१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीसँग पूर्व अर्थमन्त्रीहरूको चिन्ता: पुँजी पलायनको जोखिम बढ्यो

अर्थमन्त्री रामेश्वर खनालसँग पूर्व अर्थमन्त्रीहरूले देशबाट पुँजी पलायनको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रवार पूर्व अर्थमन्त्री मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री खनालसँग पूर्व अर्थमन्त्रीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 

‘अहिलेको अवस्थामा अर्थतन्त्रमा देखिएका चुनौतीबारे छलफल गर्न र आवश्यक सुझाव दिन मञ्चबाट अर्थमन्त्री, अर्थ सचिव र गर्भनरलाई बोलाएका थियौँ,’ छलफलको संयोजन गरेका पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले भने, ‘हामीले मूलतः पाँच विषयमा सुझाव दिएका छौँ। त्यसमा उहाँहरू सकारात्मक नै देखिनुभयो।’ 

पूर्व अर्थमन्त्रीहरूले राखेका ती चिन्तामा पहिलो विषय जेन–जी आन्दोलनपछि निजी क्षेत्रमा खस्किएको मनोबल उठाउने विषय रहेको पाण्डेले बताए। ‘अहिले निजी क्षेत्रमाथि जुन किसिमले आक्रमण भयो। त्यसपछि उद्यमी तथा व्यवसायीको मनोबल निकै खस्किएको छ। त्यो उठाउन सरकारले प्रमुख भूमिका खेल्नुपर्छ भनेर हामीले भन्यौँ,’ उनले भने। 

यस्तै दोस्रो विषयमा निजी क्षेत्र, व्यापारिक प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट गर्नेमाथि कारबाहीमा सख्त कदम चाले मात्रै निजी क्षेत्रसँग सरकार रहेको प्रत्याभूति हुने कुरा स्मरण गराएको पूर्व अर्थमन्त्री पाण्डेले बताए। ‘अहिले सरकार र विशेष गरी गृहमन्त्री(ओमप्रकाश अर्याल) उल्टो बाटो हिँडेको हो कि भन्ने महसुस भएको छ,’ उनले भने, ‘भदौ २४ गतेको त्यत्रो घटनाका दोषी, त्यसमा पनि निजी क्षेत्रले आफ्नै सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही नभए भरोसा गर्दैनन्। त्यसैले यो कुरामा सरकार सचेत हुनुपर्ने विषय राख्यौँ।’ 

तेस्रो विषय, सरकारले निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने विषय रहेको उनले बताए। पाण्डेले अगाडि भने, ‘यसमा केही त सरकारले गरिरहेकै छ। त्यसमा थप सहुलियतका कुरा, बैंकको ब्याज र किस्ता बुझाउने समय १५ दिन सरकारले दिएको छ। त्यसलाई बढाएर कात्तिक मसान्तसम्म पुर्‍याउनुपर्ने कुरामा हामीले सुझाव दिएका छौँ।’ 

अर्को विषयमा सरकारले पुँजीगत खर्च कटौती गरेको विषयमा पनि अर्थमन्त्रीहरूले चासो राखेका छन्। ‘सरकारले पुँजीगत खर्च नबढाउने हो भने अर्थतन्त्रमा देखिएका जोखिम हटाउन सकिन्न। तर सरकारले पुँजीगत खर्च शीर्षक नै कटौती गरेको कुरा सुनिँदै छन्। त्यसमा हामीले ध्यानाकर्षण गराएका छौँ,’ पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले भने, ‘सँगै पुँजीगत खर्चको गति पहिले जस्तो सुस्त भए पनि अर्थतन्त्र तङ्ग्रिन गाह्रो छ। त्यसैले खर्चको गतिलाई बढाउने गरी सरकारले वातावरण निर्माण गर्नुपर्ने सुझाएका छौँ।’ 

पाँचौँ विषयमा सबैजसो पूर्व अर्थमन्त्रीहरूले पुँजी पलायनको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका थिए। ‘अहिलेको सबैभन्दा ठुलो जोखिम नै पुँजी पलायनकाे हो। व्यवसायीको मनोबल खस्किने, नेपालमै व्यवसाय गर्ने सोच भएकाहरू निरुत्साहित भएको गम्भीर अवस्था छ। देशभित्र राम्रो वातावरण कायम हुन नसके व्यवसायीले पुँजी बाहिर लैजान सक्छ,’ पूर्व अर्थमन्त्री महतले भने। 

अर्का पूर्व अर्थमन्त्री पाण्डेले नगद पुँजी मात्र नभई बौद्धिक पुँजी पनि पलायनको जोखिम उत्तिकै रहेको विषयमा चिन्ता पनि दर्साएको बताए। उनले भने, ‘नेपालमा लगानीको वातावरण नभए, पुँजी पनि नपाए बिजनेस आइडिया भएको बौद्धिक पुँजी पनि बाहिरिन्छ। यसमा सरकार गम्भीर हुनुपर्छ भनेर हामीले भन्यौँ।’ 

‘सरकार गम्भीर नै देखियो’

पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री खनाल, अर्थ सचिव घनश्याम उपाध्याय र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल समग्र अर्थतन्त्रका विषयमा गम्भीर देखिएको बताएका छन्।

‘हाम्रा सबैजसो कुरामा उहाँहरू सकारात्मक नै देखिनुभयो। कतिपय कुराहरू सरकारले गरिरहेको पनि भन्नुभयो,’ पूर्व अर्थमन्त्री महतले भने। व्यवसायीको मनोबल बढाउने विषय र पुँजी पलायन रोक्ने विषयमा भने सरकारको प्रस्ट धारणा अझैँ बनिसकेको छैन कि भन्ने आशंका आफूले देखेको उनले बताए।

मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक नै रहेकाले सरकारलाई डरलाग्दो अवस्था भने नरहेको अर्का पूर्व अर्थमन्त्री पाण्डेको बुझाई छ। ‘अहिले पनि सरकारसँग झन्डै ३० खर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ। बैङ्कहरूसँग लगानी गर्न मिल्ने ८ खर्ब रुपैयाँ जम्मा छ,’ उनले भने, ‘राष्ट्र बैंकसँगै ७ खर्ब रुपैयाँ जति नगद छ। झन्डै ४५ खर्ब रुपैयाँ रहेकाले सङ्कटपूर्ण अवस्था सम्हाल्न गाह्रो छैन।’ 

अब यो अवस्थाबाट सम्हालिएर माथि उठ्न कुशल व्यवस्थापन आवश्यक रहेको पाण्डेले बताए। 

प्रकाशित: १४ कार्तिक २०८२ २०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App