जेनजी आन्दोलनका बेला पूर्ण रूपमा ध्वस्त भएको गोदावरी नगरपालिका बाँडेगाउँमा अवस्थित प्रहरी प्रभाग बाँडेगाउँको भवन निर्माण सुरु भएको छ।
गोदावरी नगरपालिकाको वडा नं.१४ मा अवस्थित उक्त प्रभागको भवन गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले आइतबार शिलान्यास गरे। शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रहरी नागरिकको साथी भएको बताउँदै यो प्रहरी भवन बनाउन नागरिकको सक्रिय सहभागिता र भूमिका हुनेमा आफू निश्चिन्त भएको प्रष्ट पारे। उनले भने, ‘प्रहरी नागरिकको सुरक्षाको लागि खटिनु हुन्छ, उहाँहरू यो भवनमा बसेर कार्य सम्पादन गर्नुहुन्छ, त्यसैले यो हाम्रो भवन हो, आफ्नै घर सम्झेर यसलाई बनाउँ।’
नागरिकमा प्रहरीप्रति गलत धारण भएको बताउँदै नागरिक र प्रहरीबीचको सम्बन्ध मजबुत बनाउनु पर्ने धारणा राखे। नगर प्रमुख महर्जनले यो प्रभागको भौतिक संरचना नहुँदा शान्ति सुरक्षामा प्रभाव पर्न सक्ने औल्याउँदै प्राथमिकतामा राखेर निर्माणलाई अघि बढाएको जिकिर गरे।
वि.सं.२०२५ सालमा समुदायको सुरक्षाका लागि प्रहरी भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएका थिए। नगर प्रमुख महर्जनले यो प्रहरी भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनेलाई नगरपालिकाले सम्मान गर्ने बताए। यो प्रहरी प्रभागले नगरको वडा नं.१, २, ३, ४ र १४ लाई प्रत्यक्ष रूपमा सुरक्षा प्रदान गर्छ। प्रभागको यो भवन निर्माणका लागि यी वडाहरूलाई विकास बजेटका अन्य शीर्षकबाट रकमान्तर गरी विनियोजन गरेका छन्। अन्य संघसंस्थाबाट पनि भवन निर्माणको लागि सहयोग प्राप्त भएको र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको वडा नं.१४ का वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए।
भवन निर्माणको लागि अर्थ, निर्माण, वार्ता, सल्लाहकार समिति गठन भएको बताउँदै तोकिएकै समय काम सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। दुई तल्लाको उक्त भवन एक वर्षभित्र निर्माण सम्पन्न गरिने योजना रहेको छ।
ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले प्रहरीले नागरिकको नजिकको साथी भएको बताउँदै नागरिक र प्रहरी बीचको सम्बन्ध बलियो बनाउन सम्वाद आवश्यक भएको बताए। यो भवनको प्रयोग प्रहरीले गरे पनि नागरिककै सम्पत्ति भएको प्रष्ट पारे। ‘हाम्रो प्रहरी नेपाल प्रहरी’को भावलाई सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखे।
प्रकाशित: ३ फाल्गुन २०८२ १४:३९ आइतबार





