१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १९:३४ अपराह्न
अर्थ

बुबाको व्यवसाय सम्हाल्दै दाजुभाइ: मह र घारबाट वार्षिक ६५ लाख बढीको कारोबार

बागलुङ नगरपालिका—१२ अमलाचौरका जगत केसी मौरी स्याहार्दै । तस्विरः संगम/नागरिक

बागलुङ नगरपालिका—१२ बलेवा अमलाचौरका जगत केसी र जनक केसी अहिले मौरीको घार बनाउन र मौरी स्याहार्न व्यस्त छन् । उनीहरु आफ्नै बाबुको पदचाप पछ्याउँदै यो पेसामा लागेका हुन् । २०४५ सालतिर कतैबाट भागेर आएको एक घार मौरी वनबाट उनका बुबा दिल बहादुर खत्रीले छोपेर ल्याए । काठको फल्याक ठोकेर घार जस्तो बनाइदिए । सामान्य रुपमा गाउँ घरमै बनाइएको मुडे घारमा मौरी पालन सुरु भयो । २०५६ सालमा आइपुग्दा १०÷१२ घार मौरी भयो । उनले बलेवामौरी पालन उद्योग भनेर फर्म दर्ता गराए ।

फर्म दर्ता भएपनि उनले व्यवसायिक रुपमा मौरी पालन गर्ने काम सुरु भएको थिएन । २०६१ सालमा जिल्ला कृषि विकास कार्यालयले मौरी पालक किसानका लागि तालिम सञ्चालन ग¥यो । खत्री पनि त्यो तालिममा सहभागी भए । त्यसपछि बल्ल उनले मौरी पालनलाई व्यवसायिक रुपमा दिए।  ‘घरमा मह निकालेर खान हुन्छ भनेर २०४५ सालमा वनमा भेटिएको मौरी उठाएर ल्याएको हुँ, मुढाको घार जस्तो बनाएर फल्याक ठोकेर राखेको थिएँ,’उनले भने, ‘२०६१ सालमा मलाई पनि बोलाएर तालिम दिएपछि बल्ल मैले पनि मौरी पनि व्यवसायिक रुपमा बनाउने सीप सिके । त्यसपछि उद्योगलाई विकास र विस्तार गर्दै गएँ ।’

उनले त्यो बेला दर्ता गरेको फर्मले अहिले साँच्चिकै उद्योगको रूप लिएको छ । उनी आफैले सिकर्मी काम गर्ने भएकाले आफूलाई आवश्यक पर्ने मौरीका घारहरू आफै बनाउँथे । अहिले उनको घार बनाउने कामले पनि उद्योगको रूप लिएको छ । ‘पहिले पहिले आफूलाई चाहिने मात्रै बनाउँथे, पछि घारको माग आउने थालेपछि अरुलाई पनि बेच्नथालें,’उनी भन्छन्,‘अहिले मौरीको मह भन्दा घर बढी बेच्ने गरेको छु ।’

उनले मौरी पालनदेखि घार बनाउने कामलाई पनि व्यवसायिक रूप दिएपछि अहिले उनका दुई छोराहरू पनि उनको पदचाप पछ्याउँदै यही पेसामा संलग्न भएका छन् । खत्रीका चार भाइ छोराहरू मध्ये जीवन र दिनेश अहिले वैदेशिक रोजगारीमा छन् ।

जेठो जगत केसी र साइँलो जनक केसीले बाबुले गरेको पेसालाई थप विस्तार गर्ने काममा लागेका छन् । बाबुले गरेको पेसाबाट मनग्य आम्दानी गर्न सकिएको जगत केसी बताउँछन् ।

‘पहिले बुबाले सञ्चालन गरेको फर्मबाट नै राम्रो हुँदै गयो,’उनले भने,‘अहिले बुबाकै कामलाई हामी दुई दाजुभाइ पनि साथ दिएका छौँ । जे होस् अहिलेसम्म राम्रो छ ।’ मौरीको मह उत्पादन गरेर विक्री गर्ने, मौरी सहितको घर बिक्री गर्ने र खाली घार बिक्री गर्ने काम अहिले उनीहरुले गर्दै आएका छन् । पछिल्लो समय महबाट भन्दा मौरी सहितको घारबाट ज्यादा कमाई हुन थालेको छ ।

‘बागलुङ जिल्लाभरिका विभिन्न ठाउँबाट मौरी सहितको घारको माग हुन्छ,’उनले भने,‘अहिले त महबाट भन्दा घार सहितको मौरीबाट कमाई राम्रो हुन्छ ।’ उनीहरुले चार ठाउँमा गरेर अहिले ३२० घार मौरी पालेका छन् । त्यसबाट मह उत्पादनसँगै घारबाट रानीमौरी सहित रानो छुट्टाएर घारमा राखेर विक्री गर्ने गरेका छन् । ‘घार फोरेर नयाँ घारमा राखेर मौरी दिंदा पाँच सरियावाला घारको अहिले जिल्ला दररेट १० हजार पाँच सयको छ, चार सरियावाला घारको ९ हजार जति पर्छ,’उनले भने,‘खाली घारको तीन हजार देखि ३५ सय रुपैयाँसम्म पर्छ ।’

