११ आश्विन २०८३ आइतबार
image/svg+xml
अर्थ

‘ब्युटी’ अब सौन्दर्य मात्र होइन, नेतृत्व विकास र आर्थिक विकासको पनि आधार बन्नुपर्छ : अध्यक्ष ज्ञवाली

नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीले २१औँ शताब्दीको ‘ब्युटी’ उद्योगलाई सौन्दर्यमा मात्र सीमित नराखी नेतृत्व विकास, रोजगारी, महिला उद्यमशीलता र आर्थिक विकाससँग जोड्नुपर्ने बताएकी छन्।

शनिबार ‘फेस अफ आईसीटी आइकन २०२६’ कार्यक्रममा बोल्दै उनले ब्युटी पार्लरलाई केवल सौन्दर्य सेवा दिने ठाउँका रूपमा नभई सीप विकास, रोजगारी, नेतृत्व विकास र महिला आर्थिक सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी हुन्।

अध्यक्ष ज्ञवालीले महिलालाई ब्युटीसम्बन्धी सीपसँगै व्यवसाय व्यवस्थापन, डिजिटल प्रविधि, वित्तीय साक्षरता, ग्राहक सेवा, स्वास्थ्य तथा सरसफाइ र बजारसम्बन्धी ज्ञान दिनुपर्ने बताइन्।

‘एउटी महिलाले ब्युटीको सीप सिक्छिन्। सीपबाट रोजगारी पाउँछिन्। रोजगारीबाट आम्दानी हुन्छ। आम्दानीबाट परिवारको जीवनस्तर सुधारिन्छ। त्यसपछि उनी आफैँ उद्यमी बन्छिन् र अरूलाई रोजगारी दिन्छिन्,’ उनले भनिन्।

ज्ञवालीले सौन्दर्य क्षेत्रले व्यक्तिलाई मात्र सुन्दर बनाउने नभई परिवार, समाज र राष्ट्रको आर्थिक विकासमा समेत योगदान गर्नुपर्ने बताइन्। ‘सुन्दर देखिनु राम्रो हो, तर सुन्दर भविष्य निर्माण गर्नु अझ ठूलो कुरा हो,’ उनले भनिन्।

ज्ञवालीका अनुसार महिलाको सशक्तीकरण र उद्यमशीलतालाई प्रोत्साहन गर्न सके मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्छ। आफ्नै सीप र क्षमतामार्फत अघि बढिरहेका युवालाई हौसला प्रदान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।

उक्त कार्यक्रममा सौन्दर्य क्षेत्र बाहिरी रूपरंगमा मात्र सीमित नभई आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक सहभागितासँग समेत जोडिएको बताइएको थियो। आफूलाई आत्मविश्वासी महसुस गर्दा कार्यक्षमता, सामाजिक व्यवहार तथा नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पर्ने सहभागीहरूले बताएका थिए।

पछिल्लो समय नेपालमा ब्युटी पार्लर तथा सौन्दर्य व्यवसायमार्फत ठूलो संख्यामा महिला उद्यमीका रूपमा स्थापित भइरहेका छन्। आफ्नै व्यवसाय सञ्चालन गर्नुका साथै उनीहरूले अन्य महिलालाई समेत रोजगारी दिँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन भूमिका खेलिरहेका छन्।

सौन्दर्य क्षेत्रले नेपालमै रोजगारीका अवसर सिर्जना गर्दै वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्नसमेत योगदान पुर्‍याइरहेको कार्यक्रममा चर्चा गरिएको थियो। यस क्षेत्रमा महिलासँगै पुरुषको समेत उल्लेख्य सहभागिता रहेको छ।

प्रकाशित: ११ आश्विन २०८३ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App