१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

नेपाल धितोपत्र बोर्डले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

फाइल तस्बिर

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।

उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए। नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुन निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्न आग्रह गरे। उनले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै बजारलाई अझ विश्वसनीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा पनि जोड दिए।

बोर्डका अध्यक्ष डा गोपाल भट्टले पुँजीबजार विकासको ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारमा आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ भने सरोकारवालासँग परामर्शपछि ती व्यवस्था क्रमशः कार्यान्वयनमा ल्याइनेछ। सोमबार अर्थमन्त्री वाग्लेलगायतको उच्चपदस्थ टोलीले बोर्डको स्थलगत निरीक्षण गरेको थियो।

प्रकाशित: १२ श्रावण २०८३ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App