२७ मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले ७ अर्ब बढी कोषको रकम बैंकहरूमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र ब्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले एक वर्षका लागि लगानी गर्न लागिएकाले यही मंसिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु पाँच अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैंकमा रु ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा रु ३३ करोड बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेकोलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ।

त्यसैगरी केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको ब्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ।

सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु ८० करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १५ करोड र वित्त कम्पनीमा रु पाँच करोड बराबर लगानी गर्न लागिएको हो। यही मंसिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ। रासस

प्रकाशित: २७ मंसिर २०८२ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App