नेपालले विद्युत् व्यापारमा ऐतिहासिक उपलब्धि हासिल गर्दै समीक्षा वर्ष २०८२/०८३ मा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ।
भारत र बङ्गलादेशमा विद्युत् बिक्रीबाट भएको आम्दानीले आयात खर्चलाई उल्लेखनीय रूपमा उछिनेपछि ऊर्जा क्षेत्रमा नेपालको व्यापार सन्तुलन बलियो बनेको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार समीक्षा वर्षमा नेपालले भारत र बङ्गलादेशमा ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ६८ प्रतिशत बढी हो।
यता, बाह्य स्रोतबाट हुने विद्युत् आयात भने घटेको छ। समीक्षा वर्षमा १ अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गर्दा १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशत कम हो।
निर्यात आम्दानी र आयात खर्चबीचको अन्तरका कारण नेपालले विद्युत् व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी खुद बचत गर्न सफल भएको हो।
अघिल्लो आर्थिक वर्षमा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेकोमा एक वर्षमै यो करिब चार गुणाले बढेको छ।
प्राधिकरणका अनुसार जलविद्युत् उत्पादनमा वृद्धि, सीमापार प्रसारण पूर्वाधारको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनले नेपाललाई दक्षिण एसियामा नाफामूलक ऊर्जा निर्यातकर्ताका रूपमा स्थापित गर्न मद्दत पुगेको छ।
प्रकाशित: ७ श्रावण २०८३ १४:०६ बिहीबार





