताए ।
प्रकाशित: ७ मंसिर २०८२ १८:१९ आइतबार





