आन्दोलनरत उखु किसान र सरकारी अधिकारीबीचको छलफल सहमतिमा नपुगी टुंगिएको छ । मंगलबार सरकारी अधिकारी र आन्दोलनरत उखु किसानबीच छलफल भएको थियो ।
सरकारले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएकोमा अनुदान आधा कटौती गरे पछि उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।
सरकारले उखु अनुदानको साढे ७५ करोड रुपैयाँ निकासा गरेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीले किसान अगुवासँग वार्ता गरेका थिए ।
कृषि मन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक ललन कुमार सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।
कृषि मन्त्रालयसँग सहमति नभएकाले आन्दोलन जारी रहने किसान अगुवाले बताएका छन् ।
प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान नपाउँदासम्म आन्दोलन जारी रहने नेपाल उखु किसान महासंघको अध्यक्ष श्यामबाबु रायले बताए । ‘सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ निकासा गरेर आन्दोलन तुहाउने प्रयत्न गरेको छ,’ अध्यक्ष रायले भने, ‘७० रुपैयाँका दरले एक अर्ब ६० करोड नआउँदासम्म आन्दोलन जारी रहन्छ ।’
प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान पाउनुपर्ने माग गर्दै उखु खेती गर्दै आएका ८ जिल्लाका किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।
प्रकाशित: १० भाद्र २०८२ १९:२८ मंगलबार