घार उत्पादन गर्दा ग्राहकको माग अनुसार उत्पादन गर्ने गरेको उनी बताउँछन् । ‘सस्तो घार माग्नेलाई उत्तिसको काठ पनि मिसाईएको घार दिन्छौँ, मूल्यमा बार्गेनिङ नगरी राम्रो घार खोज्नेका लागि टुनीको काठबाट बनेको घार उपलब्ध गराउँछौँ । हामीले बनाएको घारको कम्तीमा २० वर्षको आयु हुन्छ ।’ मागअनुसार मासिक पाँच सयदेखि एक हजारसम्म घार उत्पादन गर्ने गरिएको उनले बताए ।

‘हामीसँग अहिले सात जना कामदार हुनुहुन्छ, उहाँहरूले हामीलाई घार बनाउनका लागि गर्नुहुन्छ,’उनी भन्छन्,‘आधुनिक मेसिन राखेका छौँ । महिनामा एक हजारसम्म घार उत्पादन गर्न सकिन्छ । माग भई आएको खण्डमा अझ मजदुर थप गरेर पनि उत्पादन गर्न सकिन्छ ।’

उनीहरुले उत्पादन गर्ने घारको बागलुङमा मात्र नभई देश भरी र देश बाहिरबाट समेत माग हुँदै आएको छ । पर्वत, म्याग्दी, कास्की, तनहुँ, चितवनबाट पनि माग आउँछ,’उनले भने,‘दुई वर्ष अगाडि त भारतको सिक्किमबाट पनि माग भएपछि २२५ वटा घार पठायौँ।’ घार र मह विक्रीबाट उनीहरुले वार्षिक ६० देखि ६५ लाखमाथिको कारोबार गर्छन् । 

त्यसबाट करिब ३० प्रतिशत जति नाफा हुने जगत बताउँछन् । ‘ठ्याक्कै यति नै भन्ने हुँदैन तर वर्षमा ६५लाखमाथिको हामीले कारोबार गर्ने गरेका छौँ,’उनले भने,‘त्यसको ३० प्रतिशत झण्डै १८/१९ लाख नाफा हुन्छ । हामीले त्यसले पनि उद्योगको विकास र विस्तारमा बढी खर्च गर्ने गरेका छौँ ।’

बाबुले गरेको काम देखेर आफुहरु पनि यसैमा लागेको जगतको भनाई छ । राज्यले बजारको ग्यारेन्टी गरिदिने हो भने विदेशबाट घार आयात नहुने गरी उत्पादन गर्न सकिने उनी बताउँछन् । ‘नेपालमा अहिले पनि सस्तो घारहरू आउँछन्, सरकारको अनुदान जति त्यस्तो घारहरूमा गएको छ,’उनले भने,‘हामीले ८० लाख त मेसिनमा नै लगानी गरेका छौँ । अब जनशक्ति थप्ने हो यहाँका लागि पुग्नेगरी घार उत्पादन गर्न सकिन्छ ।’

अहिलेसम्म बागलुङ नगरपालिकाबाट उद्योगको छानो हाल्नका लागि १८ लाख बराबरको कुल लागतमा ५० प्रतिशत अनुदान ९ लाख रुपैयाँ पाएको उनले सुनाए ।

 ‘प्रदेश सरकार वा अरु कुनै निकायबाट सहयोग पाए थप मेसिनहरू थपेर उद्योगलाई अझ विस्तार गर्ने सोच छ,’उनी भन्छन्,‘सीपमुक्त जनशक्ति पाउन पनि कठिन छ । त्यसले पनि केही समस्या पारेको छ ।’ एक सिजनमा एउटा घारबाट चार÷पाँच किलोसम्म मह उत्पादन हुन्छ । सिजन राम्रा परेको बेलामा वर्षमा तीनचार चोटीसम्म मह काढ्न सकिन्छ। ‘सिजन राम्रो परेको बेलावनमा राम्रोसंग फूलफुलेको बेलामा तीन चोटीसम्म मह काढ्न सकिन्छ,’उनले भने,‘राम्रो परेको बेला त एउटै घरबाट ७किलोसम्म मह निकाल्न सकिन्छ ।’

रैथाने सेरेना जातको मौरी पालेका छन् । मौरीका लागि चरण क्षेत्रको अभाव नहोस् भनेर भैरवस्थान नजिकै पाखोमा, घर वरिपरि तथा राउले र जलजला भन्ने ठाउँमा मौरीको घार राखिएको छ । यो वर्ष मौरी सहितको घार बढी विक्री भएकाले मह उत्पादन कम भएको उनी बताउँछन् । ‘यसपालि घार सहितको मौरी बढी बेचियो, मह त्यस्तै १२  सय किलो जति उत्पादन भयो होला,’उनले भने । मौसम र समय हेरेर एक किलो महको मूल्य १२ सय देखि १५ सय रुपैयाँसम्म पर्छ । 

प्रकाशित: १२ श्रावण २०८२ १८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App