काम सुरु भएको ६ वर्षमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणघाट सडक खण्ड स्तरोन्नतिको ७४ प्रतिशत मात्र पूरा भएको छ। त्यसैले यस वर्ष पनि काम पूरा नहुने निश्चित भएको छ। अर्को वर्ष काम सकिनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू आशावादी छन्।
मन्त्रालयका सहसचिव तथा आयोजना निर्देशनालय (एडिबी) का आयोजना प्रमुख चुडाराज ढकालका अनुसार हाल उक्त सडक खण्डमा ७४ प्रतिशत काम सकिएको छ । यस खण्डको सबैभन्दा अप्ठ्यारो मोड दाउन्ने खण्डमा छ भने ५० प्रतिशतको हाराहारीमा मात्र काम सकिएको छ।
सडक विभागले गत साउनमा ठेकेदार कम्पनीसँग चाथौ पटक म्याद थप गरी उक्त सडकको पश्चिम खण्डको अन्तिम म्याद २०८३ साउन ५ गते र पूर्वी खण्डको अन्तिम म्याद साउन ७ गतेसम्म दिएको छ। अब थपिएको म्यादभित्र काम पूरा हुनेमा आफू विश्वस्त भएको ढकालले बताए। ‘अब हामीले दिएको म्याद अन्तिम हो। यो म्यादभित्र काम सक्नैपर्छ। यसमा विश्वस्त छौं’, उनले भने, ‘सामान्यत ७० प्रतिशत काम पूरा गरिसकेपछि ठेकेदार कम्पनीपछि हट्दैनन्। बुटवल–नारायणघाट खण्डको काम पनि ७० प्रतिशत पूरा भइसकेको छ। त्यसैले अब थपिएको म्यादभित्र काम पूरा हुनेछ भन्नेमा हामी विश्वस्त छौं।’
बुटवल–नारायणघाट खण्ड दुई खण्डमा बाँडिएको छ। पूर्वी खण्डको म्याद गत साउन ६ गते र पश्चिम खण्डको म्याद गत साउन ८ गते सकिएको थियो।
मन्त्रालयले गत साउनको पहिलो साता ठेकेदार कम्पनीसँग एक वर्ष म्याद थप गरेको थियो। उक्त खण्डमा विशेष गरी दाउन्ने खण्डमा यात्रा गर्ने यात्रुले अझै कम्तीमा एक वर्ष सास्ती भोग्नुपर्ने निश्चित छ। बुटवल–नारायणघाट सडक खण्डमध्ये दाउन्ने खण्ड सबैभन्दा अस्तव्यस्त खण्ड हो। यस खण्डको दूरी १४ किमि मात्र छ तर यो खण्ड छिचोल्न सवारी साधनलाई १ देखि २ घण्टासम्म लाग्ने गर्छ। दाउन्ने सडकलाई दुई खण्डमा बाँडिएको छ।
नारायणघाट–बुटवल सडकको पूर्वी खण्डले चार किमि र बाँकी १० किमि पश्चिम खण्डले हेर्ने गरेको छ। ठेकेदार कम्पनीले थप दायित्व, थप रकम दाबी नगर्ने शर्तमा म्याद थप गरिएको मन्त्रालय स्रोतको भनाइ छ।
मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘काम भइरहेको बेला ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार कम्पनी छनोट गर्ने हो भने त्यो काममा झन् ठूलो समस्या आउने र प्रक्रिया पूरा गर्नै धेरै समय लाग्छ। त्यसैले म्याद थप गर्ने बाध्यतामा पुगेका हौं।’
मन्त्रालय स्रोतका अनुसार ठेकेदार कम्पनीले कोभिड १९ का कारण तीन वर्ष काम हुन नसकेको आधार पेश गरेको छ। ‘ठेकेदार कम्पनीसँग सम्झौता रद्द ग¥यौं भने उसले तीन वर्षको दाबी गर्दै क्षतिपूर्ति माग्न सक्छ। त्यसैले समस्या झन् बल्झन सक्छ’, ती कर्मचारी भन्छन्। उक्त सडकको स्तरोन्नति गर्न १७ अर्ब दुई करोड रूपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग पहिलो पटक २०१८ डिसेम्बर १९ मा सम्झौता भएको थियो। तेस्रो पटक थपिएको म्याद अनुसार २०२५ जुलाई २३ भित्र सबै काम सकिनुपर्ने थियो। त्यस समयभित्र काम नसकिएपछि चौथौ पटक म्याद थप गरिएको हो।
११३ किलोमिटर लामो यो सडक खण्डलाई दुई भागमा वर्गीकरण गरी स्तरोन्नतिको काम थालिएको हो। पूर्वी खण्ड ६४.४२५ र पश्चिम खण्ड ४८.५३५ किलोमिटरको छ। सडक विभागअन्तर्गत एसियाली विकास बैंक (एडिबी) निर्देशनालयबाट यो आयोजना सञ्चालन भइरहेको छ। यो आयोजनालाई एडिबीले सहयोग गरेको छ।
सडक विभागका एक उच्च कर्मचारी भन्छन्, ‘यो आयोजना अलपत्र हुनुमा ठेकेदार कम्पनीको ढिलासुस्ती त छ नै त्यसमाथि विभागको पनि कमीकमजोरी पनि छ। समयमा ‘साइट क्लियर’ नहुनु र रुख कटान गर्न कम्पनीले ठूलो झन्झट बेहोर्नुप¥यो। बिजुलीका पोल सार्ने काममा समेत ढिलो गरियो। योभन्दा पनि ठुलो सास्ती ठेकेदार कम्पनीले निर्माण सामग्री बेलैमा पाउन नसक्नु पनि हो। स्थानीय तहले निर्माण सामग्री निकाल्न नदिँदा कम्पनीले कठिनाइ भोग्नुप¥यो। यसका लागि विभागले ठेकेदार र स्थानीय तहसँग सहजीकरण गर्नुपथ्र्यो तर गरेन।’
अब राति पनि काम
नारायणघाट–बुटवल खण्डको गैंडाकोटमा अहिले रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ। नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र हुन बाँकी भएकाले अहिले कालापत्रे गर्ने काम भइरहेको छ।
नारायणघाट–बुटवल सडक आयोजना पूर्वी खण्डका अनुसार यतिबेला हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम हुने गर्छ। राति सवारी साधनको न्यून चाप हुनाले सहज रूपमा रातीमा सडक विस्तार भइरहेको हो। ‘यस सडकमा दिउँसो काम गर्दा सवारी साधनको लामो जाम हुने भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको हो’ एक अधिकारीले भने।
गैंडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ। सडक विस्तारका क्रममा यस खण्डको १०० किमि चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ। भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने भएको छ। विभागका अनुसार सडक विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ।
प्रकाशित: १ मंसिर २०८२ ११:३९ सोमबार





