१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

नारायणघाट-बुटवल सडकको म्याद चौथो पटक थप

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणघाट सडक खण्ड स्तरोन्नति गर्न चौथो पटक म्याद थप गरिएको छ।

अब एक वर्षभित्र पूर्ण रूपमा स्तरोन्नतिको काम पूरा हुने गरी म्याद थप गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैशीले बताए। मन्त्रालयका सहसचिव तथा आयोजना निर्देशनालय (एडिवी) का आयोजना प्रमुख चुडाराज ढकालका अनुसार ठेकेदार कम्पनीले यस खण्डमा स्तरोन्नति कार्यका लागि करिब डेढ वर्ष म्याद थप गर्न प्रस्ताव गरेको थियो। ‘तर हामीले एक वर्ष मात्र दिएका छौं, जस अनुसार पश्चिम खण्डको अन्तिम म्याद २०८३ साउन ५ गते र पूर्वी खण्डको अन्तिम म्याद साउन ७ गतेसम्म म्याद दिएका छौं’, उनले भने।

उनका अनुसार यसपटक थप गरिएको म्याद अन्तिम पटकका लागि हो। त्यसबेलासम्म ठेकेदार कम्पनीले काम सक्नैपर्नेछ। ‘सामान्यत ७० प्रतिशत काम पूरा गरिसकेपछि ठेकेदार कम्पनी पछि हट्दैनन्। बुटवल–नारायणघाट खण्डको काम पनि ७० प्रतिशत पूरा भइसकेको छ। त्यसैले अब थपिएको म्यादभित्र काम पूरा हुनेछ भन्नेमा हामी विश्वस्त छौं’, उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत साउनको पहिलो साता ठेकेदार कम्पनीसँग एक वर्ष म्याद थप गरेपछि उक्त खण्डमा यात्रा गर्ने यात्रुहरूले अझै कम्तीमा एक वर्ष सास्ती भोग्नुपर्ने निश्चित छ। ‘तर आगामी असोज/कात्तिकबाटै विस्तारै सास्ती हट्दै जाने छ। त्यस खण्डमा जति दुःख भोगका छौं त्यो अहिलेलाई मात्र हो किनभने काम सकिनै लागेको छ’, ढकालले भने।

बुटवल–नारायणघाट खण्ड दुई खण्डमा बाँडिएको छ। पूर्वी खण्डको म्याद साउन ६ गते र पश्चिम खण्डको म्याद साउन ८ गते सकिएको थियो।

ठेकेदार कम्पनीले थप दायित्व, थप रकम दाबी नगर्ने शर्तमा म्याद थप गरिएको मन्त्रालय स्रोतको भनाइ छ। मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘काम भइरहेको बेला ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार कम्पनी छनोट गर्ने हो भने त्यो काममा झन् ठूलो समस्या आउने र प्रक्रिया पूरा गर्नै धेरै समय लाग्छ। त्यसैले म्याद थप गर्ने बाध्यतामा पुगेका हौं।’

मन्त्रालय स्रोतका अनुसार ठेकेदार कम्पनीले कोभिड १९ का कारण तीन वर्ष काम हुन नसकेको आधार पेश गरेको छ । ‘ठेकेदार कम्पनीसँग सम्झौता रद्द गर्‍यौं भने उसले तीन वर्षको दाबी गर्दै क्षतिपूर्ति माग्न सक्छ । त्यसैले समस्या झन् बल्झन सक्छ’, ती कर्मचारी भन्छन्।

उक्त खण्डको स्तरोन्नति गर्न १७ अर्ब दुई करोड रूपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग पहिलो पटक २०१८ डिसेम्बर १९ मा सम्झौता भएको थियो। तेस्रो पटक थपिएको म्यादअनुसार २०२५ जुलाई २३ भित्र यो खण्डको काम सकिनुपर्छ तर अहिलेसम्म ५२ प्रतिशत हाराहारी मात्र भौतिक प्रगति भएको छ।

११३ किलोमिटर लामो यो खण्डलाई दुई भागमा वर्गीकरण गरी स्तरोन्नतिको काम थालिएको हो। पूर्वी खण्ड ६४.४२५ र पश्चिम खण्ड ४८.५३५ किलोमिटरको छ। सडक विभागअन्तर्गत एसियाली विकास बैंक (एडिबी) निर्देशनालयबाट यो आयोजना सञ्चालन भइरहेको छ। यो आयोजनालाई एडिबीले सहयोग गरेको छ।

