१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र निशानामा परेपछि व्यावसायी चिन्तित

आधा दर्जन ठुला होटलमा क्षति

मंगलबार तोडफोड र आगजनी खेपेको लेकसाइडस्थित मन्त्र थकाली। तस्बिरः सन्तोष/नागरिक

पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रले धक्का खेप्नुपरेको छ। जेनजी आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमा क्षति पुगेको तथा घुम्न आएका पर्यटकको आउजाउ प्रभावित भएको व्यावसायीले बताएका छन्।  

व्यवासायीका अनुसार जेनजीको आन्दोलनको क्रममा पर्यटकीय क्षेत्र लेकसाइडका ठुला आकारका होटलमा आगजनी र तोडफोड भएको छ। पर्यटन क्षेत्रले अहिलेसम्म यस्तो क्षतिबारे आँकलन समेत नगरेको अवस्थामा अहिले ठूलो नोक्सानी खेप्नुपरेको व्यावसायीले बताएका छन।

पर्यटकीय सिजनको मुखैमा आएको यो अवस्थाले अबका केहीदिनमा नेपाल आउने तयारीमा रहेका पर्यटकले यात्रा रोक्ने अवस्था आएको उनीहरुले बताए। आएका पर्यटक पनि बसाई अवधि छोट्याएर फर्किन थालेको उनीहरुको भनाई छ।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार आन्दोलनमा उत्रेका जेनजीहरुले मंगलबार लेकसाइडका आधादर्जन ठुला होटलमा आगजनी र तोडफोड गरेका छन। आगजनीबाट होटलका सम्पूर्ण संरचना क्षतविक्षत भएका छन। प्रदर्शनकारीले मंगलबार लेकसाइडको वरपीपल रिसोर्ट, मन्त्र थकाली, होटल आडम, सरोवर होटल, बगैंचा रिसोर्ट, गुडविल होटल र अंशुभरा समूहको भवनमा आगजनी र तोडफोड गरेका थिए।  

गण्डकी प्रदेशका मन्त्री समेत रहेका व्यावसायी बिन्दुकुमार थापाले अंशुभरा समूह अन्तर्गत लेकसाइडमा पूर्वाधार बनाएका थिए। आन्दोलनकारीले तिनै पूर्वाधारलाई निशाना बनाएका थिए। अंशुभराका मुख्य भवनमा अरु व्यावसायीले पनि भाडामा लिएर व्यावसाय गरेका थिए। ती पनि त्यही निशानामा परेका थिए। मन्त्र थकाली पनि अंशुभरा समूहकै भवनमा संचालित थियो।  

‘हामीले यस्तो अवस्था आउला भनेर कहिल्यै सोचेका पनि थिएनौ। अहिलेसम्म यस्तो अप्ठेरो कहिल्यै खेप्नुपरेको पनि थिएन,’ सुवेदीले भने, ‘दशवर्षे युद्ध, दोश्रो जनआन्दोलनमा पनि पर्यटन क्षेत्रले निशाना बन्नुपरेको थिएन। तर, यो पटक सोच्दै नसोचेको क्षति र घटना हामीले बेहोर्नुपरेको छ।’ 

आन्दोलनकारीले एकाएक आक्रमण र आगजनी गरेपछि जोगाउनेबारे सोच्न समेत नसकेको उनले बताए। ‘पर्यटकीय क्षेत्र संवेदनशील भएकोले निशाना बन्नु नपर्ने अनुमान थियो। तर, हाम्रो अनुमान गलत सावित भयो,’ उनले भने।  

उनका अनुसार आक्रमण सुुरु हुँदै गर्दा कतिपय होटलमा विदेशी र आन्तरिक पाहुना बसिरहेका थिए। उनीहरुलाई बाहिर निकालेर आक्रमण गरिएको उनले बताए। यतिसम्मको घटना होला भन्ने नसोचेको पनि उनले बताए । उनका अनुसार क्षतिको मुल्यांकन समेत अझै हुन सकेको छैन। मंगलबार लागेको आगो बुधबार बिहानसम्म पनि निभेको थिएन।  

