स्वदेशमै उत्पादन गर्न सकिने कृषि, खाद्यान्न, औद्योगिक तथा उपभोग्य वस्तुसमेत ठूलो परिमाणमा विदेशबाट आयात भइरहँदा नेपालको आयातमुखी अर्थतन्त्र झन् गहिरिएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा मुलुकले करिब २१ खर्ब रुपैयाँ बराबरका वस्तु विदेशबाट आयात गरेको छ।
आयातको तीव्र वृद्धिले व्यापार घाटा थप फराकिलो बनाएको छ भने स्वदेशी उत्पादन र उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेको संकेत पनि दिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको थियो। एक वर्षमै करिब २ खर्ब ९२ अर्ब रुपैयाँ बराबर आयात थपिएको देखिन्छ।
आयातमा भएको यो वृद्धिसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ। स्वदेशी उत्पादनले आन्तरिक माग धान्न नसक्दा दैनिक उपभोगदेखि औद्योगिक उत्पादनका कच्चा पदार्थसम्म ठूलो परिमाणमा विदेशबाट आयात गर्नुपरेको अवस्था छ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै आयात हुने वस्तुमा इन्धन र औद्योगिक कच्चा पदार्थ रहेका छन्। डिजेलको मात्रै १ खर्ब ७२ करोड ४२ लाख रुपैयाँ बराबर आयात भएको छ। त्यसपछि ९८ अर्ब ८३ करोड रुपैयाँको कच्चा भटमासको तेल, ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँको पेट्रोल, ६० अर्ब २८ करोड ६ लाख रुपैयाँको एलपी ग्यास, ५८ अर्ब ५२ करोड रुपैयाँको फलाम तथा फलामजन्य सामग्री र ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँका स्मार्टफोन आयात भएका छन्।
तथ्यांकअनुसार डिजेल, पेट्रोल र एलपी ग्यास गरी तीनवटा इन्धनजन्य वस्तुको आयात मात्रै करिब ३ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ।
कृषि तथा पशुजन्य वस्तुको आयात पनि निरन्तर बढ्दो क्रममा छ। पर्याप्त खेतीयोग्य जमिन, जलस्रोत र श्रमशक्ति हुँदाहुँदै खाद्यान्न, तरकारी, फलफूल, मासु तथा प्रशोधित खाद्य वस्तुसमेत विदेशबाट आयात भइरहेको छ। स्वदेशमै उत्पादन गर्न सकिने वस्तुमा समेत आयात बढ्नुले कृषि उत्पादन, प्रशोधन उद्योग र आपूर्ति प्रणाली कमजोर रहेको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थको ठूलो हिस्सा पनि विदेशबाट आयात हुने गरेको छ। फलाम तथा फलामजन्य सामग्री, कच्चा भटमासको तेल, रासायनिक पदार्थ तथा अन्य औद्योगिक सामग्रीको आयात उच्च रहनुले स्वदेशी उत्पादन अझै आयातित कच्चा पदार्थमा निर्भर रहेको देखाउँछ।
प्रकाशित: ७ श्रावण २०८३ १९:३६ बिहीबार