ठेकेदार कम्पनी चिनियाँ भएकाले यो दुई देशको कूटनीतिक मामिलाको विषय पनि भएको छ। यसअघि सो खण्डमा यात्रा पूरा गर्न तीन घण्टा हाराहारी लाग्थ्यो। अहिले आठ घण्टादेखि दिनभरि नै लाग्ने गरेको छ। सडक विभागका एक उच्च कर्मचारी भन्छन्, ‘यो आयोजना अलपत्र हुनुमा ठेकेदार कम्पनीको ढिलासुस्ती त छ नै, त्यसमाथि विभागको पनि कमीकमजोरी पनि छ। समयमा ‘साइट क्लियर’ भएन, रुख कटान गर्न कम्पनीले ठूलो झन्झट बेहोर्नुप‍र्‍यो। बिजुलीका पोल सार्ने काममा समेत ढिलो गरियो। योभन्दा पनि ठुलो सास्ती ठेकेदार कम्पनीले निर्माण सामग्री बेलैमा पाउन सकेन। स्थानीय तहले निर्माण सामग्री निकाल्न नदिँदा कम्पनीले कठिनाइ भोग्नुपर्‍यो। यसका लागि विभागले ठेकेदार र स्थानीय तहसँग सहजीकरण गर्नुपथ्र्यो तर गरेन।’

कात्तिकसम्ममा दाउन्ने खण्ड बन्ने मन्त्रालयका उच्च कर्मचारीहरूले कात्तिकसम्म दाउन्ने खण्डको काम पूरा हुने बताए। बुटवल–नारायणघाट सडकमध्ये दाउन्ने खण्ड सबैभन्दा अस्तव्यस्त सडक हो। यस खण्डको दूरी १४ किमि मात्र छ तर यो खण्ड छिचोल्न सवारी साधनलाई पाँचदेखि ६ घण्टादेखि दिनभरि लाग्ने गरेको छ। कहिलेकाहीं एक दिनले मात्र पुग्दैन। पानी परेका बेला २/३ दिन नै लाग्छ। दाउन्ने खण्ड एउटा सानो पहाड हो। स्तरोन्नतिको नाममा उक्त सडकभरि ठाउँठाउँमा खाल्डा खनिएका छन्।

बाटो पिच गर्ने र कल्र्भट बनाउने भन्दै बाटोभरि डोजरले माटो खनेर निकालेको देखिन्छ। खाल्टो खनेर छाडिएको पनि लामो समय भइसकेको छ। सवारी साधन घण्टौंदेखि जाममा पर्ने गरेका छन्। हिउँद याममा बाटोवरिपरिका घर, होटल र पसल धुलोले छोपिएका हुन्छन् भने वर्षा याममा बाटोभरि हिलो हुन्छ। हिलोमा चिप्लिएर सवारी साधन दुर्घटना हुनु सामान्य भइसकेको छ। हिलोमा पटक पटक सवारी भासिने गरेका छन्। पिचको नामोनिसान छैन।

यस खण्डमा यात्रा गर्ने यात्रुले मात्रै सास्ती भोगेका छैनन्, स्थानीयले पनि उत्तिकै दुःख भोगका छन्। त्यहाँ सरकारको उपस्थिति नै नभए झैं देखिन्छ। ‘यस सडकमा राज्यविहीनताको अवस्था देखिएको छ।

हामीले यस्तो कष्ट भोगेको महिनौं भइसकेको छ,’ उक्त रुटमा माइक्रो बस चलाउँदै आएका एक सवारी चालकले भने। बाटो घुमाउरो छ। त्यसमा पनि बाटो चिप्लो, धुलाम्मे, हिलाम्मे हुँदा सवारी चालकले हुनसम्म दुःख भोग्ने गरेका छन्।

यसबाट सवारी साधन बिग्रने सम्भावना धेरै हुन्छ। सडक असुरक्षित हुँदा सवारी दुर्घटनाको संख्या बढिरहेको छ। दुई पांग्रे सवारीले झन् ठुलो सास्ती भोग्ने गरेका छन्। दाउन्ने सडकलाई दुई खण्डमा बाँडिएको छ। नारायणघाट–बुटवल सडकको पूर्वी खण्डले चार किमि र बाँकी १० किमि पश्चिम खण्डले हेर्ने गरेको छ। आयोजना प्रमुख ढकालले आगामी कात्तिक १५ गतेसम्म दाउन्ने खण्डको काम पूरा  हुने बताए।

प्रकाशित: १९ श्रावण २०८२ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App