उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कट्वाल भण्डारी निर्वाचित भएकी छन्। आइतबार राति सकिएको मतगणनामा भण्डारीले ७५८ मत प्राप्त गरि विजयी भएकी हुन्। योसँगै उद्योग वाणिज्य संघ इटहरीमा तीन वर्षे कार्यकालका लागि अध्यक्ष हुने पहिलो महिला नेतृत्व पाएको छ।
भण्डारीका प्रतिस्पर्धी नवराज काफ्लेले ७४३ मत प्राप्त गरे। भण्डारीले काफ्लेलाई १५ मतान्तरले जितेकी हुन्। उनी उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष हुन्।
शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति आएको हो। मत परिणम अनुसार वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित भए। त्यसपछि सञ्जीव खड्का (९८४), बलराम बस्नेत (९६०), सिनेट रिजाल (९५९), सञ्जय शाह (९५७), बलबहादुर न्यौपाने (९४३), सन्नी चौधरी (९१५), दिनेशप्रसाद धमला (९०८) र महेश थापा (८८३) मत प्राप्त गर्दै विजयी बने। वाणिज्यतर्फ विजयी हुने सवै जना काफ्ले समूहका हुन्। महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन्। ढकालले ९५६ मत प्राप्त गर्दा भट्टराईले ६८१ मत प्राप्त गरिन्।
उद्योग सदस्यतर्फ अभिषेक बस्नेत (१४४), शिवप्रसाद भट्टराई ‘भूपाल’ (१३४), हरिप्रसाद तिम्सिना (१२१) र किसनकुमार खेडिया (१०१) निर्वाचित भए। निर्वाचनमा यसअघि नै एशोसिएटतर्फ बिनोद पौडेल र वस्तुगततर्फ सन्जोग पराजुली निर्विरोध निर्वाचित भएका थिए।
कुल मतदाता दुई हजार ३१९ मध्ये एक हजार ५४३ मत मात्र खसेको थियो। निर्वाचनमा दुईवटा प्यानल बनाएर उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो।
प्रकाशित: २९ असार २०८३ ०६:३२ सोमबार



-600x400.jpg)

