वीरगंजबाट सुरु भएको ‘जाउँ है पोखरा’ अभियानका क्रममा व्यावसायीले पोखरालाई सिमरासम्म सिधा हवाई सञ्जालमार्फत जोड्नमा चाँसो दिएका छन। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहितको अभियान लिएर गएका पोखराका पर्यटन व्यावसायीले वीरगञ्जका व्यवासायीसँगको छलफलका क्रममा सिधा हवाई सेवा नहुँदा पर्यटकको यात्रामा असहज भएको बताएका थिए। सिधा हवाई सेवा सञ्जालको बिस्तारका लागि दुईवटै सहरका व्यावसायी एकजुट हुनुपर्नेमा उनीहरुको जोड थियो।
अभियान संचालन गरेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रले बारम्बार फरक फरक सास्ती खेप्नुपरेको बताए। कहिले द्वन्द्व त कहिले भूकम्प, अनि नाकाबन्दी देखि कोभिड र बैंकको चर्काे ब्याजको मार पर्यटन क्षेत्रले खेप्नुपरेको गुनासो सुनाएका थिए। बारम्बार सकस खेपेको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि अब पोखरा–सिमरा सिधा हवाई सेवा संचालन हुनुपर्ने उनको भनाई थियो। विगतमा संचालन भएर रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुनः संचालन गर्नुपर्ने आबश्यकता औंल्याए।
‘पोखरा–सिमरा सिधा हवाई सेवाले खासगरि भारतीय पर्यटनलाई बढि सहज बनाएको थियो। सिमराबाट पाहुना उडेर पोखरा पुग्दा आउजाउ सहज बनाएको थियो,’ उनले भने, ‘तर, पछि त्यो उडान रोकियो। हवाई उडान रोकिएको त्यहीबेला स्थलमार्गको यात्रा पनि सकसपूर्ण बन्यो। बिस्तारको क्रममा पोखरा–मुग्लिन सडकले केही वर्ष असहज बनाएको थियो। अहिले स्थलमार्गको यात्रा सहज छ। तर, कतिपय पर्यटकका लागि हवाई यात्रा पनि जरुरी छ।’ केही वर्ष अघि बुद्ध एयरले पोखरा–सिमरा उडान संचालन गरेको थियो। तर, पछि यात्रु अभाव भएको भनेर नियमित उडान रोकिएको थियो।
मधेश प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्माले पोखरा–सिमरा उडान रोकिनु पर्यटन क्षेत्रका लागि चिन्ताको विषय बनेको बताए। सिधा उडान सुरु गर्ने कार्यमा आफ्नो पनि भूमिका रहेको उनले स्मरण गराए। यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र नीजी क्षेत्र मिलेर उक्त रुटमा उडान सुचारु गरिनुपर्ने सुझाव उनको छ।
‘हवाई सेवा टिकाउन एयरलाइन्स कम्पनिलाई यात्रु चाहिन्छ। यात्रु जुटाउनका लागि सबैको पहल जरुरी छ,’ उनले भने।
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट र पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउन बोर्डले व्यावसायीसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए। ‘सिधा हवाई सेवा संचालन गर्न सकेको खण्डमा पर्यटन क्षेत्रले बढि लाभ पाउँछ। पैसा खर्च गर्ने क्षमता भएका पाहुनाले यात्रामा पनि सहजता खोज्छन। उनीहरुका लागि सिधा हवाई सेवा पर्याप्त छ। नेपालको पर्यटनले भारतीय बजारसँग पर्याप्त अपेक्षा पनि गर्छ,’ उनले भने। पोखराको पर्यटन क्षेत्रमा भारतीय पर्यटनले ठूलो गुन लगाएको पनि उनले बताए।
कार्यक्रममा व्यावसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गरिएको, सिमा नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्यक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारीलाई निर्वाध संचालनमा अवरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाए। भारतीय सवारीलाई सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत् दिन पनि व्यावसायीले सुझाएका थिए।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अब बन्ने नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताए। सिमा नाकामा भारतीय पर्यटकलाई तीनकिलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे। भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव राखे।
छलफलमा संघका अध्यक्ष सुवेदीले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पूर्वका बासिन्दालाई निम्ता पनि प्रदान गरे। महोत्सवका सहभागी पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि उनले गरे।
आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुनेछ। आन्तरिक पर्यटन प्रवर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ वर्षअघि यो अभियान सुरु गरिएको थियो। यो पटक अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई पनि छनोट गरिएको छ। संघका अनुसार अहिले पोखराको होटल क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा ४० प्रतिशत रहेको पनि बताए।
प्रकाशित: १२ चैत्र २०८२ १४:३१ बिहीबार





