३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

पोखराको पर्यटनः अबको एकसातालाई पाहुना पर्याप्त

९० प्रतिशतसम्म बुकिङ भईसक्योः व्यावसायी

सराङकोटबाट देखिएको पर्यटकीय सहर पोखरा। तस्बिरः सन्तोष/नागरिक

अबका केहीदिन पोखराका सबैजसो होटल स्वदेशी तथा विदेशी पाहुनाले भरिभराउ हुनेछन्। पर्यटन क्षेत्रमा यो बेला अफसिजन मानिन्छ। तर, पोखराले अफसिजनको यही मौका सदूपयोग गर्दै अढाईदशक अघिदेखि सडक महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको त्यही बहानामा पोखरा घुम्न आउने पाहुनाको यो बेला घुइँचो लाग्ने गर्छ। महोत्सवताका पोखरा आउने पाहुनाले गरेको बुकिङका कारण होटल पाहुनामय हुनेछन्।

‘अबका केहीदिन पोखराका सबै होटलमा पाहुना हुनेछन। सानादेखि ठुला आकारका होटलले यो अवधिका लागि पाहुना पाउनेछन। पोखराले मात्र नभई आसपासका क्षेत्रका होटलले पनि पर्याप्त पाहुना पाउनेछन,’ लेकसाइडका होटल व्यावसायी नरेश भट्टराई भन्छन, ‘तीनदिनका लागि त पाहुना खाँचो नै हुँदैन। त्यसपछि भने बिस्तारै आगमन घट्न थाल्नेछ, एकसातासम्म प्रभाव रहिरहन्छ। अहिलेका लागि पाहुना आगमनको अवस्था उत्साहजनक देखिएको छ।’

उनका अनुसार अहिले भारतीय र आन्तरिक पाहुनाको पोखरामा भीडभाड बढिसकेको छ। योपटक अघिल्ला वर्ष भन्दा भारतीय पाहुनाको आगमन उत्साहजनक देखिएको छ। जेनजी आन्दोलनपछि भारतीय पाहुनाको आगमन कमजोर देखिएको थियो। तर, यो बेलाका लागि भने पोखराले पर्याप्त आकारमा भारतीय पाहुना पनि पाएको छ।  

‘सोचेभन्दा राम्रो आकारमा योबेला भारतीय पाहुना पनि आएका छन्। आन्तरिक पाहुनाको आगमन पनि उत्साहजनक नै देखिएको छ। अबका तीनदिनका लागि त पाहुना अभाव हुँदैन। त्यसपछि भने पाहुना घट्दै जान्छन,’ माउन्ट कैलाश रिसोर्टका संचालक समेत रहेका उनले भने, ‘भारतीय पाहुनाको आगमन उत्साजहनक हुँदा व्यावसायी हौसिएका छन।’ आन्तरिक र भारतीय को मात्र नभई तेश्रो मुलुकका पाहुनाको आगमन पनि सोचे भन्दा राम्रो रहेको उनले सुनाए।

उनका अनुसार यो पटक पोखरामा क्रिसमसदेखि नै आन्तरिक पाहुनाको चहलपहल बढ्न थालेको थियो। ‘आन्तरिक, भारतीय र तेश्रो मुलुकका पाहुनाको आगमन यो पटक क्रिसमसदेखि नै राम्रो थियो। अहिले पनि पाहुना आगमन उत्साहजनक देखिएको छ,’ उनले भने। उनका अनुसार योपटक पाहुना आगमन बढ्नुमा सबैभन्दा महत्वपूर्ण कुरा पूर्वाधारमा सुधार भएर हो। ‘यो पटक दसैंताका बाढीपहिरोको त्रासले हिडडुल रोकियो। पोहोर–परारसम्म त राजमार्गकै यात्रा सकसपूर्ण थियो। तर, अहिले पहुँच राम्रो भएकोले आन्तरिक र भारतीय पाहुना राम्रो आकारमा आएका छन,’ उनले भने।  

