कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीभोजाका किसान आश्रयराम बडायकले १० बिघा जमिनमा सिर्जन अनुसार विभिन्न खेती गर्दै आएका छन् । बडायकले उक्त जमिनमा एक बिघा जतिमा गँहु खेती, ६ बिघामा उखु खेती, डेढ बिघामा मकै खेती र डेढ बिघामा तोरी खेती गरेका छन् ।
बडायकले यी सबै बालीनालीमा विषादी र रासायनिक झोल मल ड्रोनबाटै हाल्ने गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेश सरकारको कृषि विकास निर्देशनालय डोटीबाट नवीन प्रविधि अन्तर्गत ५० प्रतिशत अनुदानमा बडायकले ड्रोन खरिद गरेका थिए । उक्त ड्रोन १३ लाख रुपैयाँमा खरिद गरिएको थियो ।
खरिद मूल्यमा निर्देशनालयको साढे छ लाख रुपैयाँ र बडायकको साढे छ लाख रुपैयाँ लगानी थियो । ड्रोन खरिद गरेको तीन वर्षपछि मात्रै सञ्चालनमा ल्याइएको थियो । चालु आव २०८२/८३ को साउन १५ गतेदेखि ड्रोन प्रयोग गरिएको थियो ।
‘ड्रोनलाई दर्ता नगरी उडान गर्न नमिल्ने रहेछ । ड्रोनलाई सञ्चालनमा ल्याउन पहिला त उड्डययन मन्त्रालयमा दर्ता गर्नुपर्ने रहेछ । प्रशासनिक कामले गर्दा सञ्चालन गर्न ढिलो भएको हो,’ किसान बडायकले भने ।
उक्त ड्रोन रिमोर्ट र नेटको प्रयोगबाट सञ्चालन गर्न सकिने छ भने ड्रोनको ट्यांकी १८ लिटरसम्म रहेको छ । ड्रोनमार्फत करिब १५ मिनेटमा एक बिघामा विषादी छर्न सकिन्छ ।
बालीनालीमा रोग–किराको प्रकोप देखिँदा मल वा विषादी हाल्न निकै समस्या हुन्छ । उखु र मकैका बोट अग्लो हुने भएकाले हाते मेसिनबाट सबै ठाउँमा पुर्याउन पनि नसकिने र विषादी छर्किंदा शरीरमा पर्ने जोखिम पनि नहुने । अहिले बडायकले बालीनालीमा मल वा विषादी ड्रोनबाटै छर्किने गरेका छन् ।
‘बालीनालीमा मल र विषादी झर्किदा शरीरमाथि पथ्र्यो । विषादी शरीरमा पर्दा श्वास र छाला सम्बन्धी रोग लाग्छ । कतिसम् मभने केही किसानलाई क्यान्सरसमेत लागेको देखिन्छ,’ किसान बडायकले भने, ‘अब ड्रोनबाट विषादी हाल्न थालेपछि यो सबै समाधान हुने छ ।’
सामान्यतया एक बिगा जमिनमा मल र विषादी हाल्न तीन घण्टासम्म लाग्ने गरेको भए पनि अहिले ड्रोनमार्फत छर्किंदा १२ देखि १५ मिनेटमै छर्कन सकिने किसान बडायक बताउँछन् ।
ड्रोनबाट विषादी छर्किंदा समयको सदुपयोग हुने त छँदैछ अर्कोतर्फ सुरक्षा जोखिम पनि कम गर्न मदत पुग्ने बडायकले भने ।
किसान बडायकले ड्रोन सञ्चालन सम्बन्धी तालिम भारतको गुजरातमा लिएका थिए । सबै बालीनालीमा मल र विषादी छर्कन ड्रोनको प्रयोग गर्न सकिने छ ।
‘मैले ड्रोनबाट बालीनालीमा मल र विषादी छर्न थालेको छु । छरछिमेका किसानले पनि हाम्रोमा ड्रोनमार्फत मल र विषादी छर्किदिनु भन्दै माग आउँछ,’ किसान बडायकले भने, ‘अहिले सेवा प्रदायक रूपमा काम गरेको छैन । अहिले व्यक्तिगत रूपमा मात्रै प्रयोग गरेको छु ।’
ड्रोनको व्याट्री एउटा मात्रै हुँदा ड्रोनलाई बडायकले व्यक्तिगत रूपमा मात्रै प्रयोगमा ल्याएका छन् ।
किसान बडायकले भने, ‘मसँग यसको ब्याट्री व्याकअप कम छ । एक पटकको चार्जले १५ मिनेटसम्म मात्र धान्छ । मसँग एक सेट मात्रै छ । मैले दुई/तीन सेट ब्याट्री मगाएको छु । ब्याट्री आएपछि अरु किसानकोमा पनि सेवा दिन्छु ।’
बालीनालीमा मल र विषादी छर्कन ड्रोनको माग थुप्रै आउने गरेको बताउँदै किसान बडायकले बालीनालीमा भन्दा पनि उखु किसानहरूको माग बढी आउने गरेको बताए ।
किसान बडायकले भने, ‘ड्रोनको माग बढी नै छ । आगामी दिनमा ड्रोनको सेवा अरु किसानलाई पनि दिने छौं ।’
प्रकाशित: २२ मंसिर २०८२ २०:३७ सोमबार





