पोखरामा तीनवर्ष अघि भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टको उद्देश्य पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) को गन्तव्यको रुपमा पहिचान दिलाउनु थियो। त्यसबाहेक गतवर्ष नै पोखरामा आयोजित नेपाल–इन्डिया–चाइना (नाइस) एक्स्पोले पनि ‘नाईस फर माइस’ भन्दै पोखरालाई माइस टुरिजमको गन्तव्य बनाउनुपर्ने उद्देश्य बोकेको थियो।
पर्यटन क्षेत्रमा पछिल्लो समय ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) फस्टाउँदै गएको छ। विभिन्न सभा सम्मेलन, बैठक, गोष्ठि देखि पारिवारिक जमघटका गतिविधिलाई माइस टुरिजमले समेट्ने भन्दै छोटो समयमा ठूलो आकारमा पाहुना तान्ने गतिलो उपाय नै माइस टुरिजम रहेको सरोकारवालाको भनाई छ। त्यसका लागि बेलाबेला नेपालमा गतिविधि भईरहेपनि अन्तर्राष्ट्रियस्तरमा भने यस्ता गतिविधिबारे प्रवर्द्धन कम भएको व्यावसायीले बताउँदै आएका छन्।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका गतिविधि, सभा सम्मेलन, गोष्ठि, बैठक आयोजना गर्दा एकैसमयमा धेरै संख्यामा पाहुना आउने र त्यसको लाभ पर्यटन क्षेत्रले पाउने सरोकारवालाको भनाई छ। त्यसका लागि नेपालको सम्भाव्यताबारे अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन जरुरी रहेको पनि उनीहरुको भनाई छ। पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने भन्छन, ‘माइस टुरिजमले एकैपटक ठूलो आकारमा आर्थिक कारोबार गराउँछ। एकै समूहमा धेरै पाहुना आउने हुँदा त्यसको लाभ पर्यटन क्षेत्रमा पर्छ। त्यसैले यसका लागि आवश्यक संरचना सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन जरुरी छ।’
माइस टुरिजमको सम्भाव्यताबारे प्रवर्द्धन गर्नका लागि नेपालको प्रतिनिधित्व गर्दै लामिछाने केहीदिन अघि रुसको मस्कोमा आयोजित ‘ग्लोवल माइस कंग्रेस’ मा सहभागि भएका थिए। नेपालले पहिलोपटक सहभागिता जनाएको यो सम्मेलनमा ३५ देशका व्यावसायी तथा पर्यटनसम्बद्ध सरकारी अधिकारी सहभागि थिए। उक्त सम्मेलनमा माइस पर्यटनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर अनुभव आदानप्रदान गरिएको थियो।
‘ग्लोवल माइस कंग्रेस’ मार्फत नेपालले आफ्नो सम्भाव्यताबारे जानकारी दिएको छ। यसले आगामि दिनमा रुसका मात्र नभई अन्य देशका पाहुना पनि भित्र्याउन सकिने अपेक्षा छ,’ उनले भने, ‘माइस मात्र नभई अरु खालका पर्यटक पनि भित्रिन सक्छन। रुसकै पर्यटक आगमन पनि नेपालमा बढिरहेकोले यो प्रवर्द्धनले समग्र रुपमा पर्यटन क्षेत्रमा लाभ दिलाउने विश्वास छ।’
उक्त छलफलमा सहभागि लामिछानेका अनुसार पछिल्लो समय मान्छेले महंगो सामान किन्नुलाई भन्दा यात्रा अनुभवलाई साझा गर्न थालेकोबारे छलफल भएको थियो। ‘पहिलापहिला मान्छेले नयाँ र महंगो सामान किने भनेर अरुलाई देखाउने चलन थियो। तर, अहिले नयाँ ठाउँ घुमेर आइयो भनेर देखाउन थालेका छन,’ उनले भने, ‘अहिले मान्छेले यात्राको अनुभवलाई प्राथमिकता दिन थालेका छन। त्यसैले घुमफिरले प्राथमिकता पाउन थालेकोबारे अन्तर्राष्ट्रिय मञ्च पनि सहमत छ।’
रुसमा भएको सम्मेलनका अधिकांश सहभागि माइस टुरिजम चलाउने विभिन्न मुलुकका व्यावसायी थिए। ‘पछिल्लो समय माइस टुरिजमका लागि नेपाल पनि गतिलो गन्तव्य बन्दै गएको छ। एकैपटक धेरै संख्यामा पाहुना अट्ने सभाहल सहितका पूर्वाधार बनिरहेका छन,’ उनले भने, ‘संरचना तयार पारेर बजारीकरण गर्ने हो भने ठुला व्यावसायिक घरानाहरु सभासम्मेलन र गोष्ठि बैठक संचालनकै लागि भनेर नेपाल आउन सक्छन। त्यो बेला पर्यटनमा लाभ पुग्छ।’
नेपालमा कोभिडका बेलामा समेत माइस पर्यटन फस्टाएको उनले बताए। ‘पोखरामा त झनै सहज छ। भारतीय पाहुनालाई त्यहाँको गर्मिको बेला चौबिसै घण्टा एसी चलाएर सभा सम्मेलन गर्नुका साटो पोखरामा गरियो भने बाहिरी हावाको अनुभव गर्न पाउँछन। त्यस्तै विवाह जस्ता पारिवारिक जमघटका लागि पोखराजस्ता सहर उपयुक्त बन्न सक्छन। एकै समूहमा धेरै पर्यटक भित्रिने भएकोले यसले व्यावसायमा फाइदा दिने उनले बताए।
रुसमा माइस टुरिजम बाहेक त्यहाँका पर्यटकलाई नेपाल बोलाउने गरि प्रवर्द्धनात्मक गतिविधि पनि संचालन गरेको लामिछानेले जानकारी दिए। नेपालको पर्यटन क्षेत्रका लागि रुस पनि एउटा पर्यटन बजार रहेको उनले बताए। सन् २०१९ सम्म १० हजार हाराहारीमा रसियन आएकोमा यो वर्ष १५ हजारको संख्यामा आउने अपेक्षा छ। सन् २००२ ताकासम्म मस्कोदेखि नेपालसम्मै सिधा हवाई उडान हुने गरेको थियो। तर, २००२ देखि रसिया नेपालको सिधा उडान बन्द भएपछि पर्यटक आगमन केही प्रभाव परेको थियो। यो सम्मेलनमा सिधा उडानबारे पनि छलफल भएको उनले बताए।
प्रकाशित: ५ पुस २०८२ १७:०० शनिबार





