१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:६ अपराह्न
अर्थ

अपर काबेलीको सुरुङमार्गमा ‘ब्रेक थ्रू’

ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पर्ने काबेली नदीमा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको इन्टेक देखि अडिटसम्मको सुरुङमार्गमा ब्रेक थ्रू भएको छ । १ हजार ७ सय ७२ मिटर लामो सुरुङमार्गको ब्रेक थु भएसँगै आयोजनाले सम्पन्नताको नजिक स्थान बनाएको छ ।

२८ दशमलव १ मेगावाट क्षमताको जलविद्युत आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले इन्टेकदेखि हप्प खोलासम्म आइपुग्ने १ हजार ७ सय ७२ मिटर लामो सुरुङमार्ग अपेक्षा अवधिभित्रै पूरा भएको बताए । इन्टेकदेखि अडिटसम्मको सुरुङमार्गमा ब्रेक थु भएपछि जलविद्युत आयोजनाका निर्देशक श्याम मैनाली र मुख्य प्रवर्द्धक डा. मदन उप्रेती सहितको उपस्थितिमा सुरुङमार्ग निर्माणमा खटिएका जनशक्तिले खुसी बाँडेका छन् । आयोजनाको हेड वर्क सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा र विद्युत् गृह सिनाममा हुनेछ ।

विद्युत् आयोजनाका लागि खोयाहाङ देखि सिनाम सम्म गरी ५ किलोमिटर दुरीको सुरुङ मार्ग हुने भएको छ । पिस इनर्जी कम्पनी प्रालि आयोजनाको मुख्य प्रवर्द्धक रहेको छ । पिस इनर्जी अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी हो । सिरिजङ्गा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बू दिन र मेहेले आयोजनाको मुख्य प्राविधिक क्षेत्र हुन् ।

आयोजनाका लागि कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। कूल लागत अनुमानमध्ये ७५ प्रतिशत हिस्सा नेपाली बैङ्कहरूको ऋण लगानी रहने छ भने २५ प्रतिशत हिस्सा प्रवर्द्धकको स्वपुँजी रहने भएको छ । माछापुच्छ्रे बैंकको अगुवाइमा बैकहरूले ऋण लगानी गर्ने भएका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल),राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंक ऋण लगानीका साझेदार वित्तीय निकाय हुने प्रवर्द्धक कम्पनीले जनाएको छ । 

प्रकाशित: ५ श्रावण २०८२ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App