१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

क्रिकेट महासंग्राम आज: भारत र पाकिस्तान भिड्दै

आइसीसी टि-२० विश्वकप अन्तर्गत आइतबार क्रिकेट जगतकै सबैभन्दा प्रतीक्षित मानिने भारत र पाकिस्तानबीचको भिडन्त हुँदैछ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने यस खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

खेलको टस साँझ ६:४५ बजेका लागि तय गरिएको छ। हाल कोलम्बोमा भइरहेको वर्षाले खेल बिथोल्न सक्ने आशङ्का समेत गरिएको छ। यद्यपि, खेल सुरु हुने समयमा वर्षाको सम्भावना १० प्रतिशत मात्र रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

सन् २००७ को पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई नै हराएर उपाधि जितेको भारतले सन् २०२४ मा पनि विश्वकपको उपाधि उचालिसकेको छ। पाकिस्तान सन् २००९ को च्याम्पियन हो भने २००७ र २०२२ मा उपविजेता बनेको थियो।

विश्वकपको इतिहास हेर्दा यी दुई टोलीबीच भएका ८ खेलमध्ये भारतले ७ खेल जितेको छ भने पाकिस्तानले मात्र १ खेलमा जित निकालेको छ। समग्र टि-२० अन्तर्राष्ट्रियमा पनि १६ खेलमध्ये भारत १३ र पाकिस्तान ३ खेलमा विजयी भएका छन्।

भारतीय टोलीका लागि युवा अलराउन्डर अभिषेक शर्मा पूर्ण रूपमा फिट भई टोलीमा फर्किएका छन्। पेटमा संक्रमणका कारण अघिल्लो खेल गुमाएका उनी आजको प्लेइङ-११ मा पर्ने सम्भावना प्रबल छ।

भारतीय ब्याटरहरूका लागि पाकिस्तानी स्पिनर उस्मान तारिकको रिएक्सन बलिङ र स्पीड भेरिएसन मुख्य चुनौती बन्न सक्छ।

कोलम्बोको पिच दोस्रो इनिङ्समा केही खस्रो हुने र बल टर्न हुने प्रकृतिको छ। यहाँ टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने सम्भावना बढी छ।

किनकि, पछिल्ला तीन खेलमा पहिले ब्याटिङ गर्ने टोली नै विजयी भएका छन्। कोलम्बोमा शीत नपर्ने भएकाले दोस्रो इनिङ्समा ब्याटिङ गर्न कठिन हुनसक्छ।

यदि वर्षाका कारण खेल हुन नसकेमा दुवै टोलीले १-१ अङ्क बाँड्नेछन्। यस खेलका लागि कुनै ‘रिजर्भ डे’ राखिएको छैन।

प्रकाशित: ३ फाल्गुन २०८२ १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App