२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

२३.८७ अङ्कले उकालो लाग्यो नेप्से, बढ्यो कारोबार

क्याप्शन

लगातार दुई दिनको गिरावटपछि साताको बिहीबार शेयर बजार परिसूचक बढेर बन्द भएको छ।

यस दिन नेप्से २३.८७ अंकले उकालो लाग्दै २८२०.४४ विन्दुमा पुगेको छ। समग्र बजारसँगै सेन्सेटिभ इण्डेक्स ५.०१, फ्लोट इण्डेक्स १.९२ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंकले बढेको छ।

परिसूचक उकालो लागेसँगै बजारमा कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा बिहीबार कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ पुगेको छ।

यस दिन ३३५ कम्पनीका ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर १ लाख ३० हजार १५ पटक खरिदबिक्री भएका छन्।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यसैगरी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को करिब ५७ करोड र कुमारी बैंकको साढे ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

बिहीबार दुईवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस्तै, नेशनल हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले साढे ९ प्रतिशत नाफा कमाएका छन्।

बजार बढेको यस दिन गिरावट आएका कम्पनीहरुको मूल्य घट्ने दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये बिहीबार १० वटाको परिसूचक बढेको छ भने ३ वटाको मात्रै घटेको छ।

यस दिन बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले उकालो लागेको छ। बैंकिङसहित विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहमा पनि हरियाली छाएको छ।

यद्यपि, होटल तथा पर्यटन, निर्जीवन बीमा र ‘अन्य’ उपसमूहको परिसूचक भने सामान्य अंकले घटेर बन्द भएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App