राजनीतिक अवस्था परिवर्तन भएकोले अब नयाँ शैलीमा पर्यटन क्षेत्रले गति लिनेगरि अघि बढाउनुपर्ने अवस्था आएको पनि उनले बताए। उनका अनुसार यो बेला पर्यटकीय सिजन सुरु हुनै लागेकोले पोखराका होटलमा खासै धेरै पाहुना थिएनन। अध्यक्ष सुवेदीका अनुसार पोखराका होटलको अकुपेन्सी यतिबेला बढीमा १५ प्रतिशत मात्र रहेको छ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष गोपि भट्टराईका अनुसार सेप्टेम्बर मध्यदेखि पर्यटकीय सिजन सुरु हुने भएपछि विदेशी पाहुनाले महिनौ अघि होटल बुकिङ समेत गरेका थिए। उनका अनुसार यूरोपियन पर्यटकले ६ महिना अघि नै योजना बनाउने गर्छन। ‘पाहुनाको आगमनको बेला भर्खर सुरु हुँदैछ। तर, अब पर्यटकको आगमन खल्बलिने अवस्था आएको छ,’ उनले भने, ‘अब नयाँ ढंगले पर्यटन क्षेत्रलाई अघि लैजानुको विकल्प छैन।’ व्यावसायीका अनुसार पर्यटन क्षेत्रमा क्षति भएपनि बुधबार दिउँसो सबैजसो होटल र रेस्टुरेन्टले पाहुनालाई सेवा भने दिएका छन।  

पाहुनालाई खान र बस्नका लागि कुनै समस्या नरहेको पनि उनले बताए। ‘अब आन्तरिक र बाह्य पर्यटक आउने माहोल बनाउनुपर्छ। दसैं र तिहार पनि नजिकिएकोले आन्तरिक पाहुनाको पनि घुमघामको समय सुरु भएको छ,’ भट्टराइले भने, ‘भूकम्प र नाकाबन्दीका बेला हामी एकैठाउँ उभिएका थियौ। अहिले फेरि सबै व्यवासायी एकैठाउँ उभिएर अघि बढ्नुको विकल्प छैन।’  

परिवर्तित राजनीतिक अवस्थामा निकास छिटो निस्किनुपर्ने उनले बताए। ‘मंगलबार घटना भएपनि बुधबार बिहानैदेखि पर्यटक हिडडुल गर्न थालेका छन। आएका पाहुनालाई खान र बस्न समस्या छैन। पर्यटकीय गन्तव्य सुरक्षित छन,’ उनले भने, ‘समस्यामा परेका पर्यटकलाई पनि सुरक्षित तवरले काठमाडौं पठाइएको छ।’  

परिषद्का अध्यक्ष तारानाथ पहारी पनि पर्यटन क्षेत्रले ठूलो क्षति भोगेको बताउँछन। उनका अनुसार पर्यटन क्षेत्रमा मुख्य सिजन सुरु हुने बेला भएकोले अहिलेको घटनाक्रमले पर्यटन क्षेत्रलाई असर पार्ने पक्का छ। ‘क्षति पनि ठुलै भएको छ। पर्यटन क्षेत्रको सुरुवाती सिजनलाई यसले असर पार्ने पक्का छ,’ पहारीले भने, ‘आन्तरिक पाहुना पनि आउन थालेका थिए। विदेशी पनि आउजाउ बढ्न थालेको छ। सेप्टेम्बर मध्यदेखि अलिअलि सुरु हुने हो। मुखमा परेको सिजनलाई अहिलेको अवस्थाले अप्ठेरो पारेको छ।’  

एरिया रक्षक टोली

जेनजी आन्दोलनको मारमा पर्यटन क्षेत्र परेपछि लेकसाइडका पर्यटन व्यावसायीले एरिया रक्षक टोली गठन गरेका छन्। पोखरा पर्यटन परिषद्को अगुवाइमा विभिन्न समूह बनाएर टोली गठन गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।  

‘एकएक फरक समूहको निशानामा पर्यटन क्षेत्र परेपछि हामीलाई समस्या पर्यो । यतिसम्म अप्ठेरो पर्यो की अप्ठेरोमा परेको सूचना आदानप्रदान गर्न समेत सकस भयो,’ उनले भने, ‘एरिया रक्षक टोलीले आवश्यक परेको बेला सूचना आदानप्रदान गर्नेछ भने अप्ठेरो परेका पाहुना, व्यावसायी र कार्यरत कर्मचारीलाई पनि सहजीकरण गर्नेछौं।’ कसैले टोलमा अराजक गतिविधि गरेको थाहा भएमा व्यावसायी एकजुट हुने र त्यो जानकारी सूरक्षा निकायलाई दिलाउन पनि यसले सहजीकरण गर्ने उनले बताए।

प्रकाशित: २५ भाद्र २०८२ १७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App