२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

आइएनजीले पोखरामा फिस्टेल माउन्टेन कलेज चलाउने

प्राविधिक रूपमा फड्को मार्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले इन्नोभेटिभ नेपाल ग्रुप (आइएनजी) समूहले पोखरामा नयाँ शिक्षण संस्था सञ्चालन गर्ने घोषणा गरेको छ। सूचना प्रविधि (आइटी) क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्दै स्वदेशमै रोजगार सिर्जना गराउने उद्देश्यले आइएनजीले पोखरामा फिस्टेल माउन्टेन कलेज सञ्चालन गर्न थालेको हो।

बेलायतको उल्भरहेम्टन विश्वविद्यालयसँगको सम्बन्धनमा आइएनजीले पोखरामा कम्प्युटर साइन्स र साइवर सेक्युरिटीको बिएससीका कक्षा सञ्चालन गर्ने तयारी थालेको जानकारी आइएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले दिए। बुढाथोकीका अनुसार आगामी सिजनदेखि कलेजले पोखरामा अध्यापन गराउन थाल्नेछ। आइएनजीले यसअघि नै पोखरामा इन्फरमेटिक्स कलेज सञ्चालन गरेर विभिन्न विषयमा अध्यापन गराइरहेको छ।

बुढाथोकीले काठमाडाैंमा मात्र सीमित रहेको सूचना प्रविधिको शिक्षालाई पोखराबाट पनि सुरु गर्न थालेको बताए। ‘काठमाडौंमा आइएनजीले प्राविधिक क्षेत्रबारे अध्यापन गराउँदै आएको छ। आइएनजीले अध्यापन गराउने मात्र नभई दक्ष जनशक्ति पनि निर्माण गरिरहेको थियो तर अब भने पोखरा हाम्रो दोस्रो प्राथमिकताको सहर बनेको छ,’  बुढाथोकीले भने, ‘आइटी कोर्षका लागि पोखराले अब नयाँ शैक्षिक संस्था पाउँदैछ। पोखरामै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा पाउन सक्ने मौका जुरेको छ।’

फिस्टेल माउन्टेन कलेजमा हुने पढाइँसगै आइटी क्षेत्रका जनशक्ति पनि तयार हुने उनले बताए। ‘हामी जनशक्ति उत्पादन मात्र नभई उनीहरूलाई स्वदेशमै काम दिलाउँछौ। सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारिरहँदा जनशक्ति अभाव खेप्नुपरेको छ’, उनले भने, ‘पोखराले अबको केही वर्षमा आइटी क्षेत्रका दक्ष जनशक्ति पोखरामै उत्पादन गर्नेछ। उनीहरूलाई काम दिएर आम्दानी दिलाएर विदेश जान नपर्ने अवस्था सिर्जना गराउनेछौं।

’उनले नेपाललाई अबका केही वर्षपछि आइटीको गतिलो गन्तव्य बनाउने लक्ष्य राखेको बताए। ‘हामी हरेक वर्ष केही न केही नयाँ काम गर्छाैं। यो पटक पोखराले आइटी क्षेत्रको अब्बल शैक्षिक संस्था पाउँदैछ। पोखरामा आइटी क्षेत्रको जमात पनि ठूलो छ। अब अझै बढी जनशक्ति पोखरामै उत्पादन हुनेछन्’, बुढाथोकीले भने।

आइएनजीले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरमा समेत सेवा दिएको बताउँदै बुढाथोकीले पोखराले सूचना प्रविधिको क्षेत्रमा अझै बढी फड्को मार्ने पनि बताए।

तीन वर्षे अवधिको पाठ्यक्रमका लागि अबको केही समयमा भर्ना सुरु गरिने उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए। उनका अनुसार पोखराको शैक्षिक क्षेत्रमा नयाँ ‘ल्यान्डस्केप’ कोर्न यो शिक्षाले सघाउनेछ। ‘आइएनजीले अहिलेसम्म काठमाडौंमा आइटीको इकोसिस्टम चलाएको थियो। अब पोखरामा त्यो इकोसिस्टम चल्नेछ। पोखरा अब आइटी क्षेत्रको हब बन्नेछ’, उनले भने, ‘काठमाडौंपछि आइटी क्षेत्रमा पोखराले पनि फरक पहिचान बनाउने अवसर आएको छ। त्यसका लागि पोखरामै अध्यापन हुनेछ।’

प्रकाशित: ११ मंसिर २०८२ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App