२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

विश्व योगासनमा नेपालको ‘गोल्डन’ प्रदर्शन

भारतको गुजरातस्थित अहमदाबादमा सञ्चालन भइरहेको ‘विश्व योगासन च्याम्पियनसिप २०२६’ मा नेपालले अभूतपूर्व सफलता हासिल गरेको छ।

विश्वका ७८ मुलुकका करिब २ हजार उत्कृष्ट खेलाडीहरू सहभागी रहेको यस प्रतियोगितामा नेपाली खेलाडीहरूले स्वर्णसहित आधा दर्जनभन्दा बढी पदक जितेर विश्व मञ्चमा देशको झन्डा फहराएका हुन्।

अहमदाबादको प्रख्यात ईकेए एरिना (ट्रान्सस्टाडिया स्टेडियम) मा जारी यस च्याम्पियनसिपमा नेपालको तर्फबाट ४४ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

शरीरको अद्भुत लचकता, मानसिक एकाग्रता र सन्तुलनको कसीमा हुने यस खेलमा नेपाली टोलीले आफ्नो विधागत कौशल देखाउँदै ऐतिहासिक उपलब्धि हात पारेको हो।

राजेन्द्र रिमाल र दुर्गा पन्त नेपालका लागि सबैभन्दा सफल खेलाडीका रूपमा उदाए। रिमालले सिनियर ‘सी’ विधाअन्तर्गत दुईवटा स्वर्ण पदक जिते। उनले ‘फर्वार्ड बेन्डिङ’ र ‘ब्याक बेन्डिङ’ दुवै विधामा स्वर्ण पदक जित्दै आफ्नो अपराजित कौशल प्रमाणित गरे।

त्यस्तै, महिला विधामा दुर्गा पन्तले नेपालका लागि स्वर्ण, रजत र कांस्य गरी तीनवटै पदक दिलाएकी छिन्। उनले महिला सिनियर ‘सी’ को ‘फर्वार्ड बेन्डिङ’ मा स्वर्ण पदक, ‘ट्विस्टिङ बडी’ मा रजत र ‘ह्यान्ड ब्यालेन्स’ मा कांस्य पदक जित्न सफल भइन्।

रजत र कांस्य पदकको सूचि नेपालका लागि मञ्जु तोलाङ्गेले दुईवटा रजत पदक थपेकी छिन्। उनले महिला सिनियर ‘ए’ विधाको ‘ह्यान्ड ब्यालेन्स’ र ‘लेग ब्यालेन्स’ विधामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदकमा कब्जा जमाइन्।

अर्की खेलाडी जनुका भट्टराईले पनि महिला सिनियर ‘सी’ विधामा रजत पदक प्राप्त गरेकी छिन्।

पुरुषतर्फ तारा निधि पन्तले सिनियर ‘सी’ को ‘ह्यान्ड ब्यालेन्स’ मा कांस्य पदक जितेका छन् भने नवराज ढुङ्गानाले ‘ट्विस्टिङ’ विधामा कांस्य पदक जितेर नेपालको पदक तालिकालाई थप मजबुत बनाए।

प्रतियोगिताका अन्य थुप्रै विधाहरू अझै बाँकी रहेकाले नेपालको पदक सङ्ख्या अझै बढ्ने प्रबल सम्भावना रहेको नेपाली टोलीका व्यवस्थापकले जनाएका छन्।

प्रकाशित: २४ जेष्ठ २०८३ २१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App