१६ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दीकाे मालिका गाउँपालिका–७ प्रभुचेला ‘ योगध्यान केन्द्र’ का रूपमा विकास भएको छ। बस्तीदेखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव व्यवस्थापनका लागि मानिसहरू ‘ध्यान’ गर्न आउन थालेका हुन्।

प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान गर्ने थलोका रूपमा विकास भएको प्रभुचेला धुरी ध्यानाश्रम समितिका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले बताए।

“परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला आधुनिक समाजको व्यस्त जीवनशैलीबाट टाढा भएर तनाव व्यवस्थापनका लागि मेडिटेसन गर्नेहरूका लागि उपयुक्त गन्तव्यका रूपमा विकास भएको छ”, उनले भने, “सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर खाने, बस्ने र योगध्यान गर्ने ठाउँ बनाएपछि यहाँ आउनेहरूलाई सहज भएको छ।”

समितिको आयोजनामा आइतबार प्रभुचेलामा आहार, विहार, विचारसम्बन्धी योग शिविर सम्पन्न भएको छ। म्याग्दी र पर्वतका ५० योग साधकको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको शिविरमा आर्युवेद चिकित्सक डा. बिपी तिम्लिसिनाले योग, ध्यान र तनाव व्यवस्थापनसम्बन्धी प्रवचन दिएका थिए।

शान्त र एकान्त वातावरणमा योग ध्यान गर्दा तनाव भुलेर उमङ्ग पैदा भएको योगसाधक सन्दीप खत्रीले अनुभव सुनाए। परापूर्वकालमा ऋषिमुुनिहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको चार वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो। सामुदायिक ध्यान केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको एक करोड रुपैयाँभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ।

गोलघर र आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किँदा आश्रय लिन सहज भएको छ। बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे। स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० सालदेखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन्। प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु थप विशेषता छ। समुद्र सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ।

प्रकाशित: १६ चैत्र २०८२ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App