२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

अन्तरदेशीय डिजिटल भुक्तानीसहित यी तीन विषयमा नेपाल–भारतबीच समझदारी

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली गएका मन्त्री खनालले विमानस्थलमा आयोजित प्रेस ब्रिफिङका क्रममा आफ्नो भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरे।

भ्रमणका क्रममा नेपाल र भारतबीच तीनवटा महत्त्वपूर्ण संयुक्त घोषणा एवं समझदारी भएका छन्। मन्त्री खनालका अनुसार नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच यसअघि भएको समझदारी कार्यान्वयन गर्दै अन्तरदेशीय ‘पिटुपी’ भुक्तानी लेनदेन प्रक्रियाको औपचारिक सुरुवात गरिएको छ।

यसबाट दुवै देशका नागरिकलाई एक–अर्को देशमा डिजिटल माध्यमबाट रकम पठाउन र प्राप्त गर्न सहज हुनेछ।

त्यसैगरी, भारत सरकारको विकास सहयोगमा नेपालमा भूकम्पपछि पुनःनिर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक सम्पदाका परियोजनाहरू औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने गरी काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र भारतको ‘डिजिटल इन्डिया भाषिनी डिभिजन’ बीच ‘भ्वाइस फस्ट’ भाषा अनुवाद प्लेटफर्मको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी भाषा अनुवादलाई सहज बनाउने गरी राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणमा यो सहकार्य केन्द्रित रहने बताइएको छ।

नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भएको थियो। सो अवसरमा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदका माध्यमबाट जनस्तरीय सम्बन्ध अभिवृद्धि गर्ने जस्ता विषयमा गहन छलफल भएको थियो।

दुवै पक्षले द्विपक्षीय परियोजनाहरूको प्रगतिको समीक्षा गर्दै तिनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

मन्त्री खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरी सुरक्षा चासो र सीमा व्यवस्थापनका विषयमा छलफल गरेका थिए। भेटका क्रममा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदानप्रदान भएको थियो।

यस्तै, मन्त्री खनालले ‘इन्डिया फाउन्डेसन’ द्वारा आयोजित विशेष कार्यक्रममा नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूबारे प्रकाश पार्दै ऊर्जा, व्यापार र सीमा लगायतका साझा चासोका विषयमा प्रबुद्ध व्यक्तित्वहरूसँग अन्तर्क्रिया गरेका थिए।

स्वदेश फर्कनुअघि मन्त्री खनालले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको भ्रमण गरी भारतमा रहेका नेपालीहरूको हित रक्षाका लागि प्रतिबद्ध भएर लाग्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

उनले दूतावासमा आयोजित मिडिया अन्तर्क्रियामा भारतीय सञ्चारमाध्यमलाई नेपालका प्राथमिकता र चासोबारे जानकारी गराएका थिए। भ्रमणबाट फर्किएका मन्त्री खनालले नेपालको सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिलाई सशक्त ढङ्गले अभिव्यक्त गर्न पाएको भन्दै खुसी व्यक्त गरे।

यस भ्रमणले व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने र पर्यटन प्रर्द्धनका क्षेत्रमा परिणाममुखी सहकार्यका लागि बलियो आधार तयार गरेको मन्त्री खनालको ठम्याइ छ।

क्षेत्रीय स्थायित्व, आपूर्ति शृङ्खला सुरक्षा र ऊर्जा साझेदारी जस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत भारतीय पक्षसँग सकारात्मक धारणा आदानप्रदान भएको उनले जानकारी दिए।

प्रकाशित: २४ जेष्ठ २०८३ २२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App