नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गरेर ‘प्रि-टेस्टिङ’ सुरु गरेको छ। निगमले पोखरा विमानस्थल परिसरमा रहेको अत्याधुनिक डिपोको भण्डारण ट्यांकमा हवाई इन्धन राखेर बिहीबार परीक्षण गरेको हो।
प्रि–टेस्टिङ पास भएपछि नयाँ डिपोबाट हवाई जहाजमा इन्धन दिन सुरु गर्ने पोखरा हवाई इन्धन डिपो परियोजनाका प्रमुख प्रदीप यादवले बताए। ‘अब केन्द्रीय कार्यालयलाई हस्तान्तरण गर्ने तयारी छ’, यादवले भने, ‘अब करिब दुई हप्तापछि जहाजमा हवाई इन्धन दिन सुरु हुन्छ।’
अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नवनिर्मित अत्याधुनिक हवाई इन्धन डिपो सञ्चालनको प्रक्रिया अघि बढेको छ। निगमले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि डिपो निर्माण गरेको छ। निगमले पुरानो विमानस्थलको सानो डिपोबाट इन्धन ल्याएर नयाँ विमानस्थलमा जहाजलाई इन्धन भर्दै आएको थियो।
पोखरा विमानस्थलसँगै आयल निगमले ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको छ । करिब ७५ करोड रूपैयाँ खर्चेर विमानस्थल नजिकै डिपो बनाएको हो। १२ लाख लिटरका तीन वटा हवाई इन्धन ट्यांकसहित अत्याधुनिक डिपो निर्माण भएको छ।
पोखरामा सिजनमा दैनिक १८ हजारदेखि २२ हजार लिटरसम्म इन्धन खपत हुन्छ। पोखराको पुरानो विमानस्थलमा ६४ हजार लिटर क्षमताको मात्रै हवाई इन्धन भण्डारण क्षमता रहेको थियो। निगमले अहिलेसम्म घरेलु विमानस्थलबाट करिब साढे ६ किलोलिटरको दूरीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा घरेलु विमानस्थलकै हवाई इन्धन डिपोबाट डिस्पेन्सरमा ल्याई बाउजरमा सारेर जहाजमा हवाई इन्धन भर्ने काम गर्दै आएको छ। पुरानो विमानस्थलमा रहेको डिपो परिसरमा १६–१६ किलोलिटरका चार वटा हवाई इन्धन भण्डारण गर्ने अन्डर ग्राउन्ड ट्यांक रहेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी हवाई कम्पनीको चाप बढेसँगै हवाई इन्धनको खपत पनि बढ्ने अनुमान छ। नयाँ डिपो निर्माण गरेपछि बढ्दो मागअनुसार जहाज कम्पनीलाई हवाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगम सक्षम हुनेछ।
डिपो २०८० साउन पहिलो साता निर्माण सुरु गरेर गत असारमा निर्माण सम्पन्न भएको थियो। नेपाली निर्माण व्यवसायीले यो डिपो भारतीय निर्माण कम्पनीसँगको सहकार्यमा निर्माण गरेका हुन्। निगमको आफ्नै लगानी र स्वदेशी निर्माण व्यवसायी तथा प्राविधिकले हवाई इन्धन डिपो निर्माण गरेको यो पहिलो पटक हो।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई इन्धन डिपो निर्माण गरिएको नेपाल आयल निगमले जनाएको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका विमानलाई सेवा दिन सहज हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए।
नयाँ डिपोमा सम्भावित आगजनी दुर्घटनाको पूर्व सर्तकताका लागि १२–१२ सय किलोलिटरका दुई वटा पानी ट्यांक पनि निर्माण गरिएको छ। डिपोमा पम्प हाउस, अफिस भवन, ल्याब लगायतका संरचना निर्माण भएका छन्।
हवाई इन्धन अतिसंवेदनशील वस्तु भएकाले यसको गुणस्तर र सुरक्षामा विशेष ध्यान पुर्याउने गरी आवश्यक पूर्वाधार निर्माण गरिएको छ। हवाई इन्धन डिपो पूर्ण स्वचालित प्रणालीमा निर्माण गरिएको छ। अबका दिनमा हवाई इन्धन बिक्री थप व्यवस्थित गर्न सहज हुने निगमले जनाएको छ।
आयल निगमसँग काठमाडौंमा सात हजार सात सय १०, विराटनगरमा दुई सय ८०, भैरहवामा ५६, पोखरामा ६४, नेपालगन्जमा दुई सय ८०, सुर्खेत ६०, धनगढीमा ४५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ। निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, झापा भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, सिमरा, जनकपुरलगायतका विमानस्थलमा हवाई इन्धन डिपो छ।
निगमले सिमरा, मन्थलीमा अस्थायी रूपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ। विमान उडानको चाप भएका कपितय विमानस्थलमा बाहिरबाट ट्यांकरमा हवाई इन्धन ल्याएरसमेत भर्ने गरिएको छ।
दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु, रामेछाप, रुकुम चौरजहारी, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु, तुम्लिङटार विमानस्थल संखुवासभा लगायतका विमानस्थलमा हवाई इन्धन डिपो छैन। डिपो नभएका विमानस्थलमा हवाई जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन उडान सुरु हुने विमानस्थलबाटै बोकेर जाने गरेका छन्।
प्रकाशित: १२ मंसिर २०८२ ०९:५२ शुक्रबार





