२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

फेवातालमा जथाभावि ‘कायकिङ तथा सर्फिङ’

हावाहुरीले जोखिम थप्दा दिनहुँ उद्धारको झमेला

पोखरा फेवातालमा संचालन गरिएको कायकिङ र सर्पिङ। तस्बिरः सन्तोष/नागरिक

फेवातालमा पछिल्लो समय एउटा पर्यटकीय गतिविधिमा निकै नै भीडभाड छ। युवापुस्ताका अधिक पर्यटक रमाइरहेको त्यो प्रडक्ट हो–‘कायकिङ र सर्फिङ’। व्यावसायीले कायकिङ र सर्फिङका लागि स्ट्याण्ड अप प्याडल बोट (सुप)प्रयोग गर्छन। पाहुना तिनै बोटमा रमाउँछन्।  

तालमा युवायुवतीलाई रमाउनेगरि संचालन गरिएको कायकिङ र सर्फिङमा जती भीड देखिन्छ, त्यत्ति नै जोखिमपूर्ण पनि बन्दै गएको छ। व्यावसायिक दक्षताबिना जथाभावि रुपमा संचालन गरिएका ती प्रडक्ट मौसमी चपेटामा पर्दा तालमा दिनहुँजसो दुर्घटनामा पर्ने गरेका छन। संचालनको दक्षता नहुँदा पनि जोखिम बढेको व्यावसायीले बताएका छन्। अहिलेसम्मका घटनाबाट मानवीय क्षति नभएपनि जोखिम भने अधिक रहेको पर्यटन व्यावसायीको भनाई छ।  

सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको टोलीले शनिबार मात्र फेवातालबाट कायकिङ र सर्फिङमा फँसेका १२ जना पर्यटकलाई उद्धार गर्यो। यस्ता घटना फेवातालमा अहिले दिनहुँजसो हुने गरेका छन्। यो सिजनमा मध्यान्हपछि पोखरामा हावाहुरी चल्ने र त्यसले तालमा छाल उब्जाउँदा तिनै बोट चपेटामा पर्ने गरेका छन्। तालमा जथाभावि संचालन गरिएका ती साहसिक पर्यटकीय गतिविधिका कारण अहिले तालमा भीडभाड त बढेको छ नै व्यवस्थापन गतिलो नहुँदा जोखिम पनि थपिँदै गएको व्यावसायीले बताएका छन्।  

बेलुकीको शितल समयमा तालमा पानीमाथि तैरिएर रमाउने पाहुना अधिक हुन्छन। तर, पोखरामा दिनहुँजसो चल्ने हावाहुरी र वर्षाका कारण पानीमाथि तैरिएर रमाउने ती कायकिङ र सर्फिङ बोटका पर्यटक जोखिममा पर्ने गरेको व्यावसायीले बताए। 

‘हामीले त बारम्बार स्थानीय प्रशासनलाई यसबारेमा सचेत गराएका छौ। तरपनि बेवास्ता भएको छ। कुनैदिन मानवीय क्षति हुने त्रास छ,’ व्यावसायी निम रानामगर भन्छन, ‘साहसिक गतिविधि हो। तर, यसलाई व्यवस्थित र सुरक्षित तरिकाले संचालन गर्नुपर्छ। जथाभावि संचालन गर्न दिएमा क्षति हुन पनि सक्छ।’

उनका अनुसार अहिले जो कोही व्यावसायीले तालमा कायकिङ र सर्फिङका लागि स्ट्याण्ड अप प्याडल बोट (सुप) संचालन गर्ने गरेका छन्। उनका अनुसार स्थानीय प्रशासनले एकमहिना अघि ती बोट संचालनबारे अनुगमन पनि गरेको थियो। दर्ता बिना संचालन गरिएका ती बोटमा रमाउनेमा अहिले अधिकांश भारतीय पाहुना छन्। पोखरामा यो बेला अधिकमात्रामा भारतीय पाहुना छन। ती पाहुना यिनै बोटमा रमाउने गर्छन। फेवातालको गैराचौतारा क्षेत्रमा यस्ता गतिविधि निकै नै फस्टाएका छन्।  

‘जल पर्यटनको महत्वपूर्ण विधा हो। यो साहसिक गतिविधिमा पर्छ। पछिल्लो समय फेवातालमा निकै नै फस्टाएको पनि छ। खपौदीसम्म पनि संचालन गर्न थालिएको छ। तर, त्यसमा मनदाग्दी हुने गरेको छ,’ उनले भने, ‘कायकिङ र सर्फिङ चलाउनका लागि सीप हुनुपर्छ। त्यत्ति मात्र नभई तालिम प्राप्त गाइडको निर्देशनमा मात्र चलाउनुपर्छ। सुरक्षाका लागि गाइड पनि सँगसँगै पानीमा तैरिनुपर्छ। तर, फेवातालमा मनलाग्दी हुने गरेको छ।’

ती व्यावसायीका अनुसार यो बोट उभिएर मात्र चलाउने हो। तर, धेरैले बसेर र केहीले त सुतेरै पनि आनन्द लिने गरेका हुन्छ। अझ कतिपयले त लाइफ ज्याकेट समेत नलगाई पानीमा रमाउने गरेको उनले बताए। एकजना मात्र रमाउन मिल्ने यो बोटमा दुईजना समेत बस्ने गरेका छन। त्यसले ओभरलोडको जोखिम बढाएको पनि उनले बताए। ‘जोखिमपूर्ण तरिकाले संचालन भईरहेका छन। बेलाबेला मान्छे खसेर डुब्ने समेत गरेका थिए। बेलैमा उद्धार नभए त ज्यानै पनि जान्छ। लाइफ ज्याकेट नलगाएको अवस्थामा बढि जोखिमपूर्ण हुने गर्छ,’ उनले भने,  ‘हावाहुरीको समयमा तालमा छाल उत्पन्न हुँदा समस्या पर्ने गरेको छ।’

उनका अनुसार सरकारी निकायबाट तालिम लिएको गाइडले मात्र यस्ता गतिविधि गराउने हो। तर, यहाँ गाइडबिना बोट किनेर एकैपटक तालमा मान्छे पठाउने समेत गरिएको छ। ‘पर्यटकको बिमा पनि हुनुपर्छ। साहसिक गतिविधि भएको नियमनमा रहेर चलाउनुपर्छ। पानीमाथि रमाउनुलाई सामान्य मान्नु हुँदैन। जोखिम उत्तिकै छ,’ उनले भने, ‘रिभर गाइडको तालिम लिएर लाईसेन्स लिएर मात्र यो बोट संचालन गर्न पाइन्छ। पर्यटकको सुरक्षामा पूर्ण रुपमा ध्यान दिनुपर्छ।’  

उनका अनुसार अहिले व्यक्ति र संस्थाले तालमा यो व्यावसाय खुलमखुला संचालन गर्दै आएका छन्। ती मध्ये अधिकांशसँग गाइड पनि छैनन। एक घण्टाको पाँचसय रुपैयाँसम्म शुल्क लिने भएपनि पछिल्लो समय प्रतिश्पर्धा बढेसँगै दुईसय रुपैयाँमा पनि चलाउन दिने गरिएको छ। कतिपय व्यवासायीले त दर्ता पनि कतै गरेका छैनन। कतिपयले त महानगरको वडा कार्यालयमा दर्ता गरेको भरमा मात्र पनि संचालन गर्दै आएका थिए।  

फेवा डुंगा व्यावसायी संघका अध्यक्ष बलराम गिरीले पनि फेवातालमा अहिले हावाहुरी र वर्षाको कारण कायकिङ र सर्फिङ बोटको यात्रा जोखिमपूर्ण बन्दै गएको बताए। ‘हामीले बारम्बार प्रशासन गुहारेका छौ। तर, सुनुवाई भएको छैन। दिनहुँजसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने, त्यही छालमा सर्फिङ बोट पल्टिने गरेका छन,’ उनले भने, ‘जोडतोडको हावा र छालले त मान्छे सहित बोटलाई नै उडाउने गरेको छ। यसलाई नियमन नगर्ने हो भने तालमाथिको रोमाञ्चक यात्रा जोखिमपूर्ण बन्नेछ।’  

उनका अनुसार हावाहुरी आउने संकेत देखिएपछि व्यावसायीले दिउँसो ३ बजेपछि डुंगा चलाउन रोक्ने गरेका छन्। तर, ती सर्फिङ बोट भने संचालन भईरहेका हुन्छन।

 ‘तालमा डुंगाका यात्रुको सुरक्षा र उद्धारका लागि खटिएको सशस्त्र प्रहरीलाई पनि हैरान भएको छ। दिनहुँजसो उद्धारमा खटिनुपरेको छ,’ उनले भने, ‘अरुभन्दा पनि मानवीय क्षति हुने त्रास छ। यसलाई बेलैमा रोक्न नसक्ने हो भने क्षति भोग्नुपर्ने हुनसक्छ।’

मनलाग्दी तरिकाले तालमाथि जल पर्यटनका गतिविधि गरेको गुनासो आएपछि कास्की प्रशासनले एकमहिना अघि त्यहाँ अनुगमन समेत गरेको थियो। त्यो बेला २३ वटा व्यावसायलाई अनुगमन गर्दा अधिकांशले दर्ता नै नगरि संचालन गरेको पाइएको थियो। प्रशासनको अनुगमनपछि २० वटाले प्रशासनमा सम्पर्क राखेर कागजात पेश गरेका थिए। 

‘व्यवस्थित नभएको र सुरक्षाको मापदण्ड पालना नगरेको गुनासो आएपछि अनुगमन गरिएको थियो। तर, त्यसमा सुधार आएको पाइएको छैन। हामीले पोखरा महानगरसँग समन्वय गरेका छौं,’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने, ‘महानगरलाई नियमन गर्न भनेका छौ। तर, अब ढिला हुनै थालेको छ। हामीले बन्द गराउने गरि योजना बनाउँदैछौ।’

महानगरले व्यवस्थित तरिकाले संचालन गर्नेगरि दर्ता गरेमा संचालन गर्न दिइने नत्र बन्द गराउने उनले बताए। ‘व्यावसाय संचालन गर्दा पर्याप्त सुरक्षा सावधानी अपनाइएको छैन। त्यसैले समय समयमा दुर्घटना भई उद्दार समेत गर्नुपरेको छ,’ उनले भने, ‘अब पनि हेलचेक्रयाँइ भएको पाइएमा कारवाहि हुन्छ। प्रशासनले संचालनमा रोक नै लगाउँछ।’ 

पानीमाथि रमाउने साहसिक गतिविधि भनेर असुरक्षित हुन नहुने उनले बताए। ‘सुरक्षाको व्यवस्थामा हेलचेक्रयाँइ गर्न मिल्दैन, पर्यावरणीय सुन्दरता र स्वच्छता कायम राख्न, पर्याप्त सुरक्षा सतर्कता अपनाउन, हावाहुरीको समयमा सुरक्षा जोखिम हेरी विशेष सतर्कता अपनाउन समेत प्रशासनले निर्देशन दिएको छ,’ उनले भने, ‘महानगरले कदम नचालेमा हामी कारवाही गर्छाै।’  

प्रकाशित: २४ जेष्ठ २०८३ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App