भट्टराईका अनुसार पोखरामा पछिल्लो समय होटलको संख्या पनि थपिएको छ। त्यसबाहेक आसपासका डाँडाकाँडामा पनि होटल र होमस्टे संचालन गरिएको छ। पोखरा आसपासका डाँडाकाँडामा संचालित होटल र  होमस्टेले पनि यो बेला पर्याप्त आकारमा पाहना पाउने उनले बताए। ‘लेकसाइड र डाँडाकाँडाका होटलमा पनि पाहुना पुग्छन। ती ठाउँसम्म पनि पहुँच सहज भएको छ। बाटो बनेकोले गर्दा आउजाउमा सहजता हुँदा अहिले गाउँगाउँका पर्यटकीय पूर्वाधारमा पाहुना बस्न पुगेका छन,’ उनले भने।  

उनका अनुसार केहीवर्ष अघिसम्म लेकसाइडमा मात्र पाहुना सीमित हुन्थे। तर, अहिले पाहुनाहरु डाँडाकाँडासम्म छरिएका छन,’ उनले भने, ‘पाहुना आगमनको लाभ पोखरा र आसपासका पर्यटकीय गन्तव्यले पनि लिएका छन।’ अहिलेसम्मको अवस्थामा पोखराभित्रका होटलका करिब ९० प्रतिशत कोठा आगामि तीनदिनका लागि भरिएको पनि उनले बताए।

‘बास नै नपाउने भन्ने त होईन। पोखरा सेरोफेरोमा पनि होटल र होमस्टे संचालनमा रहेकोले पाहुनालाई बसोबासमा समस्या हुँदैन। लेकसाइडकै होटलमा पनि कोठा त छन। तर, ठुला होटल भरिभराउ भईसकेका छन। तीनदिनको भीडभाड पोखराको सडक महोत्सव सकिएसँगै घट्दै जानेछ,’ उनले भने।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि अबका एकसाता पोखरालाई पाहुना अभाव नहुने बताउँछन । उनका अनुसार यो पटक एकसातादेखि नै पोखरामा पाहुनाको चहलपहल बढिसकेको छ। ‘अघिल्ला वर्ष महोत्सवको यो समयमा डिसेम्बरको अन्तिम दुईरातका लागि मात्र पोखराका होटलमा पाहुना पर्याप्त हुन्थे। ती बाहेक अरु दिन पाहुना भरिभराउ हुँदैनथे,’ सुवेदी भन्छन, ‘तर योपटक भने अवस्था फरक छ। अहिले नै पाहुना खचाखच भईसकेका छन। अबका एकसाताका लागि पाहुना अभाव हुँदैन। जनवरीको सुरुवाती केहीदिनपछि बल्ल आगमन कमजोर हुँदै जान्छ।’  

भारतीय र आन्तरिक पाहुनाका कारण यो पटक चहलपहल बढेको उनले बताए। जेनजी आन्दोलनपछि भारतीय पाहुनाको आगमन कमजोर रहेको भएपनि अब भने आगमन बढिसकेको उनले बताए। ‘पाहुना आगमन बढेकै कारण एकसाता अगाडि र एकसाता पछाडिसम्मको चहलपहल राम्रो देखिएको छ,’ उनले भने। उनका अनुसार अहिले पोखराका चल्तीका र ठुला आकारका होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारीमा पुगिसकेको छ भने अरु साना र मझौला आकारका होटलको अकुपेन्सी पनि ७५ प्रतिशत हाराहारीमा पुगिसकेको उनले बताए। ‘ठुला होटलका त महिनौ अघि बुकिङ भएका पाहुना पनि छन। मझौला र साना आकारका होटलले भने भारतीय र आन्तरिक पाहुना पाएका छन,’ उनले भने।

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि यो बेला पोखराले पर्याप्त पाहुना पाएको बताए। ‘सोचेभन्दा राम्रो आकारमा पाहुना आएका छन। यसले पोखरामा चहलपहल थपेको छ,’ उनले भने, ‘भारतीय र आन्तरिक पाहुनाको आगमन उत्साहजनक देखिएको छ।’ उनले पनि अबका एकसाताका लागि पोखराले पाहुना अभाव खेप्नु नुपर्ने बताए। पोखरा आसपासका होटलले समेत यो अवधिमा राम्रो आकारमा पाहुना पाउने भएकोले समग्र पर्यटन क्षेत्रले लाभ पाउने देखिएको उनले बताए।

प्रकाशित: १४ पुस २०८२ १७